ऊर्जा उदाउँदो रोजगारी

    575

    urja_jobपुर्वाञ्चल क्याम्पस धरानबाट सिभिल इञ्जिनीयर गरेका राजीव पोखरेलले अध्ययन सकिनासाथ हाइड्रोपावर डिजाइन कन्सल्टेन्सीमा रोजगारी प्राप्त गरे । जलविद्युत्सम्बन्धी परामर्श तथा डिजाइन सेवा दिने उक्त कम्पनीकै सिफारिशमा उनले जिरी हाइड्रोपावरमा पनि अवसर प्राप्त गरे । उक्त कम्पनीमा प्राप्त गरेको अनुभवले उनलाई राष्ट्रिय प्राथमिकतामा परेका अपर तामाकोशीमा रोजगारी दिलाएको छ । जिरी हाइड्रोपावरमा करीब १५ महीना काम गरेपछि तामाकोशीमा रोजगारी पाउन धेरै सजिलो भएको पोखरेलको अनुभव छ । ‘नेपालमा जलविद्युत्सम्बन्धी कम्पनीमा रोजगारीका अवसर प्रशस्त रहेकाले अध्ययन सकिनासाथ रोजगारी पाइन्छ,’ उनी भन्छन्, ‘तुलनात्मक रूपमा यो क्षेत्रमा अन्य स्थानभन्दा कमाइ पनि राम्रै छ ।’ दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको जलविद्युत्मा मात्र अहिले १ सयभन्दा बढी इञ्जिनीयरले रोजगारी प्राप्त गरेका छन् । त्यस्तै प्राविधिक तथा अन्य कर्मचारीहरूको सङ्ख्या जोड्दा रोजगारी पाउनेको सङ्ख्या करीब २ हजार पुग्ने उनको भनाइ छ ।

    नेपालमा केही वर्षभित्रमा ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण हुने तयारीमा छन् । ती आयोजनाहरू कार्यान्वयनमा लैजान सकिएको अवस्थामा १ लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाउने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्य बताउँछन् । सामान्यतया २ देखि ४ मेगावाटको विद्युत् आयोजनामा करीब ६० जनाले रोजगारी प्राप्त गर्न सक्छन् । ग्रामीण भेगमा यस्ता आयोजना सम्पन्न हुने कारण स्थानीयहरू नै रोजगारीको पहिलो प्राथमिकतामा पर्छन् । अहिलेको अवस्थामा जलविद्युत्मा प्राविधिकस्तरका कर्मचारीको अत्यधिक माग रहेको सम्बन्धित व्यवसायीहरू बताउँछन् । एसएलसी उत्तीर्णपश्चात् दिइने निश्चित समयको तालीममार्फत यस्ता प्राविधिक उत्पादन हुने गर्छन् । यस्ता प्राविधिकले न्यूनतम पनि १५ हजार रुपैयाँ प्रतिमहीना कमाइ गर्न सक्ने इञ्जिनीयर पोखरेलले बताए ।

    हाल जलविद्युत् क्षेत्रमा प्रत्यक्ष रूपमा १० हजार जनाले रोजगारी पाइरहेको नेपाल उद्योग वाणिज्य महासङ्घ ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान बताउँछन् । ती आयोजनाबाट रोजगारी पाएकामध्ये सबैभन्दा बढी स्थानीयवासी नै रहेका छन् । हाल १ हजार २ सय ५० मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन सबै आयोजना २०७४ सम्ममा सम्पन्न हुने बताइएको छ । जलविद्युत्मा स्थानीयस्तरबाट ५ अर्ब रुपैयाँसम्म लगानी गर्न सकिएको अवस्थामा थप हजारौंले रोजगारी पाउने सम्भावना रहेको नेपाल उद्योग वाणिज्य महासङ्घले बताएको छ । सरकारले १० वर्षमा १० हजार मेगावाट, २० वर्षमा २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । लक्ष्यअनुसार आयोजना निर्माण हुने हो भने रोजगारीका अवसर प्रशस्त सृजना हुन्छ । राजनीतिक स्थिरता कायम हुन सके आयोजना निर्माणमा बाढी नै आउन सक्ने आयोजनाका प्रवद्र्धकहरू बताउँछन् । स्वदेशी तथा विदेशी लगानीकर्तालाई जलविद्युत् क्षेत्रमा आकर्षित गर्न सकिए २० लाखलाई रोजगारी दिन सकिने वैद्य बताँउछन् ।

    सरकारले ५ सय मेगावाटभन्दा कम र १ मेगावाट क्षमताभन्दा बढीका आयोजना ऊर्जा मन्त्रालयमातहतमा राखेर निर्माण गर्छ । १ मेगावाटभन्दा कम क्षमताका आयोजना वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत अघि बढाइएको छ । केन्द्रले करीब २३ मेगावाट क्षमताका लघुजलविद्युत् आयोजना निर्माण गरिसकेको छ भने आगामी ५ वर्षभित्रमा थप २५ मेगावाट क्षमताका लघुजलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । लघुजलविद्युत् आयोजनाले स्थानीयस्तरमा रोजगारीको अवसर सृजना गरेको छ । केन्द्रले आगामी ५ वर्षभित्र १ हजार ३ सय व्यवसायीलाई नवीकरणीय ऊर्जा उपलब्ध गराउने भएको छ । स्थानिय स्तरमा स्थापना हुने लघु,मझौला तथा साना उद्योगले १९ हजारलाई रोजगारी दिने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक प्राडा.गोविन्दराज पोखरेलले बताए ।

    नेपालमा ५ सय मेगावाटभन्दा बढीका जलविद्युत् आयोजना निर्माणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा लगानी बोर्ड स्थापना गरिएको छ । यसले चार ठूला जलविद्युत् आयोजना निर्माणका लागि आयोजना विकास सम्झौता (पीडीए) गर्ने तयारी गरेको छ । पीडीएसँगै आयोजनाबाट करीब ३ हजार मेगावाट विद्युत् उत्पादन भई १० हजारभन्दा बढीले रोजगारी प्राप्त गर्छन् । ठूला आयोजना निर्माणमा दक्ष तथा अर्धदक्ष व्यक्तिले रोजगारी पाउने प्रवद्र्धकहरू बताउँछन् । बोर्डले  ६ सय ५० मेगावाटको तामाकाशी तेस्रो, ९ सय मेगावाटको माथिल्लो कर्णाली, ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी र ९ सय मेगावाटको अरुण तेस्रो आयोजना अगाडि बढाउने तयारी गरेको छ । आयोजना निर्माण भएपछि विद्युत् सङ्कट समाधान हुनुका साथै लाखौं व्यक्तिले रोजगारी पाउने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त बताँउछन् ।

    पछिल्लो समय निजीक्षेत्रबाट मझौला खालका जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेको छ । हालको विद्युत् मूल्यमा केही परिर्माजन गर्न सकिएमा नयाँ आयोजना निर्माण हुने क्रम अझ बढ्न सक्छ । नाफा कम र झञ्झट बढी भएकाले पनि आयोजना निर्माणमा निजीक्षेत्रले सोचेजति लगानी नगरेको आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका कार्यकारी निर्देशक विश्वनाथ कँडेल बताउँछन् । ८ दशमलव ४ मेगावाटको आँखुखोला आयोजनाले पनि विद्युत् उत्पादन गर्दै ५५ जना स्थानीय बासिन्दालाई रोजगारी दिएको छ । सो जलविद्युत् कम्पनीमा १ सय ५५ संस्थापक शेयर सदस्यले लगानी गरेका छन् । स्थानीय बासिन्दालाई थप रू. ६ करोडबराबरको शेयर छुट्ट्याइएको छ । स्थानीय बासिन्दालाई शेयर र रोजगारीमा बढीभन्दा बढी सहभागी बनाएर आयोजना निर्माण गरिएको कम्पनीको दाबी छ ।

    नेपालमा जलविद्युत्को इतिहास

    नेपालले सन् १९११ को मे २३ बाट जलविद्युत् उत्पादनको यात्रा शुरू गरेको थियो । नेपालमा १ सय वर्षमा ७ सय मेगावाट विद्युत् आयोजना निर्माण भएका छन् । सरकारी यात्रालाई २०४७ सालदेखि निजीक्षेत्रले पनि साथ दिँदै आएको छ । हालसम्म निजीक्षेत्रले २ सय ७ मेगावाट विद्युत् उत्पादन गरेको छ । गतवर्ष निजीक्षेत्रले साढे ५ मेगावाट विद्युत् उत्पादन गरेको थियो । यस वर्ष करीब २५ मेगावाट विद्युत् उत्पादन गरिसकेको छ भने यस आर्थिक वर्षको अन्त्यसम्ममा २५ मेगावाट विद्यत् थप प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ । निजीक्षेत्रलाई मुनाफाका लागि सुनिश्चितता प्रदान गर्ने हो भने आयोजना निर्माणमा कमी नआउने एक प्रवद्र्धकले बताए । यसले गर्दा रोजगारीको अवसर पनि प्रशस्त मात्रमा सृजना गर्न सकिने अवस्था छ ।

    सन् १९९८ मा भारतको दार्जिलिङमा बनेको १ सय ३० किलोवाट क्षमताको जलविद्युत् आयोजना नै एशियाको पहिलो आयोजना हो भने नेपालको फर्पिङमा सन् १९११ मा निर्माण गरिएको ५ सय किलोवाट क्षमताको जलविद्युत् आयोजना दोस्रो हो । एक शताब्दीदेखि नै जलविद्युत् आयोजनामा स्थानीय तथा बाह्य मानिसले रोजगारी पाउँदै आएका छन् ।

    Source : Abhiyan