उत्तरगंगा जलविद्युत्को काम थाल्न माग

    2188


    सय मेगावाट क्षमताको जलाशययुक्त उत्तरगंगा जलविद्युत् आयोजना निर्माण सुरु गर्न स्थानीयले माग गरेका छन् ।सरकारले हालै सार्वजनिक गरेको बजेटमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न जलविद्युत् कम्पनी स्थापना गर्ने जनाएपछि खुसी भएका स्थानीयले काममा ढिलाइ गर्न नहुने बताएका हुन् ।

    आयोजनाले विकट ढोरपाटन क्षेत्रकै विकास हुनेमा स्थानीय विश्वस्त छन । साथै कृत्रिम ताल र ढोरपाटन सिकार आरक्षमा पर्यटकीय चहलपहल बढ्ने र आरक्षको संरक्षणमा सहयोग पुग्नेमा उनीहरू ढुक्क छन् ।

    ‘आयोजनाको काम छिटो थाल्नुपर्ने हाम्रो माग छ,’ वोवाङ गाविसका पूर्व अध्यक्ष शेरमान घर्तिले भने, ‘इन्जिनियरीङ, वातावरणीय र अन्य आवस्यक सर्वेका काम सकेर छिटो निर्माण प्रक्रिया अघि बढाउनु पर्‍यो ।’

    जलविद्युत आयोजना सरोकार समितिका सल्लाहकारसमेत रहेका उनले आयोजना बनेमा खेतीपाती र पशुपालनले व्यावसायिक रूप लिने बताए । स्थानीय र सरकारको संयुक्त लगानीमा आयोजना बनाउने बजेटमा उल्लेख गरेको छ ।

    उत्तरगंगा (ढोरखोला), काङखोला र भुजी खोलाको पानीलाई ढोरपाटनको समथर भूभागमा विशाल ताल बनाएर बिजुली निकालिनेछ । यसका लागि विस्तृत अध्ययन भइरहेको छ । निसी र बोवाङको सिमाना गाभामा बाँध हालेर खासमुर र काङको बीचमा सुरुङ मार्फत निसी १ को मसाल गाउँमा विद्युत्गृह बनाउने योजनामा छ ।

    वर्षयाम र हिमपातको पानीसमेत संकलन गरी ३ सयभन्दा बढी मेगावाट बिजुली निकाल्न सकिनेतर्फ पनि अध्ययन भइरहेको र पानीको मात्रा नाप्ने काम पनि जारी छ । आयोजना बन्ने खबरले यस क्षेत्रको जग्गाको भाउ बढिरहेको छ ।

    ताल बनेपछि ५ सयदेखि ६ सयसम्म घर डुबानमा पर्ने घर्तीले बताए । अहिले ढोरपाटन क्षेत्रमा जग्गा किनबेच र घर निर्माण अत्यधिक बढेको छ । यसले पनि समयमै जग्गा अधिग्रहण गरेमा आयोजनाका लागि सहज हुने स्थानीय अगुवा बताउँछन् ।

    स्थानीयलाई मर्का नपर्ने गरी मुआब्जा र सेयरसमेत दिनुपर्ने माग स्थानीयको छ । बोबाङ माविका प्रधानाध्यापक यामबहादुर कायतले मुआब्जासँगै स्थानीयलाई सेयर पनि दिनुपर्ने बताए ।
    स्रोत : कांतिपुर