मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घट्यो, ७० मेगावाटबाट ३० मा सीमित

    1358

    फाल्गुन २, २०७३- सत्तरी मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत्बाट करिब ६० प्रतिशत विद्युत् उत्पादन घटेको छ । औसतमा ३० मेगावाटमा सीमित आयोजनाबाट साँझ–बिहानको समयबाहेक २० मेगावाटमा विद्युत् उत्पादन भइरहेको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रले जनाएको छ ।

    मर्स्याङ्दी नदीमा पानीको बहाव कम हुन थालेपछि विद्युत् उत्पादनमा पनि कमी आएको केन्द्रका प्रमुख पशुपतिराज गौतमले बताए । उनका अनुसार हाल बिहान ३ र साँझको साढे ३ घण्टा ३० मेगावाट र अन्य समय २० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । ‘बढीमा ३० मेगावाट हो । भारप्रेषण केन्द्रको निर्देशनअनुसार चल्दा घटीमा २० मेगावाटको हराहारीमा उत्पादन दिइरहेका छौं,’ उनले भने । उनका अनुसार दिउँसो र रातिको समय पानीलाई जलाशयमा ‘स्टोरेज’ गरी बिहान र बेलुकी ‘पिक आवर’ मा ३० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।

    जलविद्युत् केन्द्रका अनुसार मध्यमर्स्याङ्दीबाट वर्षायाममा ७२ मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । ५ देखि ६ महिनासम्म कम्तीमा ७० मेगावाट विद्युत् उत्पादन हुने र अन्य समय घट्ने केन्द्रप्रमुख गौतमले बताए । ‘पानी पर्‍यो भने जेठबाटै उत्पादन बढ्दै जान्छ । जेठ तेस्रो साताबाट पानी पर्ने भएकाले विद्युत् उत्पादन पनि बढदै जान्छ,’ उनले भने, ‘कात्तिक अन्तिम सातादेखि पानी घट्छ र विद्युत् उत्पादन पनि घट्ने गरेको छ ।’

    उत्पादन घटेको समयमा मर्मत
    पानीको बहाव घटेपछिको मध्यमर्स्याङ्दी जलविद्युत् परियोजनाको मर्मत थालिएको छ । दुईवटा टर्बाइन रहेकोमा युनिट १ लाई मर्मत सुरु गरिएको गौतमले बताए ।

    युनिट २ गत वर्ष मर्मत गरिएको हो । हाल विद्युत् उत्पादन युनिट २ बाट भइरहेको छ । उनका अनुसार मर्मतका लागि दुई सिफ्टमा इन्जिनियरसहित ४० जना प्राविधिक खटिएका छन् । ‘यसपटकको मर्मतअन्तर्गत टर्बाइनको रनर फेर्छौं,’ उनले भने । उनका अनुसार रनरमा पानी जाने ठाउँको ‘विकेट गेट’ को पनि मर्मत गरिनेछ । ‘रनरमा बालुवाको कणले पुर्‍याएको क्षति हेर्छौं । सकिने जति बनाउँछौं र नसकिने जतिको पाटपुर्जा फेर्छौं,’ उनले भने ।

    बुधबारदेखि सुरु युनिट १ को मर्मतकार्य फागुन १५ सम्म सक्ने र फागुन अन्तिम सातादेखि बाँध क्षेत्रको मर्मत थाल्ने बताए ।

    स्रोत:कान्तिपुर