वैकल्पिक विद्युत् खरीद गर्न खोज्दै प्राधिकरण

    81

    मङ्सिर ७, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरीदका लागि विकल्पहरूको खोजीलाई तीव्र पारेको छ । विद्युत् व्यवस्थापनमा लागेको प्राधिकरणले वैकल्पिक स्रोतहरूका विद्युत् उत्पादकहरूबाट विद्युत् खरीद गर्न खोजेको हो ।

    त्यसका लागि प्रस्ताव माग गरिएकोमा १५ विद्युत् प्रदायकबाट प्रस्ताव आएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । उनले भने, ‘९ ओटा सौर्य ऊर्जा, ४ ओटा थर्मल र २ ओटा विद्युत् आयातकर्ताबाट प्रस्ताव आएका छन् ।’ तर, प्राधिकरणले सबैभन्दा बढी अपेक्षा गरेको क्याप्टिभ प्लाण्ट (उद्योग सञ्चालनका लागि डिजेल वा अन्य इन्धनबाट आफै विद्युत् उत्पादन गरिरहेका) भएकाहरूबाट भने एउटा पनि प्रस्ताव नआएको उनले बताए ।

    सौर्य र थर्मल तत्काल विद्युत् प्राप्त गर्न सकिने माध्यम हुन् । तर, विद्युत् आयातकर्ता (बाहिरबाट खरीद गरी प्राधिकरणलाई विक्री गर्ने)बाट लिनलाई पहिले दुई देशबीच विद्युत् खरीद सम्झौता हुनुपर्ने भएकाले तत्काल यसको सम्भावना नरहेको प्रवक्ता अधिकारी बताउँछन् । बरु आफ्नो उद्योग सञ्चालनका लागि आफै विद्युत् उत्पादन गरिरहेकाहरूले यसमा योगदान गर्न सक्ने उनको धारणा छ ।

    ‘क्याप्टिभ प्लाण्टको अवधारणा भनेको लोडशेडिङ भएर उद्योग बन्द हुने समयमा उद्योगका लागि प्राधिकरणले अलग्गै विद्युत् दिनु नपर्ने तर उद्योगले अन्य स्रोतबाट उत्पादन गरी खपत गरेबापत सरकारले उद्योगलाई प्रतियुनिटको हिसाबमा इन्सेण्टिभ वा कर छूटलगायत व्यवस्था गर्ने प्रावधान हो,’ अधिकारीले भने, ‘यसबारे उद्योगीहरूबाटै ‘हामी राज्यलाई पर्ने विद्युत् भार कम गर्न यस्तो योगदान गर्न सक्छौं’ भन्ने प्रस्ताव आउला भन्ने हाम्रो अपेक्षा थियो ।’

    उद्योगीहरूका तर्पmबाट प्रस्ताव नआएपछि प्राधिकरण आफैले उद्योगीहरूमाझ यससम्बन्धी छलफल अघि बढाएको छ । हालै प्राधिकरणले वीरगञ्जका उद्योगीहरूलाई समेटी क्याप्टिभ प्लाण्टको अवधारणाका सम्बन्धमा छलफल सम्पन्न गरेको छ । पिक आवरमा उद्योगका लागि आवश्यक विद्युत् उद्योग आफैले धान्ने अवस्था निर्माण भए विद्युत्को माग तथा आपूर्ति व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको धारणा रहेको छ ।

    हाल जडान तथा विद्युत् उत्पादन गरिरहेकै अवस्थामा रहेका जेनेरेटरहरूबाट तत्काल विद्युत् प्राप्त गर्न सकिने हुँदा क्याप्टिभ प्लाण्ट सबैभन्दा छिटो विद्युत् प्राप्त गर्ने आधार हो । अन्य जुनसुकै माध्यमबाट पनि विद्युत् उत्पादन गर्न संरचना निर्माण, प्रविधि जडानलगायतमा समय लाग्ने हुन्छ ।

    प्राविधिक टोली प्रस्थान
    अन्तरदेशीय प्रसारण लाइनको संरचनात्मक व्यवस्थाका लागि अध्ययन गर्न सोमवार प्राधिकरणबाट प्राविधिक टोली सम्बन्धित क्षेत्रहरूतर्फ गएको छ । ढल्केवर–मुजफ्फरपुर, कटैया–कुशाहा र रक्सौल–परवानीपुर प्रसारण लाइनको अध्ययनका लागि टोली त्यसतर्फ गएको हो ।

    भारतको ऊर्जा मन्त्रालयबाट पनि प्राविधिक टोली त्यसतर्फ परिचालित भएको प्रवक्ता अधिकारीले बताए । ‘दुवै टोलीले संयुक्त रूपमा अध्ययन गर्नेछन्’, उनले भने । उक्त प्रसारण लाइनहरू भारतको अनुदानमा निर्माण भइरहेका छन् । त्यसमध्ये कटैया–कुशाहा र रक्सौल–परवानीपुर प्रसारण लाइन १ सय ३२ केभीका हुनेछन् । यी प्रसारण लाइनहरूको काम डिसेम्बर १५ सम्म पूर्णरूपमा सम्पन्न गरी डिसेम्बर अन्त्यसम्ममा विद्युत् प्रवाह गर्ने सहमति केही दिनअघि भारतमा सम्पन्न द्विदेशीय अधिकारीहरूबीच भएको प्रवक्ता अधिकारीले बताए । त्यसपछि दुवै प्रसारण लाइनबाट ५०/५० मेगावाट विद्युत् आयात गर्ने सम्झौता सम्पन्न भएको छ । त्यसैगरी १ सय ३२ केभीएकै ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको ट्रान्समिटरको समेत काम हुँदै छ । डिसेम्बरको अन्त्यमै काम सक्ने योजना बनाइएको यो प्रसारण लाइन त्यसपछि २ सय २० केभीको हुनेगरी स्तरोन्नति पनि भइरहेको छ । हाल भारतबाट ८० मेगावाट विद्युत् आयात भइरहेको यस प्रसारण लाइनबाट त्यसपछि थप ८० मेगावाट विद्युत् आयात हुनेछ । दुई देशबीच विकास गरिएको प्रमुख प्रसारण लाइनका रूपमा रहेको ढल्केवर–मुजफ्फरपुरलाई १ वर्षपछि ४ सय केभीमा स्तरोन्नति गर्ने योजना रहेको छ ।

    त्यसैगरी टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ३० मेगावाट विद्युत् आयात गरिरहेको पावर ट्रेड कर्पोरेशन (पीटीसी)सँगको सम्झौता गत जुनमा सकिएको थियो । वर्षात्का बेला विद्युत् आयात नगरिएको यस प्रसारण लाइनबाट फेरि ३० मेगावाट नै विद्युत् आयात गरिने भएको छ । यसरी चारओटै प्रसारण लाइन सञ्चालनमा आएपछि हाललाई प्राधिकरणले भारतबाट २ सय ९० मेगावाट विद्युत् आयात गर्नेछ ।