जलविद्युत्का चार आयोजनालाई एडीबीको ३ करोड डलर

    1396

    मङ्सिर २५, काठमाडौं । एशियाली विकास बैङ्क (एडीबी)ले नेपालका जलविद्युत् क्षेत्रका चार ठूला आयोजनामा लगानी गर्ने भएको छ । ऊर्जा मन्त्रालय र एडीबीका प्रतिनिधिको सोमवार भएको बैठकमा एडीबीले सो प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयका सहसचिव मोतीबहादुर कुँवरले अभियानलाई बताए । उनले भने, ‘सुनकोशी दोस्रो, सुनकोशी तेस्रो र बूढीगण्डकी जलविद्युत् आयोजनाका अतिरिक्त दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणमा लगानी गर्न एडीबी इच्छुक देखिएको छ ।’ ती चार आयोजनालाई अघि बढाउन ३ करोड अमेरिकी डलर छुट्ट्याइसकेको जानकारी पनि एडीबीले बैठकमा दिएको कुँवरले बताए ।

    सिन्धुपाञ्चोक जिल्लामा पर्ने सुनकोशी दोस्रो जलविद्युत् आयोजनाको जडितक्षमता १ हजार १ सय १० मेगावाट छ । यसैगरी सुनकोशी तेस्रोको जडितक्षमता ५ सय ६० मेगावाट रहेको छ । यी दुवै जलाशययुक्त आयोजना हुन् । यी दुई ठूला आयोजना विद्युत् निर्यात गर्ने उद्देश्यले निर्माण गर्न लागिएको कुँवरले बताए । एडीबीले लगानी गर्ने अर्को आयोजना बूढीगण्डकीको क्षमता ६ सय मेगावाट छ । सम्भाव्यता अध्ययनको क्रममा पुगेको यो आयोजनाबाट उत्पादित विद्युत् भने आन्तरिक खपतमा प्रयोग गरिनेछ । ‘सम्भाव्यता अध्ययनका लागि पनि बजेट छुट्ट्याउने तयारी भइरहेको छ,’ कुँवरले भने । गोर्खा र धादिङ सिमानामा रहेको यो आयोजनाको निर्माण लागत कम्तीमा डेढ अर्ब डलर (एक खर्ब ६ अर्ब रुपैयाँ) लाग्ने अनुमान गरिएको छ । कुँवरका अनुसार एडीबी बुटवल–हेटौंडा–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणमा लगानी गर्न पनि इच्छुक देखिएको छ ।

    एडीबीले यसअघि बङ्गलादेशको ढाका र भुटानको थिम्पुमा भएको साउथ एशियन सबरिजनल इकोनोमिक कोअपरेशन (एसएएसईसी)को बैठकमा पनि ती आयोजनाको निर्माणमा लगानी गर्ने इच्छा व्यक्त गरेको थियो । आयोजनाको अध्ययनको काम सन् २०१४ भित्र सक्ने र सन् २०१५ देखि निर्माण कार्य शुरू गर्ने गरी लगानी गर्न तयार रहेको ती बैठकमा एडीबीले जानकारी दिएको बैठकमा सहभागी एक उच्च पदाधिकारीले बताए ।

    प्रस्तुति: अभियान