मोदीखोलाबाट मात्र १ सय ५२ मेवा बिजुली उत्पादन हुँदै

    1904

    ऊर्जा नदीका रूपमा चिनिएको मोदीखोलामा मात्रै आठओटा जलविद्युत् आयोजना बन्ने भएका छन् । उक्त खोलाका सबै आयोजना निर्माण सम्पन्न भएपछि मोदीखोलाबाट मात्र १ सय ५२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ । हालै मात्र तल्लो मोदीखोला २ निर्माणका लागि ११ करोडको शेयर निष्कासनको तयारी गरिएको छ । तल्लो मोदी २ मा असोजको पहिलो साताभित्रै शेयर खुला गरिने स्थानीय निर्देशक उपेन्द्र गौतमले बताए ।

    २०६९ असोजदेखि उत्पादन शुरू गरेको युनाइटेड मोदीले सोही आयोजनानजिकै अर्को आयोजना शुरू गर्न लागेको हो । योसहित मोदीखोलामा मात्रै पाँचओटा जलविद्युत् हुने भएका छन् । मोदीक्षेत्रमा भने सरकारी र निजी लगानी गरी आठओटा जलविद्युत् आयोजना हुने भएका छन् । अहिले युनाइटेड मोदीकै तल्लो मोदी १ र नेपाल विद्युत् प्राधिकरणको मोदीखोला जलविद्युत् आयोजनाले उत्पादन दिइरहेका छन् । तल्लो मोदी १० र मोदीखोला १४ मेगावाटका हुन् । मनाङ ट्रेड लिङ्कले निर्माण गरिरहेको २० मेगावाटको तल्लो मोदीले यसै वर्षभित्र उत्पादन दिने गरी काम गरिरहेको छ । त्यस्तै, चौधरी गु्रपले १५ मेगावाटको मध्यमोदी आयोजना पनि निर्माण गरिरहेको छ । सुपर मोदी र अपर मोदी गरी अरू दुई आयोजना पनि निर्माणको तयारीमा रहेको निर्माणाधीन मध्यमोदी आयोजनाका लेखाअधिकृत कृष्ण रिमालले बताए । सबै आयोजना बन्दा मोदीको पर्वतक्षेत्रमा पर्ने १७ किलोमिटर दूरीमा सातओटा जलविद्युत् निर्माण हुनेछन् ।

    मोदीखोलामा कास्कीसमेत जोड्दा २० किलोमिटरको क्षेत्रमा आठओटा जलविद्युत् निर्माण हुनेछन् । आठओटा स्वीकृत आयोजनामध्ये दुई सञ्चालनमा र दुईओटा निर्माणाधीन अवस्थामा छन् । हालसम्म लाइसेन्सप्राप्तमध्ये कोरियाको के वाटर र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण हुने ४२ मेगावाटको मोदी–ए र २० दशमलव ५ मेगावाट क्षमताको मोदी रहेका छन् । त्यस्तै, २० मेगावाटकै अपर मोदी–१, १५ मेगावाटको मध्यमोदी, चालू अवस्थामा रहेको १४ मेगावाटको मोदीखोला, निर्माणाधीन २० मेगावाटको तल्लो मोदी, चालू अवस्थाको १० मेगावाटको तल्लोमोदी–१  र १० मेगावाटकै तल्लो मोदी–२ रहेका छन् ।

    हालसम्म निर्माण भएकामध्ये नेपाल विद्युत् प्राधिकरणको आफ्नै लगानीमा बनेको १४ मेगावाटको मोदीखोला जलविद्युत् आयोजना र निजी लगानीमा बनेको १० मेगावाटको तल्लो मोदीखोला १ बाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । निर्माण कार्य द्रुत गतिमा अघि बढ्न नसक्दा समयमा आयोजना पूरा हुन सकेका छैनन् । निर्माणाधीन अवस्थामा रहेको मनाङ ट्रेडलिङ्कको तल्लो मोदीखोला चालू वर्षमा सकिने बताइएको छ ।

    तल्लो मोदीखोला गतआवमा सक्ने लक्ष्य भए पनि विभिन्न समस्याका कारण चालू आवमा सकिनेछ । त्यसैगरी, चौधरी ग्रूपको लगानी रहेको १५ मेगावाटको मध्यमोदीको निर्माण कार्य २ वर्षमा ५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । त्यस्तै, सुपर मोदीलगायतका अन्य आयोजनाको काम शुरू हुन सकेको छैन । आठओटै आयोजनाका लागि करीब २८ अर्ब रुपैयाँ लगानी हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको करीब २ अर्ब लगानीमा निर्माण भएको मोदीखोला आयोजना, निजीक्षेत्रको युनाइटेड मोदीको १ अर्ब १२ करोड तल्लो मोदीखोला–१ र मनाङ ट्रेड लिङ्कको ३ अर्ब ५१ करोड रुपैयाँको लगानीमा तल्लो मोदीखोला रहेका छन् । त्यसैगरी, चौधरी गू्रपको ३ अर्ब लगानीमा निर्माण हुने मध्यमोदी, कोरियन र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण हुने मोदी–ए र मोदीमा गरी १२ अर्ब लगानी हुने भएको छ । त्यसैगरी करीब रू. ३ अर्बको लागानीमा निर्माण हुने अपर मोदी पनि निकट भविष्यमै शुरू हुँदै छ ।

    सडकको पहुँच र पर्याप्त उचाइ भएकाले मोदीखोलामा धेरै लगानीकर्ता आकर्षित भएका छन् । उच्च बहाव भएकाले मोदीमा विद्युत् उत्पादन गर्न कम खर्चिलो हुने लगानीकर्ताहरू बताउँछन् ।

    तल्लो मोदी २ मा शेयर निष्कासनको तयारी
    युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले तल्लो मोदीखोला २ निर्माणको तयारी गरेको छ । उक्त आयोजना निर्माणका लागि कम्पनीले साढे ११ करोड रूपैयाँको शेयर निष्कासन गर्न एनआईबीएल बैङ्कलाई पत्राचार गरिसकेको कम्पनीका स्थानीय निर्देशक उपेन्द्र गौतमले बताए । आयोजनाका लागि असोजको पहिलो सातादेखि सर्वसाधारणका लागि शेयर खुला गरिने उनको भनाइ छ ।

    स्रोत : अभियान