प्रसारण लाइन र सवस्टेसन नबन्दा आयोजना अन्योलमा

    1843

    फाल्गुन २३, २०७२- गण्डकी, धौलागिरी क्षेत्रमा अहिले जलविद्युत् आयोजनाको निर्माण तीव्ररूपमा भइरहेका छन् । धेरैले विद्युत् उत्पादन अनुमति लिएका छन् । लोडसेडिङले मुलुक आक्रान्त भएका बेला यो सुखद खबर भए पनि निजी क्षेत्रका उत्पादनलाई जोड्न विद्युत् प्राधिकरणले बनाउने भनेका प्रसारण लाइन र सवस्टेसन समयमै नबन्दा केही आयोजना अन्योलमा छन् । केहीले आफ्नै लगानीमा निर्माण थालेका छन् । यसै सेरोफेरोमा पोखराबाट लालप्रसाद शर्मा, म्याग्दीबाट घनश्याम खड्का, पर्वतबाट अगन्धर तिवारी र लमजुङबाट आश गुरुङ लेख्छन् :–

    पोखरा– विद्युत् प्राधिकरणले बनाउन लागेको २२० केभी प्रसारण लाइन सवस्टेसन निर्माण ढिलाइले म्याग्दी र मुस्ताङमा निर्माणाधीन तथा निर्माण प्रक्रियामा रहेका आयोजना अन्योलमा छन् ।

    म्याग्दीको दाना र पर्वतको कुश्मामा निर्माण गरिने २२०/१३२/३३/११ केभी कालीगण्डकी करिडोर प्रसारण लाइनको सवस्टेसन निर्माण प्रक्रिया ढिलो हुँदा लगानीकर्ता निराश छन् । दुवै स्टेसन २०७२ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो ।

    ‘आयोजना निर्माण अगाडि बढाएरमात्रै भएन । उत्पादन सम्झौताअनुसार प्राधिकरणले प्रसारण लाइन नबनाइदिँदा बैंक क्लोजर टुंगो लागे पनि काम अगाडि बढाउन सकेका छैनन्,’ कालीगण्डकी करिडोरमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाका निर्देशक डोलेन्द्र शर्माले भने, ‘उत्पादन गरेरमात्र भएन, बेच्ने ठाउँ छैन । यस क्षेत्रका आयोजनाको मुख्य समस्या यही हो ।’

    प्राधिकरणले भने कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको वातावरणीय परीक्षण तथा दाना र कुश्मामा जग्गा अधिग्रहणको प्रक्रिया सकेको छ । पहिलो चरणमा दानाबाट २२० केभी प्रसारण लाइनमार्फत ४० किमि तल पर्वत सदरमुकाम कुश्मामा रहने अर्को सवस्टेसनमा जोड्ने र मोदीखोला सवस्टेसनमा जोड्न ठेक्का प्रक्रियामात्रै सुरु भएको छ ।

    कुश्मा सवस्टेसनमा मोदीखोला करिडोर र पश्चिम बाग्लुङको ३ सय मेगावाट क्षमताको उत्तरगंगा जलविद्युत् आयोजना ल्याएर कालीगण्डकी करिडोर हुँदै बुटवलबाट नवलपरासीको बर्दघाट पुर्‍याउने प्राधिकरणको योजना छ ।

    ‘कालीगण्डकी करिडोर प्रसारण लाइनको वातावरण परीक्षण र जग्गा अधिग्रहणको काम सकिएको छ । ३ वर्षमा निर्माण पूरा हुने गरी ठेक्का लगाउने प्रक्रियामा छौं,’ आयोजना प्रमुख इन्जिनियर चन्दनकुमार घोषले भने, ‘प्रसारण लाइन नहुँदा विद्युत् आयोजना सञ्चालन र उत्पादन गर्न सकेनौं भन्ने गुनासो रहँदैन ।’

    कालीगण्डकी करिडोरमा १ सय १४ दशमलव २ मेगावाट क्षमताका आयोजना निर्माण हुने तयारीमा छन् । राहुघाटखोलामा ३२ (हाल ठेक्का रद्द भएर पुन: ठेक्का प्रक्रियामा रहेको), घलेम्दी ५ मेगावाट निर्माणाधीन छन् । त्यसैगरी मिस्त्रीखोलामा ४२, माथिल्लो म्याग्दी २० र मुस्ताङमा थापाखोला १० मेगावाटका आयोजना निर्माणाधीन छन् ।

    कालीगण्डकी करिडोरभित्र घारखोला (८.५), कालीगण्डकी अपर (६४), कालीगण्डकी गर्ज (१४६), नीलगिरी (३८) तथा मुस्ताङमा निर्माणाधीन ताङछरखोला (२ दशमलव ४०) र कोवाङ (कालीगण्डकी (४५० मेगावाट) आयोजनाबाट उत्पादन हुने विद्युत्लाई दाना सवस्टेसनमा जोड्ने योजना छ । माथिल्लो राहुघाट (४८ दशमलव ५ मेगावाट), कालीगण्डकी माथिल्लो (७२ मेगावाट) र दरवाङखोला २५ मेगावाट, म्याग्दीखोला क्षेत्रका अन्य १२ योजनाले पनि २ सय ८० मेगावाट उत्पादन गर्न सर्वेक्षण अनुमति लिएका छन् ।

    माथिल्लो म्याग्दी ‘ए’ (३०), म्याग्दी–२ (२७), कालीगण्डकी–तिप्ल्याङ (६७), माथिल्लो मोदीखोला (१० मेगावाट) समेत २१ आयोजनाले २ सय ३६ मेगावाट विद्युत् उत्पादन अनुमति लिएका छन् । तिनलाई कालीगण्डकी करिडोर प्रसारण लाइनमा जोड्ने योजना हो ।

    पर्वतमा कालीगण्डकी प्रसारण करिडोर आयोजना सवस्टेसनका लागि जग्गाको मुआब्जा विवादका कारण डेढ वर्षदेखि रोकिएको काम समाधान भएपछि अघि बढेको छ । एसियाली विकास बैंकको सहुलियत ऋणमा ४० करोडको लागतमा कुश्मा नगरपालिका ४ केटीचौरमा सवस्टेसन बन्न लागेको हो ।

    २०६९ मा १ सय ५४ रोपनी जग्गा प्राधिकरणले अधिग्रहण गरेको थियो । जिल्ला मुआब्जा समितिले सडकले छोएको प्रतिरोपनी १० लाख र नछोएको जग्गाको ८ लाख रुपैयाँ तोकेको थियो । तर रकम कम भएको भन्दै जग्गाधनी अदालत र अख्तियारमा पुगेका थिए ।

    जग्गाप्राप्ति ऐन, २०३४ मा मुआब्जा समितिले गरेको निर्णय नै अन्तिम हुने उल्लेख भएबमोजिम उनीहरू समितिले तोकेकै रकममा राजी भएपछि मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । ‘ढिलै भए पनि विवाद मिल्यो,’ समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले भने ।

    जिल्लास्थित साइड कार्यालयका लेखापाल गोविन्दप्रसाद शर्माले मुआब्जाका लागिमात्रै १५ करोड रकम आएकोमा ७४ जनालाई बाँडिसकिएको र बाँकी १० जनालाई पनि छिट्टै वितरण गर्ने बताए । निर्माणका लागि ग्लोबल टेन्डर प्रक्रियामा ठेकेदार कम्पनी छनोटको चरणमा रहेको छ ।

    ‘पाँच भारतीय र ५ चाइनिज कम्पनीले आशयपत्र पेस गरेका छन्,’ घोषले भने, ‘ठेक्का स्वीकृत हुनासाथ पूर्वाधारको काम अघि बढ्छ ।’ हाल धौलागिरीमा करिब ५ सय मेगावाट विद्युत् आयोजना निर्माणको चरणमा छन् । पर्वतमा मोदीखोला १४ मेगावाट र युनाइटेड मोदी १० मेगावाटको योजनाले विद्युत् उत्पादन गरिरहेका छन् । त्यस्तै १५ मेगावाटको मध्यमोदी र २० मेगावाटको तल्लो मोदी आयोजना निर्माणाधीन छन् ।

    लमजुङ जलविद्युत्को ‘हव’ बन्दै गए पनि सरकारले यहाँ निर्माण गर्ने भनेको विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ गर्दा उत्पादित विद्युत् खेर जाने अवस्थामा पुगेको छ । तर विद्युत् खेर जान नदिन प्रवद्र्धकले नै प्रसारण लाइन निर्माण थालेका छन् । प्राधिकरणसँगको समन्वयमा प्रसारण लाइन निर्माणमा उनीहरू जुटेका हुन् ।

    हिमताल हाइड्रो पावर कम्पनीले भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुना राव (जीएमआर) इनर्जी लिमिटेडको लगानीमा ४ सय केभी डबल सर्किटको मर्स्याङ्दी प्रसारण लाइनको सर्भे र अनुसन्धान गरिरहेको छ । यो आयोजना विकास सम्झौता (पीडीए) को क्रममा रहेका ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी–२ आयोजनाको विद्युत्गृह ताघ्रिङ २, स्याँगेबाट सुनौलीसम्मका लागि हो ।

    हिमताल स्रोतका अनुसार २ सय किमिको प्रसारण लाइन भारतीय कम्पनीले भारतकै लागि निर्माण गर्न लागेको हो । गत वर्षदेखि सुरु भएको सर्भे र अनुसन्धानपछि विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने र वातावरणीय प्रभाव मूल्यांकन गर्ने योजना छ ।

    निजी क्षेत्रबाटै भुलभुले (मध्यमर्स्याङ्दी १३२ केभीको प्रसारण लाइन ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए आयोजनाको प्रवद्र्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले निर्माण गर्दैछ । यसमा आयोजनाको लगानी र प्राधिकरणको मुआब्जा र व्यवस्थापनको जिम्मा छ । आयोजना प्रमुख इन्जिनियर गणेश केसीका अनुसार यो २० किलोमिटरको हो ।

    ‘५४ टावरमध्ये ४६ वटाको फाउन्डेसन सकिएको छ,’ उनले भने, ‘टावरको सामग्री आउने क्रममा छ । ३/४ महिनामा सकिन्छ ।’

    यस्तै, निर्माणाधीन २ मेगावाटको छ्याङ्दी साना जलविद्युत्ले उदिपुरस्थित सवस्टेसनको ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन निर्माण गरेको छ । आयोजनाका कार्यकारी प्रमुख लालबहादुर थापाका अनुसार २ करोडको लागतमा ९ दशमलव ८ किलोमिटर लामो ‘सिंगल सर्किट’ प्रसारण लाइन निर्माण गरिएको हो ।

    सरकारले १ सय १५ किमि लामो मनाङ–खुदी–उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन निर्माणको तयारी गरेको छ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनका लागि उदिपुरदेखि भरतपुरसम्म र उदिपुर देखिमाथि मनाङको घेलाञ्चोकसम्म २ छुट्टाछुट्टै ‘लाइसेन्स’ छ ।

    आयोजना प्रमुख चिरन्तनविक्रम राणाका अनुसार सन् २०२० सम्ममा लाइन निर्माण गर्ने लक्ष्य लिएको छ । ‘एसियाली विकास बैंकको लिडिङमा युरोपियन इन्भेस्टमेन्ट बैंकले ९० मिलियन डलर (करिब १० अर्ब रुपैयाँ) स्वीकृत गरिसकेको छ,’ उनले भने, ‘पहिलो चरणमा उदिपुर–भरतपुर र दोस्रो चरणमा उदिपुर–मनाङ प्रसारण लाइन निर्माण हुनेछ ।’

    उनका अनुसार आयोजनाको डिटेल सर्भे सकिएर प्रारम्भिक वातावरणीय परीक्षण र दोस्रो चरणको वातावरणीय प्रभाव मूल्यांकनको तयारी भइरहेको छ । यसको डिजाइन पावर ग्रिड इन्डियाले गर्ने र कन्ट्रक्सनका लागि छिट्टै टेन्डर आह्वानको तयारी भइरहेको उनले बताए ।

    राणाका अनुसार दोर्दी करिडोर १३२ केभीको प्रसारण लाइनको डिटेल सर्भेका लागि सरकारले बजेट स्वीकृत गरेको छैन । दोर्दी खोलामा १ सय १२ मेगावाट विद्युत् उत्पादनका लागि ४ वटा आयोजना निर्माणाधीन रहेका ४ वर्षभित्र विद्युत् उत्पादन हुनेछ ।

    ‘डिटेल सर्भे हुने क्रममा छ । जग्गा किन्न साढे ३ करोड बजेट विनियोजन भएको छ,’ राणाले भने, ‘तर बजेट स्वीकृत नहुँदा काम अघि बढेको छैन ।’ यो उदिपुर स्टेसनमा जोडिनेछ । तल्लो खण्ड सन् २०१९ को अन्तिम र माथिल्लो खण्ड सन् २०२० को अन्तिममा सक्ने उनले बताए । यस्तै, सरकारले नै तनहुँको मर्स्याङ्दी आयोजनादेखि काठमाडौंसम्मको २२० केभी प्रसारण लाइनको ‘डबल सर्किट’ का लागि टेन्डर निकालेर काम सुरु गर्ने तयारी गरेको छ ।

    ऊर्जाको चरम अभाव भएपछि पुष्पकमल दाहालको नेतृत्वमा रहेको तत्कालीन सरकारले २०६५ पुसमा ऊर्जा संकटकाल घोषणा गरेर राष्ट्रिय विद्युत् संकट निरूपण कार्ययोजना–२०६५ ल्याएको थियो ।

    त्यतिबेलाको ३८ बुँदे लोडसेडिङ न्यूनीकरण कार्ययोजनाले प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकता दिएको थियो । प्रसारण लाइनमा करिडोर अवधारणा पनि ल्याइएको तर अहिलेसम्म देखिने गरी काम अघि बढ्न सकेको छैन ।

    विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय पोखराका प्रमुख रवीन्द्र महासेठले कालीगण्डकी, मर्स्याङ्दी, मोदीखोला तथा बागलुङको दरमखोलामा पनि विद्युत् आयोजना निर्माणका क्रममा रहेको बताए ।

    ‘सानाठूला आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा पुर्‍याउन ठाउँठाउँमा सवस्टेसन बन्न लागेका छन्,’ उनले भने, ‘प्रसारण लाइन र सवस्टेसन निर्माणले स्थानीयस्तरमा विकासका सम्भावना खुल्नेछ ।’ उनका अनुसार ३३ केभी प्रसारण लाइनमा ५ मेगावाटसम्म विद्युत् जडान हुन्छ भने त्यसमाथिको १३२ केभीमा जोडिन्छ ।

    अहिले लमजुङको भोर्लेटारमा ३३/११ केभी क्षमताको सवस्टेसन बनाउन जग्गा अधिग्रहणको काम भइरहेको छ । त्यहाँबाट दमौलीमा बिजुली ल्याइनेछ । यसैगरी लमजुङमै पोखरा–सिन्दवेसी, बागलुङको हरिचौरमा, तनहुँको खैरेनीटार र मनाङमा उदिपुर–मनाङ सवस्टेसनको काम भइरहेको उनले बताए ।

    यस क्षेत्रमा अहिले पर्वतको मोदी, स्याङ्जाको मिर्मी, राङखोला र लेखनाथमा १३२ केभी क्षमताका सवस्टेसन छन् ।

    •  प्रसारण लाइन र सवस्टेसन समयमै बनेनन्
    •  जलविद्युत् आयोजना अन्योलमा
    •  लगानीकर्ताले नै बनाउन थाले

    प्रकाशित: कान्तिपुर