तल्लो मोदीले असोजदेखि उत्पादन सुरु गर्ने

    1404

    पर्वतः स्वदेशी लगानीमा कुश्मा नगरपालिका– ८ परादीमा निर्माणाधीन २० मेगावाट तल्लो मोदिखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आगामी असोजभित्रै उत्पादन थाल्ने लक्ष्य रहेको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ भने अब १० प्रतिशतमात्र बाँकी छ ।

    हालसम्म बाँध, सुरुङ र इन्टेकको काम सम्पन्न भएको छ भने पावरहाउस निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । आयोजनाको सुरुङ, पावरहाउस, बाँध र इन्टेकलगायतका मुख्य काम अन्तिम चरणमा पुगेकाले आगामी असोजसम्ममा उत्पादन थाल्ने आयोजनाका प्रमुख पवनकुमार यादबले जानकारी दिए ।

    “अहिले पूर्ण क्षमतामा चौबिसै घण्टा काम भइरहेको छ,” प्रमुख यादवले भने, “अब टर्बाइन फाउन्डेसनको काम बढी छ । त्यो पनि असारभित्रै सक्ने तयारीमा छौ । मुख्य काम हुने बेला यहि हो अहिले धमाधम काम भइरहेको छ, ढिलोमा असोजभित्र केन्द्रीय प्रशारण लाइनमा विद्युत् पठाउँछौ उनले भने ।

    अहिले तीन सयभन्दा बढी कामदारले दिउँसो र राति आलोपालो काम गरिरहेको उनले बताए । आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्बासेका अनुसार गएको असोजमै उत्पादन दिने लक्ष्य रहेकामा भूकम्प र नाकाबन्दीका कारण निर्माण समय लम्बिएको हो । आयोजनाले बाँध, पावरहाउस र सुरुङको कामलाई प्राथमिकता दिएको छ । नदी सतहदेखि सुरुङसम्म पुग्ने क्षेत्रको काम सत्प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

    मोदी गाउँपालिकास्थित पातीचौरबाट सुरु भई ४ हजार २ सय मिटर लामो सुरुङ कुश्मा नगरपालिाको चुवाको परादीमा टुंगिन्छ । सुरुंगको काम पूर्ण रूपमा सम्पन्न भइसकेको र अहिले फिनिसिंग गर्ने काम भइरहेको छ । सुरुङको इन्लेट, आउटलेट, अडिट–१ र अडिट–२ गरी चार ठाउँबाट खनिएकाले सबैतिरबाट जोडिसकेको हो । “अब सुरुङभित्र र बाहिर सामान्य काममात्रै बाँकी छ,” बेल्बासेले भने ।

    “सबैतिर तीव्र गतिमा काम भएकाले अब धेरै समय लाग्दैन ।” आयोजना पूरा भएपछि वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । यसको लागत  ३ अर्ब ६० करोड रुपैयाँको अनुमान भए पनि निर्माण अवधि लम्बिएसँगै लागतमा पनि केही वृद्धि हुनसक्ने आयोजना प्रमुख यादवले बताए ।

    मोदी इनर्जी प्रालिद्वारा निर्माणाधिन उक्त आयोजनाले मोदी गाउँपालिकास्थित देउपुर र  तिलाहारमा बाँध सुरु भई ४ हजार २ सय मिटर लामो सुरुङमार्फत तिलाहार, दुर्लुङ र देउपुरहुँदै कुश्मा नगरपालिका– ८ चुवाको परादीमा पावरहाउस निर्माण गरिरहेकोछ । निर्माण सम्पन्न भएसँगै असोज महिनामा २० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा थपिने भएको छ । उक्त आयोजनाको २०६९ साउनदेखि निर्माणकार्य सुरु भएको थियो ।

    स्रोत : कारोबार