केन्द्रीय प्रसारणमा १३ मेगावाट थपियो

    1094

    कास्कीको मादी गाउँपालिका सिक्लेसमा निर्माण सम्पन्न मडयुखोला जलविद्युत् आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।सिक्लेस हाइड्रोपावर अन्तर्गत आयोजना गत कार्त्तिकमा निर्माण सम्पन्न भएको थियो ।

    निर्माण सम्पन्न भए पनि प्रसारण लाइन अभावमा केन्द्रीय प्रसारण लाइनमा जोड्न समय लागेको हो । विद्युत् उत्पादनपूर्व आवश्यक चार्जिङ, टेस्टिङलगायत सबै उपकरणको परीक्षणपछि सोमबार केन्द्रीय प्रसारणमा जडान भएको आयोजनाका निर्देशक किरण केसीले बताए । उनका अनुसार आयोजनाबाट उत्पादित बिजुली १४ किलोमिटर तल रहेको २५ मेगावाट क्षमताको अपर मादी जलविद्युतको सबस्टेसनमा (स्विचार्ड) जडान गरिएको छ । त्यहाँबाट लेखनाथस्थित प्राधिकरणको सबस्टेसनमा यसअघि नै प्रसारण लाइन जडान भइसकेको छ । आयोजनाले ३० करोड रुपैयाँ खर्चेर करिब ६ सय वटा पोलमार्फत अपरमादीको सबस्टेसनसम्म विद्युत् पुर्‍याएको हो ।

    ‘रन अफ दी’ प्रकृतिको आयोजनामा मडयु खोलाको पानीलाई करिब साढे दुई किलोमिटर तल बन्द नहर र पाइपबाट विद्युतगृहसम्म पुर्‍याइएको छ । आयोजनाले गत मंसिरमै व्यावसायिक उत्पादन गर्न सक्ने भए पनि प्रसारण लाइन अभावमा समस्या आएको थियो । २ अर्ब ५ करोड रुपैयाँको लागतमा सम्पन्न आयोजनामा पोखराको चर्चित केसी समूहको लगानी छ । लगानीमध्ये ७० प्रतिशत नेपाल बैंक लिमिटेडको अगुवाइमा ग्लोबल आईएमई, कृषि विकास, सिद्धार्थ र एनआईडीसी बैंकसँग ऋण छ । आयोजनाले स्विडेनको एन्ड्रिज कम्पनीबाट उत्पादित टबाईनसहितका उपकरण प्रयोगमा ल्याएको छ ।
    दुई वर्षमा सक्ने भन्दै चार वर्षअघि निर्माण सुरु भए पनि भूकम्प र नाकाबन्दीका कारण डेढ वर्ष ढिला भएको केसीले बताए । उनका अनुसार आयोजनाका लागि पोखरादेखि पर्यटकीय गाउँ सिक्लेससम्मको ४४ किलोमिटर सडकसमेत बनाउनुपरेको थियो । आयोजनाले विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता दुई प्रकारले गरेको छ । ९ मेगावाट ९ सय ६८ किलोवाट विद्युतको सुक्खायाममा ७ रुपैयाँ र वर्षायाममा ४ रुपैयाँ प्रतियुनिट छ भने बाँकी ३ मेगावाट ३२ किलोवाट बिजुली भने सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा सम्झौता भएको केसीले बताए ।
    केसी समूहको लगानीबाट यसअघि ४ दशमलव ८ मेगावाटको मर्दी, १ मेगावाटको टास्क, ४ दशमलव ५ मेगावाटको भगवती जलविद्युत् आयोजना बनाएर सञ्चालनमा आइसकेका छन् । यसैगरी ७ मेगावाटको इदीमर्दी र साढे ४ मेगावाटको विजयपुर दोस्रो आयोजना निर्माण गरिरहेको छ । त्यसैगरी ३२ मेगावाट क्षमताको सेती जलविद्युत् आयोजना निर्माणका लागि विद्युत् खरिद सम्झौता गरिसेकेको छ ।
    -कान्तिपुर