ठेकेदार विवादले सान्जेनको निर्माण रोकियो

    960

    मुख्य ठेकेदारले एकतर्फी रूपमा ठेक्का तोड्यो, पेटी ठेकेदारद्वारा क्षतिपूर्ति माग

    चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४२.५ मेगावाटको तल्लो सान्जेन आयोजना ठेकेदारहरूको लापरबाहीका कारण काम रोकिएको छ । मुख्य ठेकेदार र पेटी ठेकेदारबीच लेनदेनमा कुरा नमिल्दा ३ महिनादेखि आयोजनाको काम रोकिएको हो । ०७५ माघ १ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म करिब ६० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजना प्रमुख गणेश केसीले बताए ।

    चार भागमा विभाजन गरेर निर्माण भइरहेको आयोजनाको महत्वपूर्ण मानिएको पावरहाउसको काम विवादका कारण रोकिएको हो । विवादकै कारण समयमै काम सम्पन्न हुन नसक्ने भन्दै आयोजनाले भारतीय निर्माण कम्पनी एससिडब्लुलाई कारबाहीको चेतावनी दिएको छ ।

    यस्तो छ काम रोकिनुको कारण
    आयोजना निर्माण गर्न भारतीय कम्पनी एसिडब्लु र नेपाली कम्पनी तुन्डी कन्स्ट्रक्सनले संयुक्त रूपमा (जेभी) ठेक्का लिएका हुन् । एसिडब्लुले ७० प्रतिशत र तुन्डीको भागमा ३० प्रतिशत काम परेको छ । कामको बाँडफाँड गर्दा पावरहाउस निर्माण एसिडब्लु र टनेलको काम तुन्डीको भागमा परेको थियो । तुन्डीले कामलाई निरन्तरता दिए पनि भारतीय कम्पनीले जिम्मा लिएको काम भने रोकिएको आयोजनाले जनाएको छ । हिमाल हाइड्रोले पुनः अर्को ठेकेदार कम्पनी गोमा एचजी कन्स्ट्रक्सनलाई पावरहाउसको सिभिलको काम गर्न १० करोड ५७ लाखमा जिम्मा दिएको थियो । तर, हिमाल हाइड्रोले काम चित्त नबुझेको भन्दै एकतर्फी रूपमा ठेक्का सम्झौता तोडेको जनाएको छ ।

    हिमाल हाइड्रोले गोमासँग लिखित सम्झौता गरेर काम गरेको जनाएको छ । गोमा एचजीले भने करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । त्यसको करिब ३ करोड ८६ लाख रुपैयाँबराबरको भुक्तान हिमाल हाइड्रोले नदिएको गोमाका प्रबन्ध निर्देशक श्याम घिसिङले बताए ।

    समयमा काम नगर्दा ठेक्का रद्द
    हिमाल हाइड्रोले भने समयमा काम सम्पन्न नगरेका कारण एकतर्फी रूपमा ठेक्का तोडेको जनाएको छ । हिमाल हाइड्रोका प्रबन्धक दीपककुमार अग्रवालले काम नगर्नुको कारणका विषयमा जानकारीका लागि गोमालाई चिठी पठाएको र समयमै काम सम्पन्न गर्ने लक्षण नदेखिएपछि एकतर्फी रूपमा ठेक्का तोडिएको बताए । सो कम्पनीलाई बारम्बार हिसाब–किताब गर्न ताकेता गरे पनि बेवास्ता गरिरहेको उनको भनाइ छ । अबको केही दिनभित्र नयाँ ठेकेदारको नियुक्ति हुने तथा तोकिएको समयमा काम सम्पन्न हुने उनले दाबी गरे ।

    स्रोत:नयाँपत्रीका