आँखु हाइड्रोमा करीब ५ अर्ब लगानी

    1262

    काठमाडौं । हाइड्रो सोलुसनले प्रवर्द्धन गर्न लागेको आँखु हाइड्रोपावरमा सनराइज बैङ्कको नेतृत्वमा विभिन्न ७ ओटा बैङ्क तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । मङ्गलवार यहाँ आयोजित एक कार्यक्रममा लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र बैङ्कका प्रतिनिधिले संयुक्त रुपमा हस्ताक्षर गरे ।

    सो आयोजनामा सनराइज बैङ्कको नेतृत्वमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, बैङ्क अफ काठमाडौं, सेञ्चुरी कमर्शियल बैङ्क, ज्योति विकास बैङ्क, लक्ष्मी बैङ्क, एनसीसी र प्रभू बैङ्कले संयुक्त रूपमा लगानी गर्ने भएका छन् ।

    धादिङ जिल्लाको आँखु नदीमा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको सो आयोजनाको कुल लागत रू. ६ अर्ब ३० करोड रहेको छ । बैङ्क तथा वित्तीय संस्थाले सो आयोजनामा रू. ४ अर्ब ७२ करोड लगानी गर्नेछन् ।

    रू. १ अर्ब २४ करोड प्रवर्द्धक हाइड्रो सोलुसनले लगानी गर्नेछ । स्थानीयवासीका लागि रू. १६ करोड र रू. २४ करोड बराबरको साधारण शेयर जारी हुनेछ । आयोजनाबाट उत्पादित विद्युत् ३० किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको त्रिशूली थ्री ए वा त्रिशूली थ्री बीका लागि निर्माण गरिने सबस्टेशनमा जोडिनेछ । रासस