कालीगण्डकीको मर्मत २० दिनमा

    996

    चैत्र २८, २०७३- कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको मर्मत कार्य २० दिनमा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनाका अनुसार तीनै सिफ्टमै प्राविधिक खटाएर मर्मत अवधि छोट्टयाउन लागिएको हो ।

    विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको अनुगमन गरी मर्मतको अवधि लामो नबनाउन निर्देशन दिएका छन् । आयोजनाका तीनवटा टर्बाइन र त्यसमा पानी आउनुअघि बालुवा थिग्य्राउने मेसिनको मर्मत १० दिनयता भइरहेको छ ।

    गत वर्ष मर्मतका लागि ४२ दिन लागेको थियो । यस वर्ष आयोजनाको काम २० दिनमै सकिने लक्ष्यका साथ भइरहेको छ ।

    निरीक्षणको क्रममा निर्देशक घिसिङले कालीगण्डकी आयोजनाको लोडसेडिङ हटाउन महत्त्वपूर्ण रहेको बताए ।

    उनले भने, ‘आयोजनाका युनिट नबिग्रिने गरी काम गर्नुहोला ।’ आयोजनामा ४८/४८ मेगावाटका तीनवटा टर्बाइन छन् । हाल पहिलो टर्बाइनको मर्मत भइरहेको छ ।

    स्रोत:कान्तिपुर