प्राधिकरणको घाटा डेढ अर्ब मात्रै

    1574

    काठमाडौः घाटाको कारण थलिएको नेपाल विद्युत् प्राधिकरणको घाटा डेढ अर्ब रुपैयाँमा झरेको छ । आर्थिक वर्ष २०७२/७३ मा ८ खर्ब ८९ करोड रुपैयाँ बराबरको घाटा रहेको प्राधिकरणको घाटा गत आव २०७३/७४ मा १ अर्ब ५० करोडमा झरेको छ ।

    आव २०६७/०६८ मा सरकारले २७ अर्ब घाटा अपलेखन गरेपछि पनि निरन्तर घाटामा रहेको प्राधिकरणले अघिल्लो वर्षभन्दा गतवर्ष साढे सात अर्ब घाटा कम गर्न सफल भएको हो ।

     “म विद्युत् प्राधिकरणको नेतृत्वमा आएपछि प्राधिकरणलाई नाफामा लैजाने योजना बनाएको थिएँ तर नाफामा लैजान नसके पनि धेरै घाटा कम गरेर एक अर्बको हाराहारीमा झार्न सफल भएको छु,” कार्यकारी निर्देशक कुलमान घिसिङले भने, “२५ प्रतिशत तलब वृद्धि लगायतको कारण नाफामा लैजाने योजना पूरा हुन नसकेपछि नजिक भने पुगेका छौं ।”

    प्राधिकरणले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा गत साउनदेखि लागू हुने गरी वृद्धि भएको विद्युत् महशुलका कारण साढे ५ अर्ब र चुहावट न्यूनीकरणको कारण दुई अर्ब आम्दानी बढेको उल्लेख छ ।

    प्राधिकरणको आन्तरिक उत्पादनमा भएको वृद्धि, विदेशी मुद्रामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजना जुरे पहिरो र भूकम्पपछि सञ्चालन हुन नसक्दा भएको फाइदा, डलरको भाउ अघिल्लो वर्षभन्दा २/३ रुपैयाँ घट्नु, जापानी ऐन विगतभन्दा सस्तो हुनु लगायतको कारणले आम्दानी बढेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ अघिल्लो वर्ष प्राधिकरणको सञ्चालन खर्च घाटामै भए पनि यस वर्ष दुई अर्ब रुपैयाँ बराबर फाइदा भएको बताउँछन् । अघिल्लो वर्ष तीन अर्ब रुपैयाँ नोक्सामा रहेकोमा सञ्चालन खर्चमा गत वर्ष १ अर्ब ८८ करोड फाइदा भएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणको घाटा

    आर्थिक वर्ष                        घाटा
    २०६८/०६९                    ९ अर्ब ५० करोड
    २०६९/०७०                    ३ अर्ब ३७ करोड
    २०७०/०७१                    ४ अर्ब ७० करोड
    २०७१/०७२                    ६ अर्ब ५१ करोड
    २०७२/०७३                    ८ अर्ब ८९ करोड
    ०७३/०७४                     १ अर्ब ५० करोड
    स्रोतः नेपाल विद्युत् प्राधिकरण

    प्राधिकरणका अनुसार गत आवमा ५० अर्ब २ करोड आम्दानी भएको थियो भने ४ अर्ब ब्याजसहित ५२ अर्ब ४ करोड बराबर खर्च भएको थियो । विदेशी विनिमयमा अघिल्लो वर्षको तुलनामा ४९ करोड रुपैयाँ बराबर फाइदा भएको छ ।

    प्राधिकरणले विद्युत् बिक्रीबाट गत वर्ष ४७ अर्ब ६ करोड आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष भने ३५ अर्ब ७ करोड बराबर आम्दानी भएकोमा ५ अर्ब व्याजसहित ४४ अर्ब रुपैयाा बराबर खर्च भएको थियो । विद्युत् बिक्रीबाट अघिल्लो ३२ अर्ब ४७ करोड बराबर आम्दानी भएकोमा गत वर्ष झण्डै साढे १४ अर्ब बढेको छ ।

    २०६७/६८ को अपलेखनपछि अघिल्लो वर्षसम्म ३४ अर्ब घाटामा रहेको प्राधिकरण २०५७/५८ देखि निरन्तर घाटामा छ । अपलेखनपछिको पहिलो आर्थिक वर्ष २०६८/६९ मा  ९ अर्ब ५० करोड घाटामा रहेको प्राधिकरणको ११ वर्षपछि विद्युत् महशुल वृद्धिसँगै त्यो घाटा २०६९/७० मा ३ अर्ब ३७ करोडमा झरेको थियो । २०७०/७१ म ४ अर्ब ७० करोड पुगेको घाटा भने २०७१/७२ मा बढेर ६ अर्ब ५१ करोड तथा २०७२/७३ मा ८ अर्ब ८९ पुगेको थियो ।

    प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएपछि घिसिङले घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानेगरी अर्थ मन्त्रालयमा विद्युत् प्राधिकरणको दोस्रो वित्तीय पुनर्संरचना सम्बन्धी प्रतिवेदन पेश गरेका थिए ।

    प्रस्तावअनुसार मन्त्रालयले हाल ५० अर्ब सेयर पुँजी रहेको विद्युत् प्राधिकरणलाई १ खर्ब २५ अर्ब रुपैयाँ पु¥याउने, महाकाली सम्झौताअनुसार भारतले नेपाललाई वार्षिक रुपमा दिने ७ करोड युनिट बराबरको विद्युत् सरकारसँग ५.४१ पैसामा खरिद गरेकोमा यसबाापत प्राधिकरणले भुक्तानी दिन बाँकी ३ अर्बलाई सेयर पुँजीमा परिणत गर्ने लगायतका केही प्रस्ताव स्वीकृति दिएर मन्त्रिपरिषद्ले समेत पारित गरिसकेको छ ।

    स्रोत:कारोबार