वैशाखदेखि माथिल्लो तामाकोसीको परीक्षण

1689
आयोजना निर्माणमा भएको ढिलाइले लागत महँगियो
विद्युत् उत्पादन मिति पटकपटक संशोधन

काठमाडौँ — बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले वैशाखदेखि परीक्षण उत्पादन गर्ने तयारी थालेको छ । ४ सय ५६ मेगावाट जडित क्षमता भएको आयोजनाको पेनस्टक पाइपमा राख्नुपर्ने एक्सपान्सर पाइप ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि संशोधित डिजाइनको पाइप जडान सुरु भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

‘संशोधित डिजाइनको एक्सपान्सन ज्वाइन्ट आयोजनास्थलमा आइपुगेको छ । अहिले यसको जडान सुरु भएको छ,’ प्रवक्ता न्यौपानेले भने, ‘चैत तेस्रो सातासम्म जडानको काम सक्ने लक्ष्य छ ।’ एक्सपान्सन पाइप जडान सकिएलगत्तै सुरुङमा पानी भरेर परीक्षण गर्ने र लगत्तै प्रत्येक युनिटबाट परीक्षण उत्पादन गर्ने आयोजनाको तयारी छ । पिकिङ रन अफ रिभर प्रकृतिको आयोजनामा ६ वटा युनिट छन् । प्रत्येक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । मुख्य सुरुङबाट टर्बाइनमा आउने पाइपमा राख्नुपर्ने एक्सपान्सर ज्वाइन्ट ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि यसको डिजाइन संशोधन गरिएको थियो । संशोधित डिजाइनअनुसारको एक्सपान्सर ज्वाइन्ट आयोजनास्थलमा आइपुगेर जडानको काम भइरहेको न्यौपानेले जानकारी दिए ।

आयोजनामा पेनस्टक पाइप जडानसहित हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय कम्पनी टेक्सम्याकोले पाएको थियो । तर कम्पनीले समयमै एक्सपान्सन ज्वाइन्ट उत्पादन गर्न नसक्दा आयोजना निर्माण सम्पन्न हुने मिति पर धकेलिएको भन्दै आयोजना व्यवस्थापनले डिजाइन संशोधन गरी काम अघि बढाएको हो । डिजाइन संशोधन नगर्दा आयोजना निर्माण मिति कम्तीमा ६ महिनापछि धकेलिने भएपछि परामर्शदाता कम्पनीको सल्लाहमा आयोजना व्यवस्थापनले एक्सपान्सन ज्वाइन्टको डिजाइन संशोधन गरेको हो । डिजाइन संशोधनपछि आयोजनाको एउटा युनिटबाट चैत मसान्तसम्म परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य थियो । सुरुङबाट आएको पानीको बहावलाई टर्बाइनमा पठाउनुअघि बहाव नियन्त्रणका लागि एक्सपान्सन ज्वाइन्ट पाइप राख्न लागिएको थियो ।

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत माथिल्लो तामाकोसीको उत्पादन मिति पटकपटक संशोधन हुँदै आएको छ । २०७२ सालमा सक्ने लक्ष्य राखिए पनि निर्माणमा भएको ढिलाइले आयोजना तोकिएभन्दा पाँच वर्षपछि धकेलिएको हो । आयोजना समयमै सक्न आयोजना व्यवस्थापनलाई प्रधानमन्त्री कार्यालयबाट पनि तीव्र दबाब भएको स्रोतले जानकारी दिएको छ । आयोजनाको निर्माण पूरा भई उत्पादन सुरु भएपछि वर्षायाममा नेपालले दैनिक ५ सय मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने नेपाल विद्युत् प्राधिकरणको विश्लेषण छ ।

वर्षायाममा नेपालमा उत्पादित विद्युत् खपत हुन नकसी खेर जाने भन्दै प्राधिकरणले भारतीय बजारमा बिक्रीको तयारी गरिरहेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पनि आफूसँग ऊर्जा व्यापार सम्झौता भएको छिमेकी मुलुकबाट आफ्नो देशमा विद्युत् आयात गर्न सकिने गरी अन्तरदेशीय विद्युत् व्यापार कार्यविधि जारी गरिसकेको छ ।

कार्यविधिअनुसार प्राधिकरणले भारतीय कम्पनीलाई आफ्नो प्रतिनिधि तोकेर भारतको ‘डे अहेड’ र ‘टर्म अहेड’ बजारमा आफूले चाहेको परिमाणको विद्युत् बिक्री गर्न सक्ने कानुनी आधार तयार भएको छ । आयोजना निर्माणमा भएको ढिलाइले यसको लागत पनि महँगिँदै गएको छ । २०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । ६ वर्षमा आयोजना निर्माण हुने अपेक्षासहित तयार पारिएको अनुमानमा निर्माण अवधिको ब्याज साढे १३ अर्ब हुने उल्लेख थियो । सुरुमा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ७९ करोड हुने अनुमान गरिएको थियो ।

पूर्णतः नेपाली लगानीमा निर्माण भइरहेको यो आयोजनाको लागत बढेर ७० अर्ब नाघ्ने अनुमान छ । ढिलाइकै करण निर्माण अवधिको ब्याज साढे ६ अर्ब थपिने र कुल लागतमा साढे २० अर्ब थपिने संशोधित अनुमान छ । सरकारले हालसम्म आयोजनाका लागि १२ अर्ब दीर्घकालीन ऋण लगानी गरेको छ । मुद्रास्फीति, विदेशी मुद्राको विनियम दरमा आएको परिवर्तन र आयोजनाको ढिलाइका कारण लागत महँगो हुन गएको आयोजना व्यवस्थापनको विश्लेषण छ । आयोजनामा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले लगानी गरेका छन् । आयोजनामा प्राधिकरणको ४१ प्रतिशत, टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर छ । आयोजनाका लागि सर्वसाधारणबाट १५, दोलखावासीबाट १० प्रतिशत लगानी उठाइएको छ ।

स्रोत : कान्तिपुर