जीएमआरले माथिल्लो कर्णालीमा वित्तीय व्यवस्थापन गर्न सकेन, थप एक वर्ष माग

    2388

    नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जीएमआरले सम्झौताअनुसार तोकिएको अवधिभित्र वित्तीय व्यवस्थापन गर्न नसकेपछि एक वर्ष थप समय माग गरेको छ ।

    सम्झौताअनुसार अबको दुई सातापछि वित्तीय व्यवस्थापनको म्याद सकिँदैछ । ०७१ असोजमा लगानी बोर्ड र जीएमआरबीच दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरिसक्ने सर्तमा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।

    म्याद सकिन लागेको कम्पनीले एक वर्ष थप्नका लागि लगानी बोर्डमा निवेदन दिइसकेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जीएमआरको प्रस्तावमा  छलफल भइरहेको जानकारी दिए ।

    सन् २००८ मा खुल्ला प्रतिस्पर्धाद्वारा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सर्भेक्षण अनुमतिपत्र लिएकोमा सन् २०१० मा पीडीएका लागि जीएमआरले निवेदन दिएको थियो ।

    सन् २०१२ देखि निरन्तर रूपमा बोर्ड र जीएमआरबीच पीडीए वार्ता हुँदै दुई वर्षअघि मात्र पीडीएमा हस्ताक्षर भएको थियो ।

    झन्डै १ खर्ब ५० अर्ब रुपैयाँ लागतमा बन्न लागेको आयोजनाले दुई वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने उल्लेख गरे पनि ढिलाइ गरेपछि आयोजना समयमै बन्ने नबन्नेमा अन्योल थपिएको छ ।

    दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरेर त्यसको पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने पीडीएमा उल्लेख छ ।

    जीएमआरले भूकम्प र नाकाबन्दीको साथै वन, वातावरण, जग्गाप्राप्ति लगायतमा सरकारी तहबाट भएको ढिलाइ तथा अन्य विभिन्न बाधा अवरोधको कारणले वित्तीय व्यवस्थापन गर्न ढिलाइ भएको दाबी गरेको छ ।

    बोर्डका एक अधिकारीले पीडीएमा समेत वित्तीय व्यवस्थापनको म्याद एक वर्ष थप्न सकिने उल्लेख भएकाले त्यसको आधारमा र पछिल्लो समयको नाकाबन्दी, भूकम्पलगायतका कारण देखाएर म्याद थपको माग गरेको जानकारी दिए ।

    २५ प्रतिशत स्वपुँजी (इक्वीटी) र ७५ प्रतिशत विभिन्न बैंकहरूबाट ऋणलगायतमा बनाउन लागेको सो आयोजनाका लागि अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले लगानी जुटाउनेबारे प्रारम्भिक सम्झौता गरिसकेको छ भने आईएफसीले विभिन्न बैंकहरूसँग लगानीका लागि नेगोसेसन पनि अघि बढाएको छ ।

    भारत निर्यात गर्ने उद्देश्यका साथ अघि बढाइएको सो आयोजनाबाट २७ प्रतिशत निःशुल्क सेयर र १२ प्रतिशत ऊर्जा पाउनेछ । २०१६ जुन ३० बाट निर्माण सुरु गरी २०२१ जुनमा सम्पन्न गर्ने सम्झौता भएको आयोजनाबाट उत्पादित बिजुली भारतको अलावा बंगलादेशलाई बेच्नेबारे समेत जीएमआरले छलफल अघि बढाइसकेको छ ।

    स्रोत : कारोबार