लामाबगरको मुहार फेरियो

    40

    दोलखा, १६ असोज-

    Lamabagarदोलखाको सबैभन्दा दुर्गम गाउँका रूपमा रहेका लामाबगरलाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सुगम बनाइदिएको छ । आयोजनाले गर्दा लामाबगर मात्र नभएर दोलखाको उत्तरी क्षेत्रको कायापलट भएको छ । जनजीवनमा सुधार आएको स्थानीयको अनुभव छ  ।

    आयोजनाको प्रवेशमार्गका लागि निर्माण गरेको सडकले यात्रा र ढुवानीका लागि सजिलो भएको छ । “पहिला सदरमुकाम पुग्न २ दिन लाग्थ्यो,” लामाबगर गाविसका पूर्वअध्यक्ष निमानुर्बु शेर्पाले भने, “अहिले त घर छेउमै गाडी आउँछ, काठमाडौं नै एकै दिनमा पुगिन्छ ।” अहिले सदरमुकाम पुग्न ३ घण्टाको यात्रा गरे पुग्छ । दोलखाको अति दुर्गम गाउँको सूचीमा रहेको लामाबगर धेरैको गन्तव्य बन्न थालेको छ ।
    आयोजनाको कामका लागि सीप र क्षमताअनुसार धेरैले रोजगारी पाएका छन् । ठेकेदार कम्पनी सिनो हाइड्रो र प्रवद्र्धकमा नियमित रोजगारीमा ५० भन्दा बढी छन् । आयोजनाका लागि खुल्ने रोजगारीका लागि पनि लामाबगरवासीलाई प्राथमिकता दिएको आयोजनाका का.मु. प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बताए । अप्रत्यक्ष रूपमा धेरै रोजगार छन् ।
    लामाबगरसम्म पुग्न चरिकोटदेखि सिंगटीसम्म ३५ किलोमिटर सडक स्तरोन्नति र सिंगटीदेखि लामाबगरसम्म साढे २८ किलोमिटर नयाँ सडक निर्माण गरिएको छ । सिंगटी–लामाबगर खण्डमा विभिन्न ठाउँमा विभिन्न ठाउँमा कठिन भीर काटेर सडक निर्माण गरिएको छ । “४ वर्ष अघिसम्म भीरका लहरा समातेर उकालो ओरालो गर्दै तामाकोसीको फड्केमा वारपार गर्दै हिँड्नुपथ्र्याे,”  विगत सम्झँदै लामाबगरकै पासाङ शेर्पाले भने, “यात्रा जोखिम थियो, अहिले त स्वर्ग नै भएको छ ।” सिंगटी, जगत, सोती, स्याउली, जामुनेलगायत दर्जन ठाउँ बजार केन्द्र बनेका छन् । व्यापार–व्यवसाय फस्टाएको छ ।
    “सञ्चारका लागि रेडियोसमेत नसुनिने लामाबगरमा अहिले सजिलै छानिछानी टेलिभिजन च्यानल हेर्न पाइन्छ,” उनले भने, “अहिले त फोन मात्र होइन, सँगै गफ गरेजस्तै देशविदेशमा भएका आफन्तसँग इन्टरनेटबाट समेत कुरा गर्न पाइन्छ ।” स्थानीयको अनुभव छ, “तामाकोसीले संसार एकै ठाउँ जोडेजस्तो छ ।”
    स्थानीय उत्पादन बढाउन पहल आयोजना निर्माणसँगै व्यापारिक कारोबार वृद्धि भए तापनि स्थानीय उत्पादन वृद्धि हुन सकेको छैन । स्थानीयले मौसमअनुसार उत्पादन हुने तरकारी बेच्न पाए पनि आवश्यकताअनुसार स्थानीय उत्पादन नभएको हो । स्थानीय उत्पादन बढाउनका लागि आयोजनाले कृषि र पशुपालनमा समेत जोड दिएको छ ।
    आयोजनामा काम गर्ने कर्मचारी मजदुरहरूका लागि तरकारी, मासु, दूधजस्ता दैनिक उपभोग्य सामान आवश्यक परे तापनि स्थानीय स्तरमा नपाउँदा अन्यत्रबाट ल्याउनुपरेको आयोजना एक अधिकारीले बताए । “यहाँ पाए सबै लिन सकिन्छ, तर पाइँदैन,” उनले भने, “हामी आफैं जाँदा चरिकोट, दोलालघाटबाट ल्याउने गरेका छौं ।”
    माथिल्लो तामाकोसीले वातावरणीय कार्यक्रममार्फत आयोजनाले १ वर्षदेखि कृषिका विशेषज्ञ ल्याएर तरकारी खेतीको तालिम र बीउ सहित टनेल वितरण गरेको छ । जिल्ला कृषि कार्यालयमार्फत लामाबगरमा मात्र अघिल्लो वर्ष ४५ वटा टनेल वितरण भएको वातावरण शाखा प्रमुख डा. गणेश न्यौपानेले जानकारी दिए ।
    आयोजनाकै प्रभावका कारण दोलखादेखि लामाबगरसम्म ठाउँ ठाउँमा कृषि तथा पशुपालनका व्यावसायिक फर्महरू खुलेका छन् । पढेलेखेका युवा पनि कृषिमा लागेका छन् । राम्रा र साना–ठूला होटल थपिँदै छन् ।
    सडक खुलेर माथिल्लो तामाकोसी आयोजनाको निर्माणसँगै लामाबगरमा जग्गा किनबेचको काम पनि वृद्धि भएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुवात र उत्तर दक्षिण राजमार्गको ट्र्याक खोल्न सुरु भएपछि यहाँ जग्गा कारोबार बढेको हो ।
    यहाँ सदरमुकाम चरिकोटसहित राजधानीदेखिका व्यक्तिहरू जग्गा खरिद गरेका छन् । “पछिल्लो पटक यहाँ रोपनीको ६० लाखसम्ममा कारोबार भयो,” लामाबगर–२ का पेमाछिरिङ शेर्पाले भने, “तर जग्गा थोरै छ, खोज्न आउने धेरै छन् । जग्गा पाउनै गाह्रो भएपछि अहिले रोकिएको हो ।” ३ वर्ष अघिसम्म रोपनीको ५ हजार पनि नपर्ने जग्गा अहिले एक्कासि बढेको हो ।
    लामाबगरमा आयोजनाको कामसँगै मानिसको चापसमेत बढेकाले व्यापारिक कारोबारसमेत बढेको छ । खुद्रा पसल र होटल–व्यवसायमा वृद्धि भएको छ । लामाबगरका जगत तमाङ १० वर्षदेखि बाहिर बसे पनि अब गाउँमै व्यापार गर्न फर्किएको बताए ।

    प्रस्तुति: कारोबर