पानीसँगै बगेर जान्छ ६० अर्बको बालुवा

    1131

    असोजः नेपालबाट बर्सेनि ६० अर्ब रुपैयाँभन्दा बढी मूल्यको बालुवा बगेर जाने गरेको पाइएको छ । पूर्वाधार विकासका लागि बालुवा लगायतका निर्माण सामग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिवर्ष २ अर्ब २५ करोड क्यूबिक मिटर बालुवा बग्ने गरेको एक अध्ययनले देखाएको छ । बजार मूल्यअनुसार यो परिमाणको बालुवालाई ६० अर्ब रुपैयाँ पर्दछ ।

    अध्ययनले एक लिटर पानी बग्दा सरदर २ सय ४० मिलिग्राम बालुवा बगेर जाने र नेपालबाट भारत जाने पानीको आधारमा बर्सेनि ३२ करोड ७२ लाख ७२ हजार क्यूबिक मिटर बालुवा बगेर जाने गरेको देखाएको छ ।

    “अध्ययनले वार्षिक रूपमा ६० अर्ब रुपैयाँभन्दा बढीको बालुवा नेपालबाट बगेर भारत जाने पानीसँगै बग्ने देखिएको छ,” स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले भने, “धेरै जलविद्युत् आयोजना र पानी बग्ने क्षेत्रमा सामान्य पूर्वाधारहरू बनाउने हो भने पानीसँगै बगेर जाने बालुवालाई रोक्न सकिन्छ ।”

    पानी बग्ने नदीहरूमा ग्राभेल ट्राप, कट अप ड्याम, वाल लगायतका सामान्य पूर्वाधारहरू निर्माण गर्न सकेमा बगेर जाने बालुवाहरू रोक्न सकिने उनले बताए । उनका अनुसार बगेर जाने सबै पानीको उपयोग मात्र गरे पनि २ लाख ५० हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न सकिने अवस्था छ ।

    रिभर फल्स हाइड्रोपावर कम्पनीमा कार्यरत इन्जिनियर लभमणि कोइरालाले नारायणी नदीको पानी बहाव र यसको आधारमा बगेर जाने बालुवालाई आधार मानेर तयार पारेका अध्ययनमा यस नदीबाट मात्र बर्सेनि ५० अर्ब ६६ लाख क्यूबिक मिटर र तीन मुख्य नदीबाट मात्र १ अर्ब ५२ करोड क्यूबिक मिटर पानी बगेर जाने देखाएको छ ।

    नेपालमा रहेका साना र ठूला नदी गरी ६ हजार नदी रहेको र ती नदीबाट भारततर्फ बर्सेनि बगेर जाने २ खर्ब २५ अर्ब क्यूबिक मिटर पानीबाट मात्र ५० लाख ट्रक बराबरको बालुवा खेर जाने इन्जिनियर कोइराला बताउँछन् । “एक लिटर पानी वग्दा सरदर २ सय ४० मिलिग्राम बालुवा बगेर जाने गर्छ, यसको आधारमा पनि यति धेरै ट्रक बालुवा पानीसँगै बगेर गइरहेको छ,” उनले भने, “सरकारका विभिन्न निकायहरूले गरेको अध्ययनलाई आधार मानेर पानीसँगै जाने टोटल सिडिमेन्ट्स पत्ता लगाइएको हो ।”

    तथ्यांकअनुसार नेपालबाट भारततर्फ पानीसँगै प्रतिवर्ष ५४ अर्ब किलोग्राम बालुवा वगेर जान्छ । जलविद्युत् लगायतका पूर्वाधार निर्माणका लागि बालुवा अभाव भइरहेको बेला सरकारले वातावरण बिग्रन्छ भनेर बालुवा उत्खनन गर्न नदिँदा एकातिर ६० अर्बभन्दा बढीको बालुवा बगेर गईरहेको छ भने बालुवा अभाव हुँदा विदेशबाट आयात समेत गर्नु परिरहेको छ ।

    वातावरणमा असर नगर्ने गरी उचित व्यवस्थापन गरेर बालुवा उत्खनन गर्न सकेमा भारतमा निर्यातको सम्भावना पनि देखिएको छ तर अहिले भने अभाव देखिएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि बालुवा अभाव समेत समस्याको रूपमा देखिएको छ ।

    निर्माण सामग्रीको रूपमा बालुवा व्यवस्थापनमा ठूलो समस्या भइरहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन बताउँछन् । महासंघका निवर्तमान अध्यक्ष तथा स्वच्छन्द निर्माण सेवाका संचालक जयराम लामिछाने हाल वार्षिक १७ करोड घनमिटर बालुवा खपत भइरहेको बताउँछन् । काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा भने बालुवाको मूल्य अस्वभाविक रहेको उनी बताउँछन् ।

    हाल प्रति घनफिट १ सय ५० घनफिट मूल्य हुनु नेपालको निर्माण लागत बढी हुनु नै रहेको उनको भनाइ छ । वातावरणको कारण देखाउँदै नेपालका नदीबाट बालुवा निकाल्न नदिँदा यस्तो अवस्था आएको भन्दै उनले कोशी, गण्डकी, कर्णाली र महाकालीबाट मात्र वार्षिक २ अर्ब घनमिटर बगेर जाने दावी गरे ।

    व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार, बर्सेनि भारतबाट मात्र ३ करोड रुपैयाँ बराबरको बालुवा आयात भइरहेको छ । सरकारको तथ्यांकले भारतबाट वार्षिक तीन करोड रुपैयाँभन्दा बढी बालुवा आयात भएको देखिए पनि त्योभन्दा कयौं गुणा बढी आयात भइरहको व्यवसायीहरू बताउँछन् ।

    स्रोत:कारोबार