रुकुमगाड जलविद्युत् आयोजना निर्माणलाई तीव्रता

1534

०७५ मा सुरू भएको आयोजना निर्माण ०७७ पुससम्म सक्ने सम्झौता छ

रुकुमपूर्व — जिल्लामा पाँच मेगावाट क्षमताको रुकुमगाड जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिइएको छ । सिस्ने गाउँपालिका–५ देउराली ओडारनजिक विद्युत्गृह निर्माण भइरहेको छ । सिस्ने–५ चोरखोलामा बनाइएको ड्यामबाट नहर निर्माण गरेर देउराली ओडार पुर्‍याइएको छ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निर्माण गरिरहेको आयोजनामा भौतिक निर्माणका धमाधम छन् ।

आयोजनाको हेडवर्क्समा ७०, पाइपलाइनमा ७५, विद्युत्गृहमा १५, इलेक्ट्रोनिक मेकानिकलमा ४०, हाइड्रोलिक मेकानिकलमा ६०, प्रसारण लाइनमा ५० र अन्य विभिन्न काम ९० प्रतिशत सकिएको राप्ती हाइड्रोले जनाएको छ । ‘खण्डखण्डमा काम भइरहेको छ,’ राप्ती हाइड्रोका प्रतिनिधि किरणशंकर घिमिरेले भने, ‘आयोजनाको ६० प्रतिशत काम सकिएको छ ।’ फरकफरक निर्माण कम्पनीले काम गरिरहेका छन् । पाइपलाइन, विद्युत्गृह निर्माण, सामग्री खरिदलगायत काम ठेक्कामार्फत भइरहेका हुन् । राप्ती हाइड्रोले भौतिक पूर्वाधारको कामको अनुगमन गरिएको छ ।

विद्युत्गृहदेखि सबस्टेसनसम्मको ट्रान्समिटर लाइन सर्भे सकिन लागेको छ । देउराली ओडारदेखि रुकुम (पश्चिम) को मुसिकोट नगरपालिका–३ धैरेनीचौरसम्मको दूरी २० किमि छ । विद्युत् प्राधिकरणले धैरेनीचौरमा बनाउने सबस्टेसनमा रुकुमगाडको विद्युत् जडान गरिनेछ । ‘आयोजनाबाट उत्पादन हुने विद्युत् २० किमि टाढाबाट वितरण हुने हो,’ घिमिरेले भने, ‘धैरेनीचौरमा बन्ने सबस्टेसनसम्म यो विद्युत् पुग्छ । त्यहीँबाट वितरण हुन्छ ।’

विद्युत् आयोजना निर्माणपश्चात् उक्त विद्युत् कता र कसरी गर्ने भन्ने सम्पूर्ण काम विद्युत् प्राधिकरणको भएको उनको भनाइ छ । धैरेनीचौरमा विद्युत् प्राधिकरणले सबस्टेसन निर्माण गरिरहेको छ ।

रुकुमगाडबाट विद्युत् उत्पादन भएपछि बत्ती नपुगेका ठाउँमा मात्रै विद्युत् विस्तार गर्दा झन्डै साढे ४ मेगावाट विद्युत् जिल्लाबाहिर बिक्री हुने सम्भावना छ । उक्त आयोजना निर्माण सक्नुपर्ने समयावधि दुई वर्षको हो । ०७५ मा सुरु भएको आयोजना निर्माण ०७७ को पुससम्म पूरा गर्ने सम्झौता छ ।
स्रोत:कान्तिपुर