युनियनद्धारा पौने ३७ करोड सेयर संकलन

948

लमजुङ, वैशाख १५ गते । लमजुङमा निर्माण गरिएको मिदिमखोला (करापु) साना जलविद्युत आयोजनाको प्रवद्र्धक युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर किन्न ४७ हजार बढीले आवेदन दिएका छन् ।

युनियनले लमजुङको मध्यनेपाल नगरपालिका ८ करापुमा ३ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरेको छ । उक्त आयोजनामा लगानी गर्न ४७ हजार १ सय ५६ सर्वसाधारणले ३६ लाख ८९ हजार १ सय ४० कित्ता किन्न आवेदन दिएका छन् । आवेदकबाट ३६ करोड ८९ लाख १४ हजार रुपियाँ संकलन भएको प्रवद्र्धक कम्पनीका प्रशासन तथा वित्त अधिकृत हरिबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार बिक्री प्रबन्धक लक्ष्मी क्यपिटल मार्केटले लिएको छ ।

कम्पनीले प्रतिकित्ता एकसय रुपियाँमा अंकित ३५ करोड ३४ लाख ३४ हजार रुपियाँ मूल्यको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता सेयर निष्कासन गरेको उहाँले बताउनुभयो । चैत १३ गतेदेखि वैशाख १२ गतेसम्म सर्वसाधारणलाई सेयर खरिदका लागि आवेदन खुला गरिएको थियो ।

निष्कासन गरिएको सेयरमध्ये ७० हजार ६ सय ८६ कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ३६ लाख १८ हजार ४ सय ५४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । सर्वसाधारणले न्युनतम ५० कित्ता अर्थात ५ हजारदेखि अधिकतम ३५ हजार कित्ता अर्थात ३५ लाख रुपियाँसम्म आवेदन दिने व्यवस्था थियो । कम्पनीले यसअघि स्थानीयलाई सेयरको मौका दिएको थियो । आयोजनाको पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई सात करोड ५० लाख रुपियाँ बराबरको सात लाख ५० हजार कित्ता आइपिओ जारी गरेको थियो ।

युनियन हाइड्रोपावरले २०७२ को पहिलो महिनादेखि निर्माण थालेको आयोजनाले २०७४ माघ १५ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ । उक्त आयोजना नेपाल विद्युत प्राधिकरणसंग २०६७ माघमा विद्युत खरिदविक्री सम्झौता (पीपीए) भएको थियो । पानीको बहाव (रन अफ दि रिभर) मा आधारित उक्त आयोजना स्वदेशी लगानीमा निर्माण गरिएको हो । वातावरणीय अध्ययन (फिजिबिलटी स्टडी) गर्दा ५४ करोड लाग्ने अनुमान गरिएको सो आयोजनाको लागत बढेर ७९ करोड ५० लाख रुपियाँ पुगेको आयोजनाले जनाएको छ ।

स्रोत: गोर्खापत्र