जलविद्युत् आयोजनाको काम सुस्त

    1626

    असार २७, २०७४- रुकुम उज्यालो कार्यक्रमअन्तर्गत जिल्लाको सबैभन्दा ठूलो जलविद्युत् आयोजना निर्माणको काम सुस्त गतिमा भइरहेको छ । त्रिवेणी गाउँपालिकासहित अन्य ठाउँका सर्वसाधारणलाई लक्षित गरी निर्माण थालिएको सिम्रुतु खोला साना जलविद्युत् आयोजनाको अहिलेसम्म नगन्य मात्रामा काम भएको छ । ०७३ माघको पहिलो साता शिलान्यास गरिएको आयोजनाको हालसम्म एक प्रतिशत पनि काम नभएको सम्बन्धित निर्माण कम्पनीले बतााएको छ । हाल उक्त आयोजनाले त्रिवेणी गाउँपालिका २ मा मुहानको नहर निर्माण कार्य गरिरहेको छ ।

    १८ महिनामा निर्माण सकिने लक्ष्य राखिएको आयोजना निर्माणको ठेक्का लिएको गौरा कन्स्ट्रक्सन प्रालि र हाइड्रो इनर्जी प्रालिका साइड इन्चार्ज जय घलेले विविध कारणले काम नै ढिला सुरु भएको बताए । ‘पहिलो निर्वाचन, दोस्रो वर्षातका कारण भनेकै समयमा भने जत्तिको काम गर्न सकिएको छैन,’ उनले भने, ‘यसलाई यति प्रतिशत काम भयो भनेर भन्ने ठाउँ छैन । उनका अनुसार आयोजना सम्पन्न हुन सिभिल, मेकानिकल र इलेक्ट्रोनिक गरी तीनवटा काम गर्नुपर्छ । हालसम्म सिभिलतर्फको १५ देखि २० प्रतिशत मात्रै काम भएको छ भने मेकानिकल र इलेक्ट्रोनिकतर्फको काम सुरु नै हुन सकेको छैन । गत माघबाटै काम सुरु गर्ने भनिए पनि विविध कारणले जेठ पहिलो साताबाट मात्रै आयोजनाको काम सुरु भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण ओलीले बताए । उनका अनुसार स्थानीयस्तरबाट आयोजनालाई हुनुपर्ने सबै सहयोग समितिले गरिरहेको छ । उनले वर्षा नसकिएसम्म मेकानिकल र इलेक्ट्रोनिकतर्फको काम सुरु हुन गाह्रो हुने बताए ।

    एसियाली विकास बैंक, नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग तथा स्थानीय उपभोक्ताको नगद तथा श्रमदानमा बन्ने उक्त आयोजनाको उत्पादन क्षमता २ सय किलोवाट रहेको छ । रुकुम उज्यालो कार्यक्रमअन्तर्गत जिल्लामा यसअघि निर्माण सम्पन्न कुनै पनि साना तथा लघु जलविद्युत् आयोजना ९० किलोवाटभन्दा बढी उत्पादन क्षमताका छैनन् । सिमु्रतुखोला र खारखोलाको पानीलाई त्रिवेणी गापा २ त्रिवेणीमा जम्मा गरी आयोजना निर्माण गरिनेछ । ८ करोड ७१ लाख ३६ हजार ८ सय ८८ रुपैयाँमा निर्माण हुने उक्त आयोजनाका लागि ६५ प्रतिशत अर्थात् ५ करोड ७० लाख रुपैयाँ नेपाल सरकारमार्फत एसियाली बैंकले लगानी गर्नेछ । त्यस्तै उपभोक्ताबाट नगद र श्रमदान गरी २४ प्रतिशत अर्थात् २ करोड १ लाख ३६ हजार ८ सय ८८ र आयोजना निर्माणकर्ता सिम्रुतुखोला साना जलविद्युत् सहकारी लिमिटेडको सिभिल बैंकबाट लिएको ऋण ११ प्रतिशत अर्थात् १ करोड लगानी हुनेछ । सिम्रुतुखोला साना जलविद्युत् आयोजना निर्माणका लागि एसियाली विकास बैंकको आर्थिक सहयोगमा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) आयोजनाले अनुदान सहयोग गरेको छ ।

    उक्त आयोजना निर्माणपश्चात् साबिकका रुँघासहित खारा, भलाक्चार मुरु गाविसका १ हजार ३ सय ८६ घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको विस्तृत सर्भेको क्रममा उक्त आयोजनाबाट २ हजार ४ सय घरधुरीसम्म लाभान्वित हुने उल्लेख गरिएको छ । २०६६ सालमा उपभोक्ताको तहबाट उक्त आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरिएको थियो । विभिन्न निकायमा कागजी प्रक्रिया पूरा गर्न र उपभोक्ताबाट लगानी गर्नुपर्ने नगद संकलनका क्रममा लामो समय लागेको अध्यक्ष ओलीको भनाइ छ । उनका अनुसार साबिक रुँघा गाविसका ९ सय घरधुरीले ३१ हजार ६ सय ५ रुपैयाँ नगद जम्मा गरेका छन् । त्यस्तै खाराका १ सय ५ उपभोक्ताबाट ३० हजार, मुरुका २ सय घरधुरीबाट ३० हजार र भलाक्चाका १ सय ६८ उपभोक्ताबाट २५ हजारका दरले नगद संकलन गरिएको छ ।

    स्रोत:कान्तिपुर