अपिले ७५ मेगावाटको त्रिशुली गल्छीमा सेयर लगानी गर्ने

    1276
    सिद्वकाली पावरले पहिचान गरी विकास गरेको ७५ मेगावाट क्षमताको त्रिशुली गल्छीजलविद्युत आयोजनामा अपि पावरले ८० प्रतिशत सेयर लगानी गर्ने भएको छ।
    आयोजना निर्माण सम्पन्न गर्ने बारेमा दुबै कम्पनीका संचालकहरुको छलफल भई यस्तो सहमति भएको हो। ७५ मेगावाट क्षमताको यस परियोजनाको कुल लागत १४ अर्ब ४० करोड हुने र यसमा शेयरधनीहरुको लगानी  ४ अर्ब ३२ करोड हुने अनुमान छ। आयोजनाका निर्माणको लागि लक्ष्मी बैंकको अगुवाईमा सह वित्तीयकरण अन्तर्गत  कर्जा प्रवाह गर्न सहमति प्राप्त भएको छ। परियोजनाको विस्तृत डिजाईनको काम डिजाईन ग्रुप अफ इन्डियाबाट सम्पन्न भईसकेको छ ।
    कम्पनीले हकप्रद शेयर जारी गरी उठाएको शेयर पुँजीबाट नुवाकोट जिल्लामा त्रिशुली गल्छी ७५ मेगावाट जलविद्युत आयोजना निर्माणका लागि प्रयोग गरिने बताएको छ। १ बराबर २ को हकप्रद सेयर दिने निर्णयलाई बैठकले पारित गरेको छ। हालका सेयर लगानीकर्ताले यो हकप्रद सेयर किन्न सक्ने छन्।
    ट्रेड टावर नेपाल थापाथलीमा बसेको  कम्पनीको नियमित साधारणसभाले कम्पनीलाई अझ द्रुत गतिमा अघि बढाउनको लागि नयाँ नयाँ आयोजनाहरु विकास तथा निर्माण गर्ने निर्णय गरेको छ। अबको ५ बर्ष भित्र नेपालको एक ठूलो जलविद्युत विकास कम्पनी बनाउने उद्येश्यका साथ कार्य भइरहेको सो अवसरमा जानकारी दिइयो।
    कम्पनीको आर्थिक बर्ष २०७२/०७३ को वित्तीय प्रक्षेपणका आधारमा कम्पनीले चालु आर्थिक बर्षमा १२ करोड खुद मुनाफा आर्जन गर्ने प्रक्षेपण गरिएको छ। कम्पनीको अधिकृत पूँजी १ अर्ब २५ करोड, जारी पूँजी  १ अर्ब र चूक्ता पूँजी १ अर्ब रहेको छ। कम्पनीले १ अर्ब ४३ करोडको लगानी बाट दार्चुला ८.५ मेगावाट क्षमताको नौगड साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी भदौ १ गते देखि व्यवसयिक उत्पादन गरिसकेको छ।
    कम्पनीले व्यवसाय विस्तार गर्दै जाने उद्देश्य अनुसार दार्चुला जिल्लामा बहने नौगड गाढ खोलामा ८ मेगावाट क्षमताको माथिल्लो नौगढ गाड साना जलविद्युत आयोजना निर्माणका लागि अनुमतिपत्र प्राप्त गरि कार्य शुरु गर्ने जनाएको छ।
    यो आयोजना हालको नौगड गाढ आयोजना भन्दा करिव ६ किलोमिटर माथि सोहि नदिमा अवस्थित छ । माथिल्लो नौगाड जलविद्युत आयोजनाको निर्माणको कुल लागत १ अर्ब ४३ करोड हुने अनुमान छ । यो आयोजना २०७३ साल जेष्ठ १ गते सुरु गरी २०७४ साल कातिक १ गते देखी विद्युत उत्पादन सुरु गर्ने लक्ष्यका साथ अघि बढेको बताइएको छ। यस आयोजना निर्माणका लागि बैंकहरुबाट १ अर्ब ऋण लिईने तथा बाँकी रकम ४३ करोड शेयरधनीहरुले पहिले लगानी गरेको रकमबाट लगानी हुने बताइएको छ।
    कम्पनीले दार्चुला जिल्लाको चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माणका लागी अनुमतिपत्र प्राप्त गरि काम गरिरहेको छ। अपर चमेलिया जलविद्युत आयोजनाको निर्माणको कुल लागत ७ अर्ब २० करोड हुने अनुमान छ।
    यस कम्पनीले हाईड्रोमेकानिकल सम्बन्धि काम गर्नको लागी अपि हाईड्रोमेकानिकल कम्पनीको बहुुमत शेयर खरिद गरेर संचालन गरिरहेको छ। यस अपि हाईड्रोमेकानिकल कम्पनीले पनि यस आर्थिक बर्ष देखि मुनाफा उपलब्ध गराउने बताइएको छ। हाल यस अपि हाईड्रोमेकानिकल कम्पनीले २५ मे.वा क्षमताको अरुण कावेली र ९.९ मेगावाट क्षमताको रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लि.को सम्पूर्ण हाईड्रोमेकानिकल सम्बन्धि कार्य गरिरहेको छ ।
    कम्पनीले यहि आर्थिक बर्षबाट नियमित रुपमा कम्तिमा १० प्रतिशत लाभांश उपलब्ध गराउने जानकारी समेत गराएको छ।