असुरक्षाको कारण देखाउँदै चिनियाँ ठेकेदारले रसुवागढी आयोजनाको काम बन्द गऱ्यो

    50
    असुरक्षाको कारण देखाउँदै चिनियाँ ठेकेदारले निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको काम बन्द गरेको छ ।
    वर्षात्का कारण लगातार पहिरो र ढुंगा खस्ने काम नरोकिएपछि सिभिल ठेकेदार चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेसन (सीडब्ल्यूई)ले सुरक्षाको कारण देखाउँदै साउन २६ देखि काम पूर्ण रूपमा बन्द गरेको हो । दैनिक ४ सय मजदुरले आयोजनाको काम गरिरहेकोमा क्याम्प र आवास गृहमा पहिरो तथा ढुंगा खस्न थालेपछि ठेकेदारले काम गर्ने पत्र दिएको रसुवागढी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए ।
    एकपक्षीय रूपमा ठेकेदारले काम बन्द गरेपछि सुचारु गर्न पत्राचार गरे पनि प्रतिक्रिया नआएपछि फेरि सीडब्ल्यूईको अध्यक्षलाई पत्राचार गरिएको उनले जानकारी दिए । आयोजनास्थलमा पहिरो र ढुंगा खसेकाले जोखिम बढेको उनको भनाइ छ । “ठेकेदारलाई काममा फर्काउन पहल भइरहेको छ,” उनले भने, “छलफल गरेर आयोजनाको काम सुचारुको प्रयास गरिरहेका छौं ।”
    वर्षात् सकिएपछि आयोजनाको कामले गति लिने कोइरालाको भनाइ छ । नाकाबन्दी खुलेपछि आयोजनाको काम तीव्र गतिमा अघि बढेको थियो ।
    भूकम्प र नाकाबन्दीले आयोजनाको काम एक वर्षभन्दा बढी ठप्प भएपछि यसको असर आयोजनामा परेको छ । अर्को वर्ष भदौमा आयोजनाको काम सक्ने लक्ष्य लिइएकोमा सन् २०१९ को मध्यमा मात्र सम्पन्न हुने सम्भावना देखिएको आयोजनाले जनाएको छ । यद्यपि, आयोजनाले म्याद थप भने गरेको छैन ।
    भूकम्प र नाकाबन्दीले समय थप्न र नेपाली रुपैयाँ डलरसँग अवमूल्यन भएपछि आयोजनाको लागत १५ प्रतिशतससम्म बढ्ने सम्भावना रहेको सीईओ कोइरालाले बताए । भूकम्पले भएको क्षतिको पूर्ति बिमाले गर्ने भए पनि नाकाबन्दीको असरको क्षतिपूर्ति आयोजनाले तिर्नुपर्ने उनको भनाइ छ । आयोजना सुरु हँुदा १ डलरबराबर ८० रुपैयाँ रहेकोमा अहिले नेपाली रुपैयाँ अवमूल्यन भएर १०७ पुगिसकेको छ । कोइरालाका अनुसार आयोजनाको काम ३० प्रतिशत सम्पन्न भएको छ ।  आयोजनाको कुल लागतको ७० प्रतिशत डलर र ३० प्रतिशतमात्र रुपैयाँमा भुक्तानी हुनेछ ।
    निर्माण अवधिको ब्याज (आईडीसी)बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । यो १ अमेरिकी डलरबराबर ८० रुपैयाँ हुँदाको हो । डलर बलियो भएकाले आयोजनाको लागतमा फरक पर्ने अवस्था छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुनेछ ।
    रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३,  नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीयको १०, कर्मचारी सञ्चय कोषका कर्मचारी, विद्युत् प्राधिकरण कर्मचारी र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत तथा सञ्चयकर्ताको साढे १९ प्रतिशत लगानी छ । प्रवद्र्धकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी सेयर संरचना तयार गरिएको छ ।
    प्रसारणलाइनको अत्तोपत्तो छैन 
    आयोजना निर्धारित समयमा सम्पन्न भएको भए पनि प्रसारणलाइन नबनेका कारण उत्पादन हुने बिजुली खेर जाने अवस्था आउने थियो । आयोजनाको समय डेढ वर्ष थप्ने तयारी भए पनि यो समयमा पनि प्रसारणलाइनको काम सुरु हुने गरी विद्युत् प्राधिकरणले काम अघि बढाएको छैन । विद्युत् गृहदेखि चिलिमे हबसम्म १० किलोमिटर लामो प्रसारणलाइन कम्पनी आफैंले बनाउने भए पनि त्यसपछि त्रिशूली ३ बी हबसम्म जोड्ने प्रसारणलाइन प्राधिकरणले बनाउनुपर्नेछ । हालसम्म प्रसारणलाइनको काम सुरु भएको छैन । चिलिमे हबका लागि जग्गा प्राप्ति हुन सकेको छैन । नयाँ कार्यतालिकामा आयोजना सम्पन्न भए पनि प्रसारणलाइन अभावका कारण फेरि पनि आयोजनाको बिजुली खेर जाने सम्भावना छ ।

    स्रोत : १२ खरी