रिडीको हकप्रद शेयर आउँदै

    1314

    इवाखोला आयोजनामा लगानी गर्ने

    रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले ३५ प्रतिशत हकप्रद (११ लाख ५५ हजार कित्ता) निष्कासन गर्ने भएको छ । कम्पनीको समग्र वित्तीय अवस्थाको आधारमा दिइने रेटिङले उक्त हकप्रद शेयरको अवस्था आधारभूत पक्षभन्दा कमजोर रहेको देखाउँछ ।

    २ दशमलव ४ मेगावाट क्षमताको यो रिडी हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र प्राधिकरणबीच भएको पावर लोड फ्याक्टर कम्तीमा ७५ प्रतिशत हुनुपर्नेमा ४ वर्षयता ६४ प्रतिशत मात्रै भएको देखिन्छ । कम्पनीले ९ दशमलव ९ मेगावाटको इवाखोला जलविद्युत्मा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो आयोजना जुलाई २०१८ बाट व्यावसायिक रूपमा सञ्चालनमा आउनेछ । तर, हकप्रदबाट करीब ११ करोड उठ्ने देखिएको यो १ अर्ब ६० करोड रुपैयाँको आयोजनाका लागि बाँकी रकम जुट्न बाँकी छ । ६५ प्रतिशत कर्जा र ३५ प्रतिशत शेयर लगानीबाट बन्ने यस आयोजनाको शेयर लगानीमध्ये पनि ४२ करोड रकम जुट्न बाँकी रहने देखिन्छ ।

    यसका लागि संस्थापकले थप रकम हाल्ने, रैराङ आयोजना वा इवाखोलाकै लागि भविष्यमा पुनः आईपीओ जारी गर्नेलगायत विकल्प कम्पनीले सोचेको छ । हाल रिडीको सहायक कम्पनी रैराङको माध्यमबाट यस आयोजनामा ८ करोड ५० लाख लगानी भइसकेको छ । यो आयोजनाबाट उत्पादित प्रतियुनिट विद्युत्को सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसा र वर्षाका लागि ४ रुपैयाँ ८० पैसा विक्रीदर तोकिएको छ । यो दर ५ वर्षसम्म वार्षिक ३ प्रतिशतको दरले वृद्धि हुने सम्झौता भएको हो । काबेली सब–स्टेशनमा जडान गरेर विद्युत् विक्री गर्ने लक्ष्य राखिएकोमा त्यससम्मको केही भागमा प्रसारण लाइन निर्माण गर्न बाँकी छ । इक्रा नेपालले रकम सङ्कलन कम्पनीको चुनौतीको रूपमा लिएको छ ।

    २००३ सालमा पहिलोपटक विद्युत् उत्पादन गरेको यसका समूह कम्पनीहरूको कुल १४ दशमलव ४ मेगावट विद्युत् क्षमता रहेको छ ।

    कम्पनीले २०१५ जुलाईसम्ममा रू. ५७ करोड ४७ लाख विद्युत् विक्रीबाट उठाएको छ भने रू. ४५ करोड ७२ लाख नाफा आर्जन गरेको छ । कम्पनीले औसत १० प्रतिशत दर लाभांश दिँदै आएको छ । २०१५ जुलाईको तथ्याङ्कअनुसार बैङ्कहरूको सह–वित्तीयकरणबाट लिएको करीब रू. १२ करोड ४० लाख कम्पनीले तिर्न बाँकी रहेको छ ।

    @अभियान