ढल्केबर सबस्टेसनको क्षमता बढ्यो

2179
DCIM100MEDIADJI_0024.JPG

२१ पुस २०७७

काठमाडौँ:धनुषामा रहेको देशकै ठूलो ढल्केबर सबस्टेसनको थप क्षमता बढाइएको छ। नेपाल विद्युत् प्राधिकरणले सरकारको लगानीमा ग्रिड सबस्टेसन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा २२०/१३२, ३१५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर थप गरेको हो।  प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेसनमा जडान गरिएको ३१५ एमभिएको थप पावर ट्रान्सफर्मरको आइतबार राति साढे १० बजे चार्ज गरिएको जानकारी दिए।

अहिले ढल्केबर सबस्टेसनमा २२०/१३२ केभीका दुईवटा ट्रान्सफर्मर सञ्चालनमा छन्। जसको क्षमता ३२० एमभिए छ। अब सबस्टेसनको क्षमता ६३५ एमभिए पुगेको छ। ग्रिड सबस्टेसन क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ढल्केबरमा जडान गरिएका ३१५ एमभिएका दुईवटा ट्रान्सफर्मरमध्ये एउटा चार्ज गरिएको हो। अर्को ट्रान्सफर्मरको जडान भइरहेको छ।

‘३१५ एमभिएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करिब एक सय मेगावाट बिजुली आयात गर्न सकिन्छ भने ४५६ मेगावाटको माथिल्लो तामाकोसीले उत्पादन गर्न थालेपछि आन्तरिक रूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्न पूर्वाधार तयार भएको छ,’ शाक्यले भने।

केही महिनाअघि सञ्चालनमा आएको ४००/२२० केभी ढल्केबर सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन वटा गरी ९४५ एमभिए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब नौ सय मेगावाट विद्युत् प्रसारण गर्न सक्छन्। प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख दीर्घायु कुमार श्रेष्ठले अब आवश्यक परेमा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौता अनुसार थप करिब एक सय मेगावाट विद्युत् आयात गर्न सकिनेछ।

‘अहिले हाम्रो संरचनाले नधान्ने हुँदा त्यहाँबाट करिब २७० देखि २८० मेगावाट विद्युत् आयात भइरहेको थियो, भारतीय पक्षले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत थप एक सय मेगावाट विद्युत् दिन सकिने बताएको छ, अब ३१५ एमभिएको ट्रान्सफर्मर चार्ज भएकाले आवश्यक परेमा थप विद्युत् ल्याउन सकिन्छ,’ श्रेष्ठले भने।

 

 स्रोत: नागरिक दैनिक