नेपाल दक्षिण एसियाकै प्रमुख ऊर्जा निर्यातकर्ता बन्न सक्छ : प्रधानमन्त्री

    1416

    नयाँ पत्रिका

    काठमाडौं, ४ माघ

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल, भारत र चीन तथा दक्षिण एसियाकै प्रमुख ऊर्जा निर्यातकर्ता बन्न सक्ने बताएका छन् । युएईको अबुधावीमा दशौँ अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको वातावरण बनिरहेकाले लाई लगानीका लागि आह्वानसमेत गरेका छन् ।

    ‘हामीले वैदेशिक लगानीका लागि सहज नीति अवलम्बन गरेका छौँ । यसै सन्दर्भमा २०७१ मा हामीले राष्ट्रिय ऊर्जा संकट निवारण र विद्युत् विकास दशकको कार्ययोजना मनाउँदै छौँ, जसबाट सन् २०२५ सम्म १० हजार मेघावाट विद्युत् उत्पादन गरिनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसका लागि सहज नीति, निजी क्षेत्रलाई प्रोत्साहन, पुनः नवीकरणीय ऊर्जा उत्पादनमा अनुदानलगायगका नीति ल्याइएका छन् ।’

    प्रधानमन्त्री प्रचण्डले जलविद्युत् सम्भाव्यता ८३ हजार मेगावाट भनिए पनि नेपालमा ४२ हजार मेघावाट जलविद्युत् निकाल्न प्राविधिक रूपमा र आर्थिक रूपमा सम्भव देखिएको बताए । नेपालमा सौर्य ऊर्जाको सम्भावना रहेको पनि उनको भनाइ थियो । ‘नेपालमा वर्षमा औसत तीन सय दिन घाम लाग्छ । सौर्य ऊर्जाबाट हामीले वर्षमा दुई हजार नौ सय २० गिगावाट आवर बिजुली उत्पादन गर्न सक्ने सम्भावना छ,’ प्रधानमन्त्रीले भने, ‘यो दुई लाख ५१ हजार दुई सय ४३ टन तेलबराबरको ऊर्जा हो । दुई ठूला उदीयमान अर्थतन्त्रको बीचमा उभिएर नेपाल छिमेकी देश र दक्षिण एसियामा नै प्रमुख ऊर्जा निर्यातकर्ता बन्न सक्ने सम्भावना छ ।’

    प्रधानमन्त्री प्रचण्डले नेपाल लामो राजनीतिक संक्रमणकालपछि अब आर्थिक विकासको बाटोमा दु्रत गतिले अग्रसर भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘सन् २०२२ सम्म विकासशील राष्ट्र र सन् २०३० सम्म मध्यम अर्थतन्त्रको सूचीमा पर्ने योजनाअनुरूप नेपालले सन् २०३० सम्म ६ हजार मेगावाट थप विद्युत् व्यवस्था गर्नुपर्ने हुन्छ । सन् २०४० सम्म २५ हजार मेगावाट विद्युत्को आवश्यकता पर्नेछ । हाम्रा नीति यही लक्ष्यप्राप्तितर्फ केन्द्रित छन् ।’

    प्रचण्डले विद्युत् वितरण र प्रसारण क्षेत्रमा लगानी सम्भावना प्रशस्त रहेको भन्दै आगामी २ र ३ मार्चमा काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुन पनि लगानीकर्तालाई आह्वान गरे । ‘नेपालमा सस्तोमा प्रशस्त श्रम उपलब्ध छ, हामीले ऊर्जा उत्पादनका लागि अलग्गै योजना विकास सम्झौता गर्ने नीति लिएका छौँ,’ प्रधानमन्त्रीले भने, ‘एकद्वार प्रणाली र साझेदार कर्मचारीतन्त्रले गर्दा हामी दक्षिण एसियामा दोस्रो सजिलोसँग व्यापार गर्ने देशमा पर्दछौँ ।’ नेपालले ऊर्जा व्यापार सम्झौता गरेर विद्युत् भारतमा निर्यात गर्ने बाटो खोलिसकेको पनि उनको भनाइ थियो ।

    स्रोत:नयाँपत्रीका