लघु जलविद्युत् बन्द

    2119

    बैतडी । आर्थिक अभावमा शिवलिङ्ग र चौखाम गाविसमा रहेका चारवटा लघु जलविद्युत् बन्द हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् ।

    शिवलिङ्गका तीनवटा र चौखामको एउटा लघुजलविद्यु्त परियोजना सञ्चालनमा आएको केही समयपछि बन्द भएपछि हालसम्म सञ्चालनमा आउन नसकेको स्थानीयवासी मुकेश रावलले जानकारी दिए ।

    लघु जलविद्युत् निर्माण भई सञ्चालनमा आएपछि केही समय विद्युत् उपभोग गर्न पाएर खुसी भएका नागरिकले फेरि अध्यारोमै बस्नुपरेको छ । शिवलिङ्गमा रहेका १८ किलोवाट क्षमताका नुवाघर, नेउलाली र लुफुड लघु जलविद्युत् परियोजना बन्द छन् । नुवाघर लघु जलविद्युत् परियोजना गत वर्ष बन्द भएको थियो भने अन्य दुई परियोजना २०६५ सालमा बन्द भएका थिए । यस्तै चौखाममा रहेको चौखाम लघु जलविद्युत् परियोजना पनि २०६५ सालदेखि बन्द रहेको रावलले बताए । रासस