काबेली करिडोरको काम सुस्त

    1132

    फिदिम : राष्ट्रिय गौरवको आयोजनाका रूपमा १० वर्ष पहिले निर्माण प्रक्रिया अघि बढाइएको एक सय ३२ केभीए विद्युत् प्रसारण लाइन ‘काबेलीकरिडोर’ को निर्माणमा ढिलाइ भएको छ। प्रसारण लाइन निर्माणको कामले अपेक्षित गति नलिँदा दोस्रोपटक थपिएको समय सकिँदा पनि आयोजनाको काम नसकिने भएको हो। दोस्रोपटक थपिएको म्याद सकिन लाग्दा आयोजना निर्माणको काम ७० प्रतिशतमात्र पूरा भएको छ।

    इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा उत्पादन गरिएको बिजुलीलाई मुलुकको विद्युत् प्राणालीमा जोड्ने उद्देश्यका साथ १० वर्ष अघिदेखि करिडोर निर्माण प्रक्रिया अघि बढाइएको थियो। करिडोर निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले निर्माण कार्यमा पर्याप्त जनशक्ति परिचालन गर्न नसक्दा कामले तीव्रता नपाएको काबेली करिडोरका प्रमुख दिपेन्द्रराज द्विवेदीले जानकारी दिए। ‘सुरु सुरुमा करिडोर लाइन विस्तार गर्न जग्गामा विवाद भयो’, द्विवेदील अन्नपूर्णसँग भने, ‘पछिल्लो समयमा जग्गाको विषयमा विवाद छैन। निर्माण कम्पनी जनशक्ति परिचालन गर्न नसक्दा समस्या भएको हो।’

    करिडोरको प्रसारण लाइन निर्माणको काम भारतीय निर्माण कम्पनी जगुवर एन्ड एस्टर प्रालिले गरिरहेको छ। दोस्रोपटक थपिएको म्याद आगामी वैशाख १० गते सकिँदैछ। ‘वैशाखभित्रमा पनि करिडोरको काम सकिने सम्भावना नै छैन। पछिल्लो समयमा निर्माण कम्पनीले जनशक्ति परिचालन नै गर्न सकेन’, द्विवेदीले भन्छन्।

    झापाको दमकदेखि पाँचथरको अमरपुरसम्मको ९० किलोमिटर लामो प्रसारण लाइन निर्माणको काममा ढिला गरिँदा तीन जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाको कामसमेत प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरणले २०६३ सालदेखि करिडोर निर्माणको प्रक्रिया अघि बढाएको थियो। प्रक्रिया सुरु भएको तीन वर्ष ढिलो गरी दुई वटा भारतीय निर्माण कम्पनीलाई प्रसारण लाइन निर्माणको जिम्मा दिईएको हो। करिडोरका चारै वटा सवस्टेसन निर्माणको काम एक वर्ष अघिनै पूरा भएको छ। झापाको दमक, इलामको गोदक, पाँचथरको फिदिमस्थित थापाटार र अमरपुरको दुबीचौरमा सवस्टेसन निर्माणको काम सम्पन्न भएको हो। ९० किलोमिटर प्रसारणलाई विस्तारका लागि दुई सय ५९ वटा टावर राख्नुपर्ने हुन्छ। हालसमम्म एक सय २२ वटा टावर राखिएको छ।

    दोस्रोपटक थपिएको म्याद सकिन लाग्दा आयोजना निर्माणको काम ७० प्रतिशतमात्र पूरा भएको छ।

    झापाको दमकदेखि इलामसम्मको ९४ वटा टावर र पाँचथरको थापाटारदेखि अमरपुरको दुबीचौरसम्म २८ वटा टावर राख्ने काम सम्पन्न भएको हो। इलामको गोदकदेखि झापासम्मको प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणको कुल तीन अर्ब ५९ करोडक लागतमा करिडोर निर्माणको काम अघि बढाइएको हो। ८० प्रतिशत िवश्व बैंकको लगानीमध्ये १५ प्रतिशत अनुदान र ६५ प्रतिशत ऋण लगानीमा कामअघि बढाइएको हो। निर्धारित समयमा करिडोरको काम सम्पन्न नहुँदा पाँचथर, इलाम रत ाप्लेजुङमा निर्माणाधीन जलविद्युत् आयोजना निर्माणको काम पनि प्रभावित भएको छ।

    विश्व बैंकको सहयोगमा विद्युत् प्राधिकरणले प्राथमिकतामा राखेर अघि सारेको करिडरको काम सुरुवाती समय देखिने सुस्त भएकाले जलविद्युत् आयोजना निर्माणको काम प्रभावित भएको हो। करिडोरको काम समयमा नसकिँदा यस क्षेत्रमा उत्पादन नहुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न समस्या हुने भएकाले आयोजनाको काम पनि सुस्त भएको लगानीकर्ताले बताएका छन्।

    स्रोत:अन्नपूर्ण पोस्ट