सामाजिक विकासमा जलविद्युत् आयोजना

    267

    रामेछाप, नामादी–५ का यमबहादुर खड्काले बारीमा फलाएको तरकारी सीधै काठमाडौं लगेर बेच्न थालेका छन् । खिम्ती जलविद्युत् आयोजनाले आफ्नो आँगनसम्म पुग्ने गरी बाटो बनाइदिएपछि उनको तरकारीले सहजै काठमाडौंको बजार पाउन थालेको हो । ‘सडक आएपछि खेतबारीमा उत्पादित सबै खाद्यान्न बाली तथा तरकारी शहरबजारसम्म पुर्‍याउन सहज भएको छ,’ उनले भने । खड्का मात्रै होइन, उनीजस्ता हजारौं स्थानीय बासिन्दा जलविद्युत् आयोजनाले निर्माण गरिदिएको सडक, अस्पताल, विद्यालय, सिँचाइबाट लाभान्वित हुँदै आएका छन् ।

    नेपालमा जलविद्युत् आयोजना निर्माण हुन थालेको एक शताब्दीभन्दा बढी भइसकेको छ । यस अवधिमा आयोजना निर्माणस्थलका बासिन्दाले कुनै न कुनै किसिमका विकास निर्माणको कामबाट लाभ लिइसकेका छन् र लिने क्रममा पनि छन् । आयोजनाले सामाजिक क्षेत्रमा गरेको लगानीले गाउँमा बस्ने व्यक्तिको जीवनस्तरमा सुधार मात्र ल्याएको छैन, स्थानीय अर्थतन्त्रमा पनि उल्लेख्य प्रभाव पारेको छ । त्यहाँ शिक्षा, स्वास्थ्य, सडक, सिँचाइलगायतका सामाजिक कामले गति लिएको छ । कुल लागतको ५ प्रतिशत रकम आयोजनाका प्रवद्र्धकहरूले सामाजिक क्षेत्रमा लगानी गर्दै आएको ऊर्जा मन्त्रालयका प्रवक्ता श्रीरञ्जन लाकौलले बताए । ‘यस्तो रकमले आयोजनाको लागत बढाए पनि सामाजिक विकास निर्माणमा ठूलै योगदान पुर्‍याएको छ,’ उनले भने । ३६ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी, १२ मेवाको झिमरुक, ७० मेवाको मध्यमस्याङ्दी, १ सय ४४ मेवाको कालीगण्डकी ए, ६९ मेवाको मस्र्याङ्दी, ६० मेवाको कुलेखानी प्रथम, ६० मेवाको खिम्तीलगायतका जलविद्युत् आयोजनाले सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएका छन् ।

    हिमाल पावर लिमिटेडले निर्माण गरेको ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाले ८५ करोड रुपैयाँ सामाजिक कार्यमा खर्च गरिसकेको छ । १७ वर्षअघि अर्थात् सन् १९९६ मा निर्माण थालिएको यस आयोजनाले सामाजिक सेवाका लागि ‘बास्केट फण्ड’को स्थापना गरेको छ । कम्पनीले हरेक वर्ष सो फण्डमा रकम जम्मा गर्दै सामाजिक सेवामा खर्च गर्दै आएको छ । ‘नाफा मात्र होइन समाजप्रतिको उत्तरदायित्व पनि वहन गर्नुपर्छ भनेर क्रियाशील भएका छौं,’ आयोजनाका सीएसआर म्यानेजर श्यामप्रसाद भट्टले भने । दक्ष शैक्षिक जनशक्तिको आधार तयार गर्ने उद्देश्यले कम्पनीले आयोजना क्षेत्रमा खिम्ती प्रोजेक्ट सेकेण्डरी स्कूल स्थापना गरेको छ ।

    आयोजनाले सो विद्यालयलाई वार्षिक ५० लाख रुपैयाँभन्दा बढी अनुदान दिँदै आएको छ । केही सामुदायिक विद्यालयहरूका लागि र केही शिक्षकका लागि तलब दिनमा सहयोग गर्दै आएको छ । यसमा पनि वार्षिक करीब रू. ३ लाख खर्च हुने गरेको छ । दोलखा तथा रामेछाप जिल्लाबाट एसएलसीमा उत्कृष्ट नतीजा ल्याउने केही विद्यार्थीहरूलाई राजधानीका उच्च माविमा अध्ययनका लागि छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ । ‘हामीले सञ्चालन गरेको सहयोग कार्यक्रम प्रभावकारी भइरहेको छ,’ भट्टले भने ।

    आयोजनाले शिक्षा, स्वास्थ्य, खानेपानी, ग्रामीण विद्युतीकरणलगायतमा खर्च गर्दै आएको छ । आयोजनाले सुविधासम्पन्न ‘किर्ने स्वास्थ्य क्लिनिक’ स्थापना गरेको छ । बिरामी पर्दा उपचारका लागि ३ घण्टा टाढाको चरिकोट पुग्नुपर्ने बाध्यताबाट आयोजना क्षेत्रका बासन्दिा मुक्त भएका छन् । यस अस्पतालमा एम्बुलेन्सका साथै अन्य स्वास्थ्य सेवाहरू उपलब्ध छन् । साथै हेडवक्र्स साइट पलातेमा पनि स्वास्थ्य केन्द्र सञ्चालित छ । ‘यी क्लिनिकबाट वार्षिक १६ हजार स्थानीय बासिन्दाले स्वास्थ्य लाभ लिइरहेका छन्,’ उनले भने, ‘आयोजनाले अन्य सङ्घसंस्थासँग मिलेर मोबाइल स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ ।’

    आयोजनाले ग्रामीण विद्युतीकरणको कार्यक्रमलाई जोड दिएको छ । स्थानीय समुदाय बिजुलीको उज्यालोबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले आयोजनाले खिम्ती ग्रामीण विद्युत् सहकारी संस्था स्थापना गरेको पनि उनले बताए । यस सहकारीमार्फत २ ओटा साना जलविद्युत् आयोजना सञ्चालन गरिएको छ । ६ सय ३० किलोवाटको झाँक्रेखोला र ४ सय किलोवाटको हलुवा खोला आयोजनाबाट ८ हजारभन्दा बढी घरधुरीमा विद्युतीकरण गरिसकिएको छ । सहकारीले आयोजनाको मर्मत सम्भार र विद्युत् महशुल उठाउने समेतको काम गरिरहेको भट्टले बताए । सहकारीका लागि कम्पनीले विभिन्न प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको पनि उनले जानकारी दिए ।

    अहिले अधिकांश जलविद्युत् आयोजनाले सामाजिक विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । स्थानीय बासिन्दासँग सजिलै घुलमिल हुन र सामाजिक अभियानबाट आफूलाई सजिलै अब्बल बनाउन यस्ता आयोजना सामाजिक कार्यमा विभिन्न माध्यमबाट सहभागी हुँदै आएका छन् । कमाएको केही प्रतिशत रकम छुट्ट्याएर सामाजिक कार्यमा लगाउन आयोजनाबीच प्रतिस्पर्धा शुरू भएको छ । यसबाट आयोजनालाई समाजले हर्ने दृष्टिकोणमा परिवर्तन आएको छ ।

    सुनसँग शेयर साट्दै
    २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाले स्थानीय बासिन्दालाई शेयर वितरण गरेर सबैभन्दा ठूलो गुन लगाएको स्थानीय बासिन्दा भनाइ छ । आजभन्दा ३ वर्षअघि स्थानीय बासिन्दालाई चिलिमेले शेयर वितरण गरेको थियो । १ सय कित्ताका लागि ३२ हजार १ सय मूल्यमा किनेको शेयर अहिले २ लाखभन्दा बढीको भएको छ । यसबीचमा स्थानीय बासिन्दा नगद लाभांश पनि पाएका छन् । ‘अहिले चिलिमेको शेयरले सुन साट्ने काम भएको छ,’ आयोजनाका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने, ‘थोरै शेयर लिने पनि लखपति भएका छन् ।’ आयोजनाले शेयर विक्री गर्दा विभिन्न स्कूलमा गएर कार्यशाला र छलफलका माध्यमबाट जनचेतना जगाउने कार्यक्रम गरेको थियो । यसलाई पनि चिलिमेले संस्थागत सामाजिक उत्तरदायित्वकै रूपमा लिएको छ ।

    यसबाहेक आयोजनाले शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक, खानेपानीलगायतमा प्रत्येक वर्ष १/२ करोड खर्च गर्दै आइरहेको घिसिङले बताए । आयोजनाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउनुका साथै स्थानीय स्वस्थ्य चौकीलाई सुविधासम्पन्न गर्ने काम गर्दै आएको छ । ‘स्वास्थ्यक्षेत्रमा पनि सक्रिय छौं,’ उनले भने । आयोजना प्रभावित क्षेत्रका स्कूलको भौतिक संरचना तयार पार्ने काम पनि गरेको छ । आयोजनाले स्यामेहान्थेल स्कूलका लागि ४ रोपनी जग्गा किन्नुका साथै भवन पनि निर्माण गरिदिएको थियो ।

    आयोजनाले स्याफ्रुदेखि माथिका गाउँका सड्क मर्मत सम्भार गर्दै आएको छ । ‘प्रत्येक वर्ष १५–२० किलोमिटर दूरीका सडकहरू मर्मत गर्दै आएका छौं,’ घिसिङले भने । आयोजनाले ग्रामीण क्षेत्रमा विद्युतीकरण, खानेपानी, विभिन्न क्लब र सङ्घ सङ्गठनहरूले गर्ने सांस्कृतिक कार्यक्रम, खेलकुदलगायतका कार्यक्रमलाई पनि सहयोग गर्दै आएको छ । ‘यी सबै सामाजिक कार्यमा सहभागी छौं,’ घिसिङले भने, ‘सामाजिक उत्तरदायित्व वहन गर्दै यसलाई अझ अगाडि बढाउने सोचमा छौं ।’

    यसैगरी निर्माण सम्पन्न गर्ने क्रममा रहेको ८ दशमलव ४ मेवाको क्षमताको धादिङ जिल्लाको आँखुखोला जलविद्युत् आयोजनाले केही रकम सामाजिक काममा लगाइसकेको छ । आयोजनाले ५५ जना स्थानीय बासिन्दालाई रोजगारी दिएको आँखुखोला जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक विश्वनाथ कँडेलले बताए । ‘स्थानीय जनशक्तिको उपयोग गरेका छौं,’ उनले भने, ‘यसले त्यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।’ आयोजनाकै खर्चमा १४ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुका साथै धादिङबेंशीमा १ करोड ५५ लाख रुपैयाँमा सबस्टेशन र स्थानीय बासिन्दाका लागि ४२ किलोमिटर बाटो निर्माण गरिदिएको पनि उनले बताए ।

    यस आयोजनामा स्थानीय बासिन्दालाई बढीभन्दा बढी सहभागी बनाएको कम्पनीको दाबी छ । यस कम्पनीमा १ सय ५५ संस्थापक शेयर सदस्यमध्ये ४६ जना आयोजना निर्माणस्थल जिल्लाका शेयर सदस्य छन् । स्थानीय बासिन्दालाई थप ६ करोडबराबरको शेयर छुट्ट्याइएको छ । ‘संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने नीतिमा कुनै कसर राखेको छैन,’ कँडेलले भने । विकास निर्माण अभियानमा क्रियाशील रहने आयोजनाका प्रवद्र्धकले बताएका छन् ।

    यसैगरी बुटवल पावर कम्पनी लिमिटेडको लगानीमा निर्माणाधीन ९ दशमलव ४ मेगावाट क्षमताको स्याङ्जाको आँधीखोला जलविद्युत् आयोजनाले ३ सय हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्‍याएको छ । आयोजनाले स्याङ्जाकै भट्टराई फाँटमा पानी पम्पिङ गरी सिँचाइ सुविधा उपलब्ध गराएको आयोजना प्रमुख विष्णुबहादुर सिंहले बताए । ‘स्थानीयस्तरमा सामुदायिक अस्पताल सञ्चालनका लागि करीब ४० लाख उपलब्ध गराएका छौं,’ उनले भने, ‘आयोजनाले स्थानीय बासिन्दालाई रोजगारी दिनुका साथै वृक्षरोपण, स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’

    इलाम जिल्लामा निर्माणाधीन अपर माई ‘सी’ र लोअर माई जलविद्युत् आयोजनाले ऋणमा डुबेका स्थानीय बासिन्दालाई ऋणमुक्त गरेको छ । ‘स्थानीय बासिन्दाले लघु जलविद्युत् निर्माण गर्दा बैङ्कबाट लिएको ऋण तिरिदिएका छौं,’ माई भ्याली हाइड्रोपावर प्रालिका कार्यवाहक अध्यक्ष प्रदीपकुमार श्रेष्ठले भने, ‘आयोजनाले ऋणमा डुबेका माई मजुवाका स्थानीयलाई ऋणमुक्त गरी पुनः स्थापना गरेको छ । हाम्रो सहयोग समयमा नपाएको भए शायद त्यहाँका ३२ परिवारको घरबार लीलाममा जान्थ्यो ।’ बैङ्कको लीलामीमा पर्न लागेको घरबार मुक्त गरिदिए पछि स्थानीय बासिन्दाका लागि आयोजना धन्यवादको पात्र बनेको छ । ‘हाम्रा लागि आयोजना भगवान् आएजस्तै भएको छ,’ एक स्थानीय बासिन्दले भने । जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वको काम मात्र पूरा गरेका छैनन्, ती स्थानीय बासिन्दाको सुख–दुःखको साथी बनेका छन् ।

    प्रस्तुति: अभियान