
फाल्गुन २२, २०७६
पाँचथर : जलविद्युत् आयोजनाले नियमअनुसार पानी नछाडेपछि पाँचथर फिदिमको हेवा खोला सुकेको छ । न्यूनतम १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने कानुनी प्रावधान भए पनि आयोजनाले सबै पानी आफैं प्रयोग गरेपछि खोला सुकेको हो ।
गत मंसिरदेखि नै यो खोलामा पानी बग्न छोडेको छ । फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना छुट्याएर बगेको खोलामा पानी नहुँदा यहाँका बासिन्दालाई दाहसंस्कारमा पनि समस्या भएको छ ।
हेवा र फेमेखोलाको पानी विद्युत् उत्पादनमा लगाइएको छ । माउन्टेन हाइड्रो पावर कम्पनीको तल्लो हेवा जलविद्युत् आयोजनाले खोलै सुकाएर इन्टेकमा पानी लगाएको स्थानीयको आरोप छ । उक्त आयोजनावाट २२ मेगावट विद्युत् उत्पादन हुन्छ । हेवा ‘ए’ जलविद्युत् आयोजनाले पनि नियमअनुसार खोलामा पानी छोडेको छैन । ‘प्रतिसेकेन्ड कति पानी बग्छ, त्यसको १० प्रतिशत छोड्नुपर्छ,’ सिवानी हाइड्रो पावर फावा खोलाको विद्युत् उत्पादनमा काम गरेका इन्जिनियर वीरेन्द्र श्रेष्ठले भने, ‘धेरै आयोजनाले पानी नछोडेको भन्ने सुनिरहेको छु ।’
पानी नहुँदा जलचर र खेतीकिसानी गर्नेलाई पनि असर परेको छ । फिदिम–४ का नरोत्तम थापाले खोला सुख्खा हुँदा बर्खे धानबालीदेखि तोरी, गहुँजस्ता हिउँदे बालीमा असर परेको बताए । ठाडो बहने भएकाले हेवा खोलाबाट कुलोमा पानी ल्याएर स्थानीयले सिँचाइ गर्दै आएका थिए । इन्टेकमा टालेर सुरुङमा लगाएपछि पानी चुहिने सम्भावना पनि नभएको तल्लो क्षेत्रका बासिन्दाले बताएका छन् । थापाटार र आसपासको क्षेत्र खेतीका लागि महत्त्वपूर्ण ठाउँ मानिन्छ ।
फिदिम नगरपालिका–४ का वडाध्यक्ष प्रकाश गुरुङले हाइड्रो पावर सञ्चालकलाई पानी छोड्न आग्रह गरेको बताए । ‘फिदिम–४, ११ र हिलिहाङ–७ नम्बर वडाका अध्यक्षले संयुक्त रूपमै ज्ञापनपत्र बुझाएका छौं,’ गुरुङले भने । हाइड्रो पावर सञ्चालक दीपेन्द्र आङ्वोले सिँचाइ कुलोका लागि पानी छोडेको बताए । ‘खोलामा पानी नै छैन के गर्नु,’ उनले भने, ‘अहिले हाम्रो उत्पादन पनि थोरै छ ।’
आयोजनाको विद्युत् उत्पादन पनि न्यून भएको छ । १५ मेगावाट विद्युत् उत्पादन हुने खोलामा ३ मेगावाट मात्रै हुन थालेको छ । इलामको गोदक स्टेसनका इन्चार्ज सुशान्त ठाकुरले ताप्लेजुङ, पाँचथर, इलाम तीन वटै जिल्लाको उत्पादन न्यून भएको बताए । उनका अनुसार इलामको सानिमा माई हाइड्रो पावरको उत्पादन ६.८ मेगावाट छ । पानी हुँदा यो २९ मेगावाट क्षमताको हो । २६ मेगावाटको माईभ्याली र सुपरमाईको उत्पादन ५.१ मेगावाटमा झरेको छ ।