माथिल्लो माई जलविद्युत् सुरुङ निर्माण पूरा

    2531

    इलाम, आश्विन ३० –
    upper_mai_valleyउत्तरी माबु र माइमझुवामा सञ्चालित माथिल्लो माई जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ । माइभ्याली हाइड्रो पावर प्रालिले निर्माण थालेको ९ दशमलव ९८ मेघावाट क्षमताको आयोजनाको झन्डै ५० प्रतिशत काम सकिएको छ ।

    डेढ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सुरुङमा २० करोडभन्दा बढी खर्च भएको आयोजनाले जनाएको छ । माबु गाविसमा पर्ने २ हजार ७५ मिटर लामो सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरिएको हो । ‘सुरुङ निर्माण जस्तो कठिन काम सकिएपछि अन्य निर्माणले गति लिन्छ,’ माइभ्यालीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले भने, ‘तोकिएकै मितिमा आयोजना निर्माण सक्ने प्रयासमा छौं ।’

    सुरुङ निर्माणमा नेपाली जनशक्ति रहेको हाइ हिमालयन कन्स्ट्रक्सनले काम गरेको थियो । यो कन्स्ट्रक्सनले अन्य जलविद्युत् आयोजनाको पनि सुरुङ निर्माण गरेको छ । माइमझुवाको रातेखोलादेखि माइखोलासम्मको १ सय ४८ मिटर लामो डाइभर्सन टनेल निर्माण सकिएको छ । आयोजनाले दिएको जानकारी अनुसार हेडवक्र्स र पावरहाउसको मुख्य सिभिल निर्माण जारी छ । त्यस्तै इलेक्ट्रो मेकानिकल कार्यका लागि पनि ठेक्का सम्झौता भइसकेको छ । आयोजनाको कुल लागत इस्टमेट १ अर्ब ६० करोड रहेको छ ।

    आयोजनाबाट उत्पादित विद्युत् १८ दशमलव ५ किलोमिटर टाढा गोदकमा स्टेसन रहने काबेली कोरिडोरमा जोडिने निर्देशक प्रधानले बताए । ‘गोदकसम्म पुग्ने १३२ केभी प्रसारण लाइनका लागि पनि ठेक्का सम्झौता भइसकेको छ,’ उनले भने । आयोजना प्रभावित माबु र माइमझुवामा ५० लाख रुपैयाँको लागतमा सडकलगायत पूर्वाधार विकास गरेको आयोजनाले जनाएको छ ।

    यो आयोजनाकै पानी प्रयोग गरी छिमेकी सुलुबुङ गाविसमा कम्पनीले क्यासकेट प्रोजेक्ट सञ्चालन पनि थालेको छ । यो अयोजनाका लगि ऊर्जा मन्त्रालयबाट निर्माण लाइसेन्स प्राप्त भई विद्युत् प्राधिकरणसँग खरिद-बिक्री सम्झौतासमेत भइसकेको कम्पनीले जनाएको छ । आयोजनाका लागि कम्पनीले विभिन्न बैंकसँग ऋण सम्झौता पनि गरिसकेको छ ।

    जिल्लामा प्राधिरकणको छ दशमलव दुई मेघावाट क्षमताको पुवाखोला र हिमाल दोलखाको चार दशमलव पाँच मेघावाट क्षमताको सानामाई खोला जलविद्युत् आयोजनाले उत्पादन गर्दै आएका छन् । २०७१ सम्ममा निर्माण पूरा गर्ने गरी दक्षिणी दानाबारी र चिसापानीमा सानिमा हाइड्रोले २२ र सात मेघावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ । त्यस्तै गोदकमा हिमाल दोलखाले आठ मेघावाट र पुवामझुवामा जोशी हाइड्रोपावरले तीन मेघावाट क्षमताका आयोजना निर्माण गरिरहेका छन् ।

    @कान्तिपुर