विद्युत् हब बन्दै फक्ताङ्लुङ

    111

    ताप्लेजुङ-कञ्चनजंघा हिमालको काखमा अवस्थित फक्ताङ्लुङ गाउँपालिका ‘विद्युत् हब’ बन्ने भएको छ । गाउँपालिका–७ ओलाङ्चुङगोलास्थित तमोर नदीबाट मात्रै करिब ८ सय मेगावाट विद्युत् उत्पादन गर्न सम्भव पाइएसँगै विद्युत् हब बन्ने भएको हो ।
    यस आसपासका मेवा, घुन्सा नदीको पानीसमेत मिलाउँदा उत्पादन क्षमता १ हजार २१४ मेगावाट पुग्छ । विद्युत् उत्पादन कम्पनीका अनुसार प्रतिमेगावाट उत्पादन १२ देखि १५ करोड खर्च हुन्छ । यस क्षेत्रमा विद्युत् उत्पादनका लागि सरकारले विभिन्न कम्पनीलाई अध्ययनका लागि अनुमति दिइसकेको छ । यद्यपि उत्पादन चाहिँ कहिले हुन्छ पत्तो छैन । चीनको तिब्बत सीमास्थित टिप्ताला भञ्ज्याङ आसपासबाट सुरु भएर सप्तकोसी नदीमा मिसिने यो नदीबाट अहिलेसम्म उत्पादन भने १ किलोवाट पनि भएको छैन ।
    तेह्रथुमको आठराई र पाचथरको आम्वुङमा आएर कावेलीस“ग जोडिने यो नदीबाट ताप्लेजुङमा मात्रै उत्पादनका लागि ७ वटा कम्पनीले अनुमति लिएका छन् । अनुमति लिएका कम्पनीहरूले वातावरण प्रभावको अध्ययन गरिरहेको दाबी गरेका छन् । काम थालनी गर्ने पहिलो कम्पनी भने सानीमा इनर्जी प्रालिमात्रै छ । निर्माणका लागि ठेकदार कम्पनी छनोट गरेको छ । यसै वर्षबाट आयोजना क्षेत्रमा निर्माण कार्य सुरु गरेको हो । ७४ मेगावाटका लागि काम थालेको छ । मोटरबाटोको स्तरोन्नति गर्ने लगायतका काम सुरु गरेको हो । फक्ताङ्लुङको मित्लुङबाट सुरु हुने यो आयोजना मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा टुङ्गिन्छ । ऊर्जा मन्त्रालयमा दर्ता भएकामध्ये सानिमा इनर्जी प्रालिले नै एकै ठाउबाट ४१५ मेगावाट उत्पादनका लागि प्रस्ताव गरेको छ ।
    आयोजनाको केन्द्रबिन्दु फक्ताङ्लुङ गाउँपालिकाको मुख्यालय रहेको तापेथोक बगर हो । एकै ठाउ“बाट उत्पादन हुने तमोरको यो सबैभन्दा ठूलो आयोजना पनि हो । अपर तमोर जलविद्युत् आयोजनाको रूपमा सानीमा इनर्जी प्रालिले २०६८ मंसिर २९ गते सर्भेक्षणको अनुमति पाएको थियो । कम्पनीले प्रारम्भिक चरणको सार्वजनिक सुनुवाइ पनि गरेको छ । फक्ताङ्लुङ गाउँपालिकाको तापेथोक बगर र सिंवा बजारमा सुनुवाइ गरेको हो । मन्त्रालयमा गरिएको दर्ताअनुसार फक्ताङ्लुङ गाउपालिकाको तापेथोक, सावादिन, खेजेनिम, लिंखिम यसको प्रभावित क्षेत्र रहेका छन । मध्यतमोर जलविद्युत् पनि यही कम्पनीले निर्माण गर्न लागेको हो । ५४ बाट २० मेगावाट बढाएर ७४ बनाइएको हो ।

    ओलाङ्चुङगोलामा ७२ मेगावाट प्रस्ताव
    फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला प्रभावित क्षेत्र हुनेगरी ७२ मेगावाटको प्रस्ताव गरिएको छ । अपर तमोर ए जलविद्युत् आयोजनाअन्तर्गत युनियन हाइड्रोपावर लिमिटेड ललितपुरले प्रस्ताव गरेको हो । रिभर साइड हाइड्रो इनर्जी प्रालिले तमोरखोला ५ प्रस्ताव गरेको छ । ४० मेगावाट उत्पादन हुने प्रभावित क्षेत्र फक्तालुङ गाउँपालिका–६ लेलेपमात्रै हुनेछ । लेलेप नै प्रभावित क्षेत्र हुनेगरी अपर तमोर हाइड्रोपावर प्रालिले ३२.५ मेगावाटको प्रस्ताव गरेको छ । ओलाङचुङगोला र लेलेप प्रभावित क्षेत्र हुनेगरी १५५ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजना रहेको छ । यो क्रिस्टल पावर डेभलपमेन्ट प्रालिले प्रस्ताव गरेको हो । तमोर नदीबाट मात्रै ७८९ मेगावाट उत्पादन गर्न सकिने प्रस्तावमा उल्लेख छ ।
    तमोर नदीस“ग संयुक्त आयोजनाको रूपमा घुन्सा तमोर जलविद्युत् आयोजना ४३ मेगावाट रहेको छ । यो ब्लुस्टार होटल कम्प्लेक्स थापाथली काठमाडौंले प्रस्ताव गरेको आयोजना हो । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमै संरचना बन्नेगरी प्रस्ताव गरेको छ । मिक्वाखोला गाउँपालिका–१ र २ को खोक्लिङ र फुङलिङ नगरपालिका– १, २, ३, र ७ वडामा संरचना बत्रेगरी १२८ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजना पनि छ । स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्ने यो आयोजनाको गत जेठमा मात्रै प्रभावित क्षेत्रका बासिन्दास“ग अन्तिम सार्वजनिक सुनुवाइ गरेको थियो । स्पार्कका अध्यक्ष भानेन्द्र लिम्बूले भने, “मन्त्रालयमा आवश्यक कागजात बुझाएका छौ । पक्रियाअनुसार हिउँददेखि निर्माण पाउँछौ होला ।” तमोर नदीमा मिसिने मेवाखोलामा उत्पादनका लागि अपर मेवाखोला ए २८, मिडिल मेवा ४९, मेवाखोला ५०, मेवाखोला ए २३ र अपर मेवा १५.५ प्रस्ताव गरिएको छ । तमोर र मेवाखोलाको पानी मिसाएर यी आयोजना सञ्चालन हुनेछन् ।

    -कारोबार