विद्युत वितरणमा बाँदर, मुसा र बिरालोको अवरोध

    1349
    काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन साँझ विद्युत्को माग र आपूर्ति व्यवस्थापनको निरीक्षण गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली स्यूचाटारमा रहेको भार प्रेषण केन्द्रमा खटिएको थियो । टोलीले मुलुकभरको विद्युत आपूर्तिको अवस्था हेर्दै आगामी दिनको विद्युत माग र आपूर्तिका विषयको योजना बनाउँदै छलफल गरिरहेको थियो ।
    मुलुकभर विनाअवरोध विद्युत आपूर्ति भइरहेकाले टोलीमा रहेका प्राधिकरणका कर्मचारीले एक आपसमा बधाई दिंदै खुशी साटासाट गरिरहेका थिए । ६ बजेनै लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युत माग (पिक डिमाण्ड) भएको रेकर्ड कायम भइसकेको थियो ।
    करिब ६.२० बजेतिर कार्यकारी निर्देशक घिसिङको मोवाइलमा घण्टी बज्यो । गौरीघाटका एक ग्राहकले गुनासो गरे ‘कुलमान सर हाम्रोतिर बिजुली गयो ।’ कार्यकारी निर्देशकले तत्काल वितरण तथा ग्राहक सेवा केन्द्र बानेश्वरका प्रमुखलाई फोन गरेर भने ‘गौरीघाट क्षेत्रमा बत्ति गयो, के भएको हो ।’
    उताबाट जवाफ आयो, ‘गौरीघाट क्षेत्रमा विद्युत आपूर्ति भइरहेको पशुपति क्षेत्रको ११ केभी प्रसारण लाइनमा बाँदर झुण्डिएर तार चुँडियो, मर्मतका लागि तयारी अवस्थामा रहेको टोली खटिसकेको छ ।’
    अधिकतम क्षमता (लोड)मा चलिरहेको लाइनमा बाँदर झुंडिएपछि तार चुंडिएको हो । तारको मर्मत गरी करिव २४ मिनेटमा विद्युत् सुचारु गरिएको थियो । जनावरले प्राधिकरणको प्रणालीमा जनावरले चुनौती दिएको यो मात्रै पहिलो घटना हैन ।
    गत वर्षको लक्ष्मीपूजाको दिन पनि भक्तपुरमा मुसाले सबस्टेसनमा क्षतिपुर्याएको थियो जसले गर्दा विद्युत आपूर्तिमा समस्या भएको थियो । प्राधिकरणले जब काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्यको घोषणा गर्यो त्यतिवेला पनि बानेश्वरमा मुसा र लैनचौरमा बिरालोका कारण विद्युत आपूर्तिमा समस्या उत्पन्न भएको थियो ।
    पर्वतको मोदी गाउँपालिको भोकलाङमा भने स्थानीयले रुख ढालेर विद्युत प्रसारण लाइनमा ढालिदिएका थिए । यसले गर्दा त्यस क्षेत्रमा विद्युत आपूर्तिमा अबरोध सिर्जना भएको थियो । अन्य क्षेत्रमा विनाअवरोध विद्युत् आपूर्ति भएको कार्यकारी निर्देशक घिसिङले बताए ।
    लक्ष्मीपूजामा विद्युतमा उच्च माग ११०५ मेगावाट
    यस वर्षको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) एक हजार एक सय पाँच मेगावाटमा (औद्योगिक क्षेत्र बाहेक) सीमित भएको छ । साँझ ६ बजे पिक डिमाण्ड रेकर्ड गरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । ‘यस वर्षको लक्ष्मीपूजामा एक हजार दुई सय ७० मेगावाट पुग्ने अनुमान गरेका थियौं, तर त्यसभन्दा कम पिक डिमाण्ड सीमित भएको छ,’ उनले भने । गत वर्षको लक्ष्मीपूजामा  पिक डिमाण्ड एक हजार एक सय ६५ मेगावाट थियो । प्राधिकरणका विद्युतगृहबाट चार यस ३९ मेगावाट, निजी क्षेत्रबाट तीन सय ४१ मेगावाट र भारतबाट तीन सय २५ मेगावाट विद्युत् आयात गरी आपूर्ति गरिएको थियो ।
    गर्मी सकिएको र जाडो पनि सुरु भइनसकेको, विद्युत् चोरी नियन्त्रणमा चालिएका प्रभावकारी कदम, लिड बल्ब जस्ता ऊर्जा दक्षताका विद्युतीय उपकरणको प्रयोग लगायतका कारण यस वर्ष पिक डिमाण्ड घटेको कार्यकारी निर्देशक घिसिङले बताए । ‘पिक डिमाण्ड घट्नु भनेको प्राणालीलाई एकदमै राम्रो हो, यसले ऊर्जा लागत पनि घट्छ,’ उनले भने । ‘आगामी दिनमा हिउँदको विद्युतको माग व्यवस्थापनका लागि भारतबाट कम विद्युत् आयात गरी आफ्नै उत्पादनबाट माग धान्न सक्छौं ।’