तनहुँ जलविद्युत् अयोजनाको काम २ महिनाभित्र सुरु हुने

    1166

    १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको ठेक्का सम्झौता दुई महिनाभित्र हुने भएको छ । एसियाली विकास बैंक (एडीबी) ले केही दिनभित्र ठेक्कासम्बन्धी कागजात स्वीकृत गर्ने हुँदा सम्झौता तयारी गरिएको हो ।
    दुई महिनाभित्र सम्झौता गरी आगामी मंसिरदेखि आयोजनास्थलमा काम सुरु गर्ने तयारी थालिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले बताए । “एडीबीले प्याकेज १ र २ को ठेक्कासम्बन्धी कागजात अर्थात् कम्पनी छनोटको स्वीकृत केही दिनभित्र दिन्छ,” उनले भने, “आवश्यक स्वीकृति प्राप्त हुनासाथ सम्झौता हुन्छ ।”
    कम्पनीले आयोजना आवास, आवश्यक विद्युत् व्यवस्थापनलगायत निर्माणको पूर्वतयारी पूरा गरेको छ । थिकेका अनुसार तेस्रो प्याकेज अर्थात् प्रसारणलाइन निर्माणको ठेक्काका लागि आशयपत्र माग गरिएको र असारसम्म सम्झौता हुनेछ । ३ वटै प्याकेजको काम समानान्तररूपमा गर्ने गरी तयारी भइरहेको पनि उनले बताए । नेपाल विद्युत् प्राधिकरणसँग केही दिनअघि आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) मा प्रारम्भिक हस्ताक्षर भएको छ ।
    ५ करोड रुपैयाँ बैंक ग्यारेन्टी जम्मा गरेपछि यसै साता पीपीएमा अन्तिम हस्ताक्षर हुने थिकेले जानकारी दिए । करिब ५ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजनाको विद्युत् उत्पादन गर्ने मिति (आरसीओडी) २०८० चैत मसान्त तोकिएको छ । आयोजनाबाट उत्पादित विद्युत् ३५ किलोमिटर टाढा २२० केभीको न्यू–भरतपुर सबस्टेसनमा जोडिनेछ ।
    आयोजनाका लागि हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र वर्षामा प्रतियुनिट ६.०८ रुपैयाँ दर कायम भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । वर्षामा बढी ऊर्जा उत्पादन हुने हुँदा खरिद दर कम भएको हो । सरकारले जलाशय आयोजनाको पीपीए हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र वर्षामा प्रतियुनिट ७.१० रुपैयाँ निर्धारण गरेको छ । वर्षामा कुल ऊर्जा उत्पादन ५० प्रतिशत नाघ्न नहुने प्रावधान छ । तर, आयोजनाको वर्षाको ऊर्जा ६५ प्रतिशत कायम गरिएको छ । टेक अर पे (लिउ या तिर) प्रावधानमा गरिएको पीपीएमा वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवद्धिको व्यवस्था गरिएको छ । आयोजना निर्माणमा भएको ढिलाइबारे सांसद कृष्णकुमार श्रेष्ठले व्यवस्थापिका संसद्मा आवाज उठाएका थिए ।

    कारोबार