तल्लो मोदी ठप्प

1178

जेष्ठ ३१, २०७६

पर्वत — प्राकृतिक तथा मानवीय कारणले निर्माणमा २ वर्ष ढिलाइ भएको तल्लो मोदी जलविद्युत् आयोजना फेरि प्रभावित भएको छ । २० मेगावाट क्षमताको आयोजनाले असार पहिलो सातादेखि उत्पादन थाल्ने तयारी गरेको थियो । स्थायीको माग गर्दै कर्मचारी आन्दोलनमा उत्रिएपछि आयोजनाको सबै काम ठप्प छ । कार्यरत ४० कर्मचारीले निर्माणको काम सकिएपछि पनि स्वतः स्थायीको माग राख्दै साता दिनदेखि आयोजना बन्दगराएका हुन् । उनीहरूले कार्यालय, विद्युत्गृह, बाँधस्थललगायतमा तालाबन्दी गरेका छन् ।

मागप्रति सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको कर्मचारी शिव लामिछानेले बताए । ‘आयोजना बन्नुमा हाम्रो ठूलो योगदान छ,’ उनले भने, ‘पटकपटक बसेर समस्याको समाधान गरौं भन्दा आयोजनाका जिम्मेवार व्यक्ति पञ्छिन खोज्नुभयो ।’ माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।

कार्यरत सबै स्थानीय कर्मचारीले काम बन्द गराएपछि सबैजसो उपकरण परीक्षणको काम रोकिएको छ । मुख्यगरी बाँध, टनेल, पावरहाउस, पाइपलाइनलगायतमा जडित मेसिनको परीक्षण भइरहेको थियो । आयोजना प्रमुख पवनकुमार यादवले उपकरणको गुणस्तर तथा आयोजनाको समग्र पूर्वाधारको परीक्षण रोकिएको बताए । ‘परीक्षण उत्पादनपछि स्थायी वा अवकाशबारे निर्णय गर्ने कुरा चलिरहेको थियो,’ यादवले भने, ‘उहाँहरू एक्कासि ताला लगाएर बाहिरिनुभएको छ ।’

उनले कुनै पनि कर्मचारीलाई स्थायी नगरिएको र विद्युत् उत्पादन थालिएपछि प्रक्रिया पुर्‍याएर मात्र स्थायी गर्ने योजना रहेको बताए । परीक्षण उत्पादनको तयारीमा रहेका बेला केही दक्ष कर्मचारीलाई सहयोगीका रूपमा राखेर काम गराइएको तर स्थायी गर्ने प्रक्रिया आयोजना र कर्मचारीको रोहबरमा हुने उनले बताए ।

२०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य ०७४ असारमा थियो । अघिल्लो असारमा उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको थियो । गत फागुनमा उत्पादन तयारी गरेको आयोजनाको पावरहाउसदेखि प्रसारण लाइनसम्म विद्युत् पठाउने तार छोटो काटिएपछि रोकिएको थियो ।

लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयको अवरोध, प्राकृतिक प्रकोपलगायत कारणले ढिलाइ भएको आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्बासेले बताए । ३ अर्ब ६० करोडको लागत स्टिमेटमा सुरु भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत पनि बढेको छ ।
अगन्धर तिवारी
स्रोत:कान्तिपुर