मध्य मस्र्याङ्दीको उत्पादन रोकेर माथिल्लो मस्र्याङ्दीको विद्युत् किन्ने तयारी

    1152

    निजी क्षेत्रबाट सञ्चालित माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाबाट उत्पादित विद्युत् खरिद नगरे जरिवाना तिर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले आफ्नै आयोजना मध्य मस्र्याङ्दीको उत्पादन रोकेर खरिद गर्ने भएको छ ।

    माथिल्लो मस्र्याङ्दीको विद्युत् खेर फाल्दा ८० प्रतिशत जरिवाना तिर्नुपर्ने भएपछि तत्कालका लागि मस्र्याङ्दी आयोजनाको एक युनिट बन्द गर्ने तयारी भइरहेको प्राधिकरण स्रोतले जनाएको छ । समयमै प्रशारणलाइन नबनाउँदा मस्र्याङ्दीको विद्युत् खेर जाने अवस्था सिर्जना भएको छ ।

    मध्य मस्र्याङ्दी–तल्लो मस्र्याङ्दी प्रशारणलाइनको डबल सर्किटको काम सम्पन्न नभइसकेकोले सो लाइनबाट थप प्रशारणको सम्भावना छैन । “अहिले वर्षा नसकिएकोले दुवै आयोजनाको उत्पादन कम छैन, दुवैबाट उत्पादित विद्युत्बाट थप बिजुली जान सक्ने अवस्था नभएकोले बिजुली खेर फाल्नुको विकल्प नै छैन,” प्राधिकरणका एक अधिकारीले बताए ।

    माथिल्लो मस्र्याङ्दीले सोमबारदेखि ५० मेगावाट व्यापारिक उत्पादन सुरु गर्दैछ । सो बिजुलीको लागि प्रशारणलाइन साँघुरो भएपछि विद्युत् प्राधिकरण आफ्नै बिजुली खेर पठाउने बाध्यातात्मक अवस्थामा पुगेको हो ।

    प्राधिकरणका अनुसार हाल विद्यमान १३२ केभीको मध्यमस्र्याङ्दी–तल्लो मस्र्याङ्दी प्रशारणलाइनबाट १ सय ४० मेगावाटमात्र विद्युत् प्रशारण गर्न सकिने अवस्था छ भने सो लाइनबाट ७० मेगावाटको मध्यमस्र्याङ्दी र ६९ मेगावाटको तल्लो मस्र्याङ्दीको गरी १ सय ३९ मेगावाटको बिजुली प्रशारण गरिरहेको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सिनो हाइड्रोको एउटा  युनिटबाट मात्र उत्पादन गर्न लागेकोले खेर नजाने दाबी गर्छन् । “खेर नजाने गरी व्यवस्थापन गरेका छौं, केही महिनापछि हिउँद लागेपछि त झन् समस्या हुँदैन,” उनले भने ।

    प्राधिकरण स्रोतका अनुसार मध्य मस्र्याङ्दीको एउटा युनिट बन्द गर्दा प्रतिमहिना ७ करोडको दरले घाटा हुनेछ  । प्राधिकरणले वर्षदेखि मध्य मस्र्याङ्दीदेखि तल्लो मस्र्याङ्दीसम्मको १३२ केभी सिंगल सर्किटलाई डबल बनाउने कार्य गरे पनि विगत केही समयदेखि यसको काम रोकिएको छ ।

    लमजुङ खण्डदेखि तनहुँको तुरतुरेसम्म डबल सर्किट बनाए पनि त्योभन्दा अगाडिको झण्डै २५ किलोमिटर भागमा काम रोकिएको हो । मध्यमस्र्याङ्दी डुम्रे–दमौली प्रशारणलाइन आयोजनाका प्रमुख गणेश केसीका अनुसार लमजुङदेखि तल्लो मस्र्याङ्दीसम्मको १३२ डबल सर्किट आगामी डेढ महिनामा निर्माण कार्य सकिनेछ ।

    मंसिरदेखि हिउँद सुरु हुने र मस्र्याङ्दी नदीमा पानीको बहावमा कमी भई विद्युत् उत्पादनमा समेत कमी आउने हुनाले हिउँद महिनाभरि यही सर्किटले नै धान्ने प्राधिकरणका लमजुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेको दाबी छ । उनका अनुसार हिउँदयाममा सबै आयोजनाले मुस्किलले आधामात्रै विद्युत् उत्पादन गर्ने भए पनि आगामी वर्षायाम भने निकै चुनौतीपूर्ण हुनेछ ।

    ऊर्जामन्त्रीले उद्घाटन गर्ने  

    लमजुङको भुलभुलेमा निर्माण सम्पन्न ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत् आयोजनाको उद्घाटन ऊर्जामन्त्री जर्नादन शर्माले सोमबार काठमाडौंस्थित हायात रिजेन्सी होटलमा गर्ने कार्यक्रम तय भएको छ ।

    मन्त्री शर्माले आयोजनास्थलमा रहेका कर्मचारीलाई स्विच थिच्न लगाएर आयोजनाको विधिवत् रूपमा उदघाटन गर्ने कार्यक्रम तय भएको हो ।

    मन्त्री शर्मासँग उद्घाटनका निम्ति आयोजनास्थल लमजुङको भुलभुले पुग्ने समय नभएकाले होटलबाटै फोनमार्फत स्वीच थिच्न लगाएर आयोजनाबाट उत्पादित विद्युत्को उदघाटन गर्ने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले जानकारी दिए ।

    चीनको बहुराष्ट्रिय कम्पनी सिनो र चितवन कोई समूहको सगरमाथा पावर कम्पनीले मस्र्याङ्दीबाट बिजुली निकाल्न लागेको हो । जडित क्षमता कुल ५० मेगावाट रहेको यस आयोजनाबाट २५ मेगावाट र आगामी ३ महिनापछि अर्को २५ मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ ।

    स्रोत : कारोबार