तीन खोलाबाट १२ मेगावाट बिजुली

1119

स्थानीय खोलानालाबाट पेल्ट्री सेट, माइक्रो हाइड्रो र हाइड्रो पावर सञ्चालनले जिल्लामा लोडसेडिङ अन्त्य 

बर्खाको समय यहाँ उत्पादित विद्युत् बढी हुने नेपाल विद्युत् प्राधिकरण खाँदबारीले जनाएको छ ।

संखुवासभामा सभाखोलाबाट ४ दशमलव ४ मेगावाट, हेवा खोलाबाट ३ दशमलव २ मेगावाट, पिलुवा १ बाट ३ मेगावाट र लोवर पिलुवाबाट १ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

हिउँदको समयमा भने आधाभन्दा बढी उत्पादन घट्ने गरेको प्राधिकरणका प्रमुख ध्रुव अधिकारीले बताए । उनले १० भन्दा बढी साना खोलाहरूबाट ‘माइक्रो हाइड्रो’ सञ्चालन गरी स्थानीयले विद्युत् सेवा लिइरहेको पनि बताए ।

‘जिल्लामा उत्पादित विद्युत् छिमेकी जिल्लाहरूमा समेत दिने गरिएको छ,’ उनले भने, ‘केन्द्रीय प्रसारण लाइन अवरुद्ध हुँदा तेह्रथुम र भोजपुरका आधा भागमा पुग्छ । केन्द्रीय प्रसारण लाइन लामो समय अवरुद्ध भएको बेला यहीँ उत्पादित बिजुली बाल्ने गरिएको छ ।’ उनका अनुसार अरू बेला केन्द्रको लाइनमा जोड्ने गरिएको छ ।

‘दुई घण्टाभन्दा बढी बिजुली जाने सूचना आएपछि यहीँको उत्पादन बाल्छौं,’ उनले भने, ‘हावाहुरीले लडाएको पोल मर्मत गर्न समय लाग्छ, त्यो बेला यतैको चलाउँछौं ।’ अरुण नदीमा ठूला आयोजनाका रूपमा बहुचर्चित ९०० मेगावाटको अरुण तेस्रोको काम धमाधम भइरहेको छ ।

माथिल्लो अरुण, अपर अरुण, अरुण दोस्रो र अरुण चोथौसमेतको सर्भे भइसकेको छ । सबैभन्दा महत्त्वपूर्ण र ठूलो उत्पादन हुने अरुण तेस्रोको काम भारतीय सतलज कम्पनीले गरिरहेको छ । ‘सभाखोलाबाट दिव्येश्वरी हाइड्रो पावरले ४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ,’ उनले भने, ‘पिलुवा जलविद्युत् आयोजना, बानेश्वर जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् ।’

यी दुई वटा आयोजनाले ४ मेगावाट उत्पादन गरे पनि केन्द्रीय प्रसारण लाइनमा आबद्ध भइसकेको छ । निगुरे जलविद्युत् आयोजना लामो समयदेखि बिग्रिएर बन्द छ । यो आयोजना जिल्लाका तीन वटा क्याम्पस वरुण बहुमुखी, संखुवासभा बहुमुखी र मादी बहुमुखी क्याम्पसले संयुक्त रूपमा सञ्चालन गरेका हुन् ।

त्यसका साथै जिल्लाका अन्य विभिन्न खोलानालाबाट स्थानीय रूपमा ऊर्जा शक्ति हाइड्रो पावर सञ्चालनमा छन् । ‘यहाँका सात वटा स्थानीय तहबाहेक अन्य स्थानीय तहका गाउँमा केन्द्रीय प्रसारण पुगेको छैन,’ उनले भने, ‘नपुगेको ठाउँहरूमा हाइड्रो पावरबाटै उज्यालो छाएको छ ।

उनका अनुसार मकालु र चिचिला गाउँपालिकामा केही महिनाभित्र केन्द्रीय प्रसारण लाइन लैजाने योजना रहेको छ । अधिकारीले भने, ‘९० प्रतिशत काम पूरा भइसकेको छ, बाल्ने तयारीमा छौं ।’ केन्द्रीय प्रसारण लाइनले नछोएको यहाँका धेरै स्थानीय गाउँबस्तीहरूका पेल्ट्रिक सेट, माइक्रो हाइड्रो र हाइड्रो पावरकै भरमा छन्।

सिलिचोङ, चिचिला, मकालु, भोटखोला, चैनपुर नगरपालिकाभित्र जहाँसम्म विद्युत्को केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन, त्यहाँ स्थानीय हाइड्रो पावरको माध्यमबाट बिजुलीबालिएका छन् ।

विद्युत्को केन्द्रीय प्रसारण लाइन नपुगेका ती दुर्गम गाउँबस्तीहरूमा हाइड्रो पावरका कारण अँध्यारोमा बस्नु नपरेको स्थानीय वसन्त गुरुङको भनाइ छ । ‘उज्यालो पाउनका लागि स्थानीय गाउँलेहरूले पेल्टिक सेट, माइक्रो हाइड्रो र हाइड्रो पावर सञ्चालन गरे पनि बेलाबेला बिग्रने समस्याबाट भने ग्रसित छन्,’ उनले भने, ‘बेलाबेला हाइड्रो पावर बिग्रिनु स्वाभाविकै हो ।’

यो जिल्लामा विद्युत् उत्पादन बढ्दै गए पनि खपतको अवस्था भने न्यून छ । खाँदबारी वितरण केन्द्रका अनुसार अहिले साँझको समयमा ४ मेगावाट खपत भइरहेको छ । दिउँसो २ मेगावाट मात्र खपत हुन्छ । जिल्लामा उद्योग कलकारखना नभएकाले दिउँसो विद्युत्को प्रयोग कम भएको प्रमुख अधिकारीले बताए ।

जिल्लामा उत्पादित विद्युत् पिलुवा सबस्टेसनबाट धनकुटा, धरान हुँदै दुहबीबाट केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । जिल्लामा चार वटा हाइड्रो पावरका कारणले आत्मनिर्भर भए पनि १० वटै स्थानीय तहमा भने विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छैन ।
दीपेन्द्र शाक्य
स्रोत:कान्तिपुर