२५ मेगावाटको सोलार प्लान्ट अलपत्र

2190

२६ कार्तिक, २०७६

काठमाडौं – सरकारले नुवाकोटमा बनाउने भनेको २५ मेगावाट क्षमताको सोलार प्लान्ट सम्पन्न गर्ने भनी लक्ष्य राखेको भन्दा दोब्बर समय बित्न लाग्दा पनि बनाउने सुरसार छैन।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तामझामसहित २०७५ वैशाख १४ मा  सोलार प्लान्ट शिलान्यास गरेका थिए। यसलाई नौ महिनामा सक्ने लक्ष्य राखिएको थियो। २५ मेगावाटको डेभलपमेन्ट अफ ग्रिड सोलार फार्म नुवाकोटको निर्माणको गति भने अत्यन्तै सुस्त छ।

शिलान्यास भएको १९ महिना बित्दासमेत बिजुली उत्पादनको सुरसार छैन। निर्माण सम्पन्न नभएको मात्र होइन आयोजनाको साइट क्लियर समेत हुन सकेको छैन। ग्रिड सोलार एन्ड इनर्जी इफिसियन्सी प्रोजेक्ट कोअर्डिनेटर नुतनदेव भट्टराईले मुद्दा–मामिला र समयमै साइट क्लियर हुन नसक्दा यो सोलार प्लान्टको निर्माण समयमा सम्पन्न हुन नसकेको बताउँछन्।

‘मुद्दा–मामिला र समयमा नै साइट क्लियर हुन नसक्दा आयोजना लम्बियो,’ उनले भने, ‘करिब सय रोपनी क्षेत्रफलको अझै साइट क्लियर हुन बाँकी छ।’ आयोजनाका अनुसार अहिलेसम्म १० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। सन् २०१७ मा उक्त आयोजनाको ठेक्का राइजिन इनर्फीले पाएको थियो।

आयोजना नौ महिनामा सम्पन्न भइसक्नुपर्नेमा १९ महिना बित्दा साइट क्लियर पनि भएको छैन।

कोर्डिनेटर भट्टराईले ठेकेदार कम्पनीको आलटाल र प्राविधिक समस्या लगायत कारणले आयोजनाले अपेक्षाकृत रुपमा गति लिन नसकेको बताउँछन्।‘अहिले आयोजनाको क्वार्टर लगायत संरचना तयार भइसक्यो,’ उनले भने,‘अबको एक वर्षभित्र २५ मेगावाटको सोलार प्लान्ट निर्माण सम्पन्न गर्ने लक्ष्यसहित धमाधम काम हुनेछ।’

उनका अनुसार करिब ६ महिनाभन्दा धेरै मुद्दा–ममिलामै गुज्रिएको थियो। एक मेगावाट सोलार प्लान्टको लागि डेढ हेक्टर जग्गा आवश्यक पर्छ। त्यसैले आयोजनाले करिब ४० हेक्टर जमिन आवश्यक पर्छ।  कोअर्डिनेटर भट्टराईले २५ मेगावाटको सोलार प्लान्ट निर्माण भएसँगै नेपालको बिजुलीमा विविधता भित्रिने दाबी गरे।‘अहिले अधिंकाश जलविद्युत्मा मात्रै आधारित छन्। सौर्य ऊर्जाले बिजुलीमा नयाँ विविधता मात्रै थप्दैन, दिउँसोको समयमा बिजुलीको लोड व्यवस्थापनमा पनि उत्तिकै सहयोग पु¥याउनेछ।’

सौर्य प्लान्ट सञ्चालनमा आएसँगै अर्धजलाशययुक्त आयोजनाको जलविद्युत् आयोजनामा पानी संकलन गरेर पिक आवरमा उत्पादन गर्न सकिनेछ। विश्वबैंकको ३८ मिलियन अमेरिकन डलर सहुलियत ऋणमा निर्माण गर्न लागिएको आयोजना कछुवा गतिमा छ। समयमा साइट क्लियर हुन नसक्दा आयोजनाको काममा ढिलासुस्ती भएको बताए।

यो आयोजना इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्सट्रक्सन(इपिसी) मोडलमा निर्माण गर्न लागिएको थियो। आयोजना प्रमुख विकास रघुवंशीले सोलार प्लान्टको डिजाइन र स्वीकृतिमा ढिलासुस्ती भएकाले निर्माणले गति लिन नसकेको बताए।‘सोलार प्लान्ट इपिसी मोडेलमा ठेक्का दिएका थियौं,’ उनले भने,‘ठेकेदार कम्पनीले समयमै डिजाइन तयार पार्न नसक्दा केही समय अलपत्र जस्तो भयो।’

आयोजना प्रमुख रघुवंशीले आयोजनाको ६ मध्ये तीनवटा साइट क्लियर भइसकेको दाबी गरे।‘आयोजनाले गति लिन थालेको छ,’ उनले भने,‘अहिले सोलारको माउन्टिङ संरचना बनाउने काम भइरहेको छ।’

 

स्रोत:नागरिक