उत्तरगंगाबाट बिजुली निकाल्न हाइड्रो चीनसँग समझदारी

    1543

    काठमाडौं, कात्तिक ३ – उत्तरगंगा जलविद्युत आयोजना निर्माण गर्न चिलिमे जलविद्युत कम्पनीले हाइड्रो चाइनासँग समझदारी गरेको छ। संंयुक्त अध्ययन र निर्माण गर्न चिलिमे र हाइड्रो चाइनाले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। ‘हामीले यो आयोजनाको लाइसेन्स लिन विद्युत विकास विभागमा निवेदन दिइसकेका छौं,’ चिलिमेका प्रबन्ध सञ्चालक कुलमान घिसिङले भने।

    दुई कम्पनी मिलेर असोज १४ भित्र विस्तृत कार्ययोजना तयार गर्ने सहमति भएको छ। आठ वर्षअघिको अध्ययनअनुसार ३ सय मेगावाट विद्युत उत्पादन गर्ने यो आयोजना जलाशययुक्त हो।
    बाग्लुङमा रहेको उत्तरगंगा नदीमा प्रस्ताव गरिएको यो आयोजनाको लाइसेन्स चिलिमेलाई दिन ऊर्जा मन्त्रालय सकारात्मक छ। भदौ दोस्रो साता एक कार्यक्रममा ऊर्जा मन्त्रालयले चिलिमेलाई उत्तरगंगा निर्माण गर्न औपचारिक रुपमा प्रस्ताव राखेको थियो।
    चिलिमे जलविद्युत कम्पनीलाई आइएसओ प्रमाणपत्र दिन भदौ १८ गते आयोजित कार्यक्रममा सचिव कोइरालाले सार्वजनिक निजी साझेदारी अनुसार उत्तरगंगालाई अघि बढाउन निर्र्देशनसमेत दिएका थिए।
    सरकारले एक वर्षअघि उत्तरगंगासहित चार ठूला जलविद्युत आयोजना छुट्टै विकास समिति बनाएर निर्माण सुरुको तयारी गरेको थियो। बुढीगण्डकी, पश्चिम सेती, नलसिंहगाढ र बुढीगंगालाई विकास समिति बनाएर त्यसमार्फत निर्माण गर्ने प्रस्ताव ऊर्जा मन्त्रालयले गरेको थियो।
    यीमध्ये पश्चिम सेती चीनको थि्र गर्जेजलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। बुढीगण्डकी र नलसिंहगाढलाई विकास समितिमार्फत अघि बढाउने निर्णय मन्त्रिपरिषदले गरिसकेको छ।
    सरकारको बास्केट फन्डमा राखिएको उत्तरगंगाको लाइसेन्स चिलिमेले माग्दै आएको थियो। सन् २००४ को पूर्व सम्भाव्यता अध्ययनअनुसार आयोजना बनाउन ६२ करोड ९७ लाख अमेरिकी डलर लाग्छ।
    ‘अहिले हाइड्रो चाइनासँग प्रारम्भिक सहमति भएको हो, हामीसँग मिलेर काम गर्न उनीहरु तयार छन्,’ घिसिङले भने। विस्तृत अध्ययन गर्न दुई वर्ष लाग्ने र सन् २०१५ बाट निर्माण सुरु गर्ने प्रस्ताव चिलिमेको छ।
    उत्तरगंगा नदीको पानीलाई वर्षायामको पाँच महिना जम्मा गरेर हिउँदका सात महिनासम्म चलाउन सकिने यो आयोजना जलविद्युतका लागि निकै आकर्षक मानिएको छ। ‘उच्च हेड भएको हुँदा पानी थोरै भए पनि वर्षैभरि ३ सय मेगावाट बिजुली निकाल्न सकिन्छ,’ घिसिङले भने।
    स्टोरेज प्रोजेक्टहरुमा ठूलो समस्या हुने स्थानीयको पुनर्स्थापनासमेत यसमा त्यति छैन। ५ सय ५० घरलाई पुनर्स्थापना गरेमा आयोजना बनाउन सकिने विश्लेषण कम्पनीको छ।
    आयोजनाले वार्षिक एक अर्ब ५३ करोड युनिट बिजुली निकाल्ने प्रारम्भिक अध्ययनले देखाएको छ। यो आयोजनालाई चिलिमेले देशभित्रै बैंकिङ संस्था, सर्वसाधारणको सेयर र नपुग रकम विदेशबाट ऋण लिएर बनाउने प्रस्ताव गरेको छ।
    चिलिमेले अहिले नै २ सय ७० मेगावाटका चार आयोजना निर्माण सुरु गरिसकेको छ। रसुवामा थप तीनवटा र सिन्धुपाल्चोकमा एउटा आयोजनाको निर्माण चिलिमेले सुरु गरिसकेको छ।
    नौ वर्षअघि २२ दशमलब १ मेगावाटको चिलिमे आयोजनाको निर्माणपछि निकै नाफामा गएको यो कम्पनीले उत्तरगंगाको लाइसेन्स विद्युत विकास विभागसँग माग्दै आएको छ।
    हाइड्रो चाइनाले उत्तरगंगाका साथै भेरी नदीमा समेत अन्य आयोजनाका विषयमा अध्ययन गर्ने प्रस्ताव गरेको छ।

    प्रस्तुति:नागरिक