ठूला परियोजनालाई अब नेपाली सिमेन्ट

1527

 माघ ६, २०७६

सरकारले सिमेन्टको गुणस्तरसम्बन्धी लामो विवादको अन्त्य गर्दै नयाँ गुणस्तर मापदण्ड निर्धारण गरेको छ । गुणस्तर परिषद्को बैठकले ४३ र ५३ ग्रेडको सिमेन्टको नेपाल गुणस्तर स्वीकृत गर्ने निर्णय गरेको हो । नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार हाल प्रयोजनमा रहेको ३३ ग्रेडकोलाई यथावत राख्दै उच्च गुणस्तरको दुई ग्रेडको सिमेन्टको नेपाल मापदण्ड निर्धारण गरिएको छ । ४३ ग्रेडको ओपीसी सिमेन्ट सामान्यतया व्यक्तिगत घर बनाउन प्रयोग हुन्छ भने ५३ ग्रेडका सिमेन्ट भने पुल, ठूला बिल्डिङ र जलविद्युत् आयोजनामा बढी प्रयोग गर्ने गरिन्छ ।

उद्योग, वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामागत शुक्रबार बसेको परिषद्को १०२ औं बैठकले प्राविधिक समितिबाट सिफरिस गुणस्तर अनुमोदन गरेको विभागले जनाएको छ । नेपालमा विदेशीले निर्माण गर्ने ठूलो आयोजनाहरूमा यी ग्रेडका सिमेन्टको माग अत्यधिक हुनेको छ । नेपालमा ग्रेड र गुणस्तर नतोकिँदा भारतबाट यस्ताखाले सिमेन्ट आयात हुँदै आएको थियो । अब नेपालमै ‘स्ट्रेन्थ’ बढी भएको सिमेन्टको गुणस्तर निर्धारण भएकाले ठूला आयोजनालाई सहज भएको छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले स्वदेशी उद्योग प्रवद्र्धनमा सरकारको निर्णयले सकारात्मक प्रभाव पार्ने बताएका छन् । नयाँ गुणस्तर निर्धारणले पाँच वर्षदेखि सरकारलाई गर्दै आएको गुनासोसमेत समाधान भएको उनको भनाइ छ । यद्यपि केही कसिला प्रावधान रहेको र खुकुलो बनाउनसके सिमेन्ट उद्योगलाई राहत पुग्ने उनको भनाइ छ । “हाम्रो पाँच वर्षदेखिको माग पूरा भएको छ,” अध्यक्ष थापाले भने । नेपाली सिमेन्टको गुणस्तर भारतीय सिमेन्टको गुणस्तरसँग मिल्ने गरी निर्धारण गर्न आफूहरूले माग गरे पनि अहिलेको प्रावधान भारतको भन्दा कसिलो भएको उनको गुनासो छ ।नयाँ मापदण्डले उत्पादन लागत बढ्नसक्ने उनले गुनासो गरे ।

व्यवसायीहरूका अनुसार हालविभिन्न उद्योगले यही गुणस्तरको सिमेन्ट उत्पादन गरेपनि कानुनी मान्यता नपाउँदा ग्रेड लेख्न पाएका थिएनन्। जसका कारण ठूला निर्माण आयोजनामा उनीहरूको सिमेन्ट खपत नै हुँदैनथ्यो भने भारतबाट आयात गर्नुपर्ने बाध्यता थियो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार ओपिसी सिमेन्टमा ३३ ग्रेडलाई भने यथावत नै राखिएको छ । नयाँ मापदण्डअनुसार ४३ र ५३ ग्रेड पाउन सिमेन्ट उद्योगले फेरि गुणस्तरमा आवेदन दिनुपर्छ र उनीहरूको गुणस्तर चेकजाँच गरेपछि नयाँ ग्रेड तोकिनेछ।नयाँ ग्रेडमा जाँदा यी कम्पनीले एनएस ५७२ पाउनेछन् ।

 

स्रोत:कारोबार