कोसी उच्चबाँध परियोजना – अवरोध नगर्ने स्थानीयको संकेतपछि पुनः अध्ययन थालिने

    795

    काठमाडौं, १८ असोज – स्थानीयको अवरोध नहुने संकेत पाएपछि सप्तकोसी–सुनकोसी अन्वेषण संयुक्त आयोजना कार्यालयले सप्तकोसी उच्चबाँध तथा सुनकोसी–कमला डाइभर्सन बहुद्देश्यीय परियोजना अध्ययन पुनः थाल्ने भएको छ ।
    Koshi Barrageसरकार , स्थानीय राजनीतिक दलका प्रतिनिधि र आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाबीच बिहीबार विराटनगरमा भएको सर्वेपक्षीय छलफलमा सहभागीले परियोजनाको अध्ययन गर्न दिन सकरात्मक संकेत दिएपछि आयोजनाको अध्ययन अघि बढाउने निष्कर्षमा सरकार पुगेको हो ।
    परियोजनाको अध्ययन सुचारु गर्ने विषयमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू सकरात्मक भएको ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइरालाले बताए । “स्थानीय राजनीतिक दल र सरोकार समाजका प्रतिनिधिलाई आयोजनाको बारेमा राम्रोसँग बुझाउन नसक्दा अवरोध भएको रहेछ,” उनले भने “सबैको सहमतिमा संयुक्त कार्यालयले अब छिट्टै अध्ययन थाल्नेछ ।”
    अयोजना प्रभावित स्थानीय बासिन्दा तथा राजनीतिक दलका प्रतिनिधिले आफूहरू परियोजनाविरोधी नभएको स्पष्ट पार्दै उचित क्षतिपूर्ति र पुनर्बासको राम्रो व्यवस्था भए अध्ययन अघि बढाउन मार्गप्रशस्त गर्ने संकेत दिएको विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर दिनेश घिमिरेले बताए । उनले छलफल सकरात्मक भएको बताए ।
    सरोकार समितिबाट परियोजना अध्ययनमा पटपटक अवरोध आएपछि २०१३ फेब्रुअरीसम्ममा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेगरी दुई वर्षअघि चौथो पटक म्याद थप भएको थियो  । थपिएको समय सकिन अब पाँच महिनामात्र बाँकी छ ।
    अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) अभिसन्धि धारा १६९ अनुसार जल, जंगल र जमिनमा आदिवासी जनजातिको अग्राधिकार कायम गरी स्रोत बाँडफाँडमा स्थानीयका अधिकार स्पष्ट नभएसम्म काम हुन नदिने अडानसहित समितिले अध्ययन अवरुद्ध गर्दे आएका छन् । अवरोधले गर्दा अध्ययनका लागि आयोजना स्थलमा ड्रिलिङसमेत सुरु हुन सकेको छैन ।
    स्थानीय स्तरमा अवरोध नहुने आशामा दुई वर्ष समय थप हुनुका साथै भारतले परियोजनाको डीपीआर तयार गर्न थप ७४ करोड रुपैयाँ अनुदान दिने सहमति जनाएको थियो । सन् २०१० जुन ३० मा यसको म्याद सकिएपछि परियोजनाको काम रोकिएको थियो । पछि दुई वर्ष थप गरी अध्ययन अघि बढाउन दुई देशबीच सहमति भएको हो ।
    प्रारम्भिक अध्ययनहरूले विद्युत्, सिँचाइ, बाढी नियन्त्रण र जलपरिवहनजस्ता बहुद्देश्यीय लाभ देखाएपछि दुवै देशले संयुक्त रूपमा कोसी उच्चबाँध तथा सुनकोसी–कमला डाइभर्सनको अध्ययन अघि बढाएका हुन् । सहमतिअनुसार सन् २००६ मा परियोजनाको डीपीआर तयार हुनुपर्नेमा पुनः २००८ का लागि समय थप गरिएको थियो । सो समयमा पनि काम हुन नसकेपछि दुवै मुलुकले सन् २०१० जुन ३० तारिखसम्मकोे अन्तिम समय निर्धारण गरेका थिए ।
    पहिलो पटक १९८१ मा भारतको केन्द्रीय जल आयोगले कोसी उच्चबाँधको सम्भाव्यता अध्ययन गरेको थियो । त्यसैगरी १९८५ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले पनि कोसी जलाधार क्षेत्रको अध्ययन गरी कोसी उच्चबाँध तथा सुनकोसी कमला डाइभर्सन परियोजना आर्थिक एवं प्राविधिक रूपमा उपयुक्त भएको जनाउँदै अघि बढाउन सुझाएको थियो ।
    भारतीय केन्द्रीय जलआयोगको प्रारम्भिक अध्ययनअनुसार कोसी उच्चबाँध परियोजनाबाट ३ हजार तथा प्रस्तावित तीन नहरबाट थप ३ सय गरी कुल ३ हजार ३ सय मेगावाट विद्युत् उत्पादन हुनेछ । यो परियोजना निर्माण भए नेपालमा साढे ५ लाख हेक्टर तथा भारतमा ९ लाख ७६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने प्रारम्भिक अध्ययनहरूले देखाएका छन् ।
    त्यस्तै, जाइकाको प्रारम्भिक अध्ययनले पनि सुनकोसी डाइभर्सन बाँध निर्माण गरी सिँचाइका लागि साढे १६ किलोमिटर लामो डाइभर्सन सुरुङबाट कमला नदीमा पानी खसालेर ६१ मेगावाट विद्युत् उत्पादन हुने देखाएको छ । धनुषाको तल्लोगोदार गाविसमा निर्माण हुने बाँधबाट ३२ मेगावाट बिजुलीका साथै नेपालतर्फ १ लाख ७५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने देखिएको छ ।

    प्रस्तुति: कारोबार

     

    Some project features 
    Irrigation facilities
    Flood control system
    3,000 MW power generation
    269-metre waterway
    883-ft high concrete or rock-filled dam