रघुगङ्गा जलविद्युत्को निर्माण पुनः सुरू

    1107

    बेनी (म्याग्दी), असार ७ गते । म्याग्दीमा निर्माणाधीन रघुगङ्गा जलविद्युत् आयोजना चार वर्षपछि पुनः सुरु भएको छ । यसअघि छनोट भएको भारतको आईभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना निर्माण गर्न लागिएको हो ।

    नेपाल विद्युत् प्राधिकरणको शत प्रतिशत लगानी रहेको रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको ४० मेगावाट क्षमताको आयोजना निर्माणको ठेक्का सम्झौता भएको छ महिनापछि ठेकेदारले काम सुरु गरेको हो । छ अर्ब रुपियाँ ठेक्का सम्झौता गरेको भारतीय कम्पनी जेपी एसोसिएट्सले कार्यक्षेत्रमा प्रारम्भिक चरणको नक्साङ्कनको काम सुरु गरेको कम्पनीका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताउनुभयो ।

    ऋण लगानीकर्ता भारतीय एक्जिम बैङ्कले ठेक्का सम्झौताको स्वीकृति दिएको जेठ १० गतेको भोलिपल्ट नै हामीले ठेकेदारलाई नोटिस टु प्रोग्रेस लेटर दिएका थियौँ, पाण्डेले भन्नुभयो । ठेकेदार कम्पनीले डिजाइन र व्यवस्थापनको काम सुरु गरेको छ ।

    सिभिल ठेकेदारले बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाउने जनाएको छ । कम्पनीका अनुसार दोस्रो चरणमा इलेक्ट्रीमेकानिक ठेक्काको प्रक्रियासमेत अघि बढेको छ । आगामी ३९ महिनामा आयोजना सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ ।

    २०७४ मङ्सिर ५ गते भएको ठेक्का सम्झौताको स्वीकृतिका लागि एक्जिम बैङ्कले छ महिना लगाउँदा ढिलाइ भएको हो । बैङ्कको ४४ करोड डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणा अनुसार निर्माण हुन लागेको प्रबन्ध सञ्चालक पाण्डेले बताउनुभयो ।

    आयोजना निर्माणको चरणमा प्रवेश गरेपछि सर्वसाधारण र स्थानीय बासिन्दाले लगानीको अवसर पाउनेछन् । इन्जिनियरिङ प्रोक्युमेन्ट एन्ड कन्स्ट्रयाक्ट (ईपीसी) प्रारुपमा निर्माण आयोजना निर्माण हुन लागेको हो ।

    यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि आठ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको छ । आरभीआरसीएलसँग सम्झौता भएको आयोजना सात वर्षपछि पुनः ठेक्का लगाई निर्माण सुरु हुन लागेको हो ।

    कार्य तालिका र सम्झौता अनुसार आयोजना सन् २०७० सालमा सकिनुपर्ने थियो । यो आयोजना नदीको बहावमा आधारित छ । यसको सम्भाव्यताको अध्ययन सन् १९९८ मा भई सन् २००८ मा अद्याविधक गरेको थियो । आयोजनाका लागि आवश्यक दुई सय ८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । आयोजना म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, झी र दग्नाममा पर्छ । झी र दग्नामको सीमामा बाँध रहेको आयोजनाको विद्युत् गृह पिप्लेको तिल्केनी चौरमा रहने जनाइएको छ । आईभीआरसीएलले प्रारम्भिक चरणको कामसमेत अघि बढाउन नसकेर अलपत्र पारेको थियो ।

    ठाकुरप्रसाद आचार्य
    स्रोत:गोर्खापत्र