समयमै काम सक्न ऊर्जा मन्त्रालयको निर्देशन

    1441

    यो वर्ष २ आयोजना सकिँदै

    समयमै काम सक्न ऊर्जा मन्त्रालयको निर्देशन

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण तथा प्राधिकरणअन्तर्गतका कम्पनीहरूबाट निर्माणाधीन जलविद्युत् आयोजनाहरूलाई समयमै काम सम्पन्न गर्न ऊर्जा मन्त्रालयले निर्देशन दिएको छ । सम्बन्धित आयोजनाका

    प्रमुखहरूसँगको भेटको क्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले यस्तो निर्देशन दिएका हुन् ।

     

    जलविद्युत् आयोजनाहरूको पछिल्लो अवस्थाबारे जानकारी लिन मन्त्रालयले आयोजना गरेको बैठकमा ऊर्जामन्त्री शाहीले जलविद्युत् आयोजनाहरूमा देखिएका समस्याबारे आफू गम्भीर रहेको बताए । ‘तोकिएकै समयमा काम सम्पन्न गर्न म, मेरो तर्फबाट पनि पहल गर्नेछु,’ उनले भने, ‘समयमै आयोजनाहरू सम्पन्न भए मागअनुसारको विद्युत् आपूर्ति गर्न सकिनेछ ।’

    नेपाल विद्युत् प्राधिकरण तथा प्राधिकरणअन्तर्गतका ११ ओटा जलविद्युत् आयोजनाका प्रमुखसँग आयोजनाहरूको प्रगति विवरणबारे मन्त्री शाहीले जानकारी लिएका थिए । बैठकमा सम्बन्धित आयोजनाका प्रमुखहरूले वनको जग्गा प्राप्ति, स्थानीय जनताको मुआब्जा वितरणका साथै ठेकेदारबाट देखिएका समस्या प्रस्तुत गरेका थिए ।

    माथिल्लो तामाकोशी, चमेलिया, कुलेखानी तेस्रो, रहुघाट, माथिल्लो त्रिशूली थ्री ए, चिलिमेअन्तर्गतका तल्लो साञ्जेन, माथिल्लो सञ्जेन, रसुवागढी र मध्यभोटेकोशीका साथै तनहुँ जलविद्युत् आयोजना र माथिल्लो त्रिशूली थ्री बी सरकारी लगानीमा निर्माण हुने आयोजनाहरू हुन् ।

    ती आयोजनाहरूबाट कुल १ हजार ३९ दशमलव ३ मेगावाट विद्युत् उत्पादन हुनेछ । तर, आयोजनाहरूको हालको अवस्थाअनुसार चमेलिया (३० मेवा) र कुलेखानी (१४ मेवा) मात्रै यो वर्षभित्र उत्पादनमा जानेछन् । माथिल्लो तामाकोशी (४५६ मेवा) र माथिल्लो त्रिशूली थ्री ए आगामी डेढ वर्षमा उत्पादनमा जाने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । यीबाहेक चिलिमेका सहायक कम्पनीहरूमार्पmत् अघि बढाइएका तल्लो साञ्जेन, माथिल्लो सञ्जेन, रसुवागढी र मध्यभोटेकोशी साथै रहुघाटका टेण्डर फाइनल हुने क्रममै छन् । त्यसैगरी १२ वर्षमा निर्माण सम्पन्न गर्ने तय भएको तनहुँ हाइड्रोको काम शुरू भएको भर्खर २ वर्ष हुँदै छ ।

    दुर्गा लामिछाने

    स्रोत:अभियान