रघुगंगा हाइड्रोमा ठेकेदार परिचालन

    1430

    म्याग्दी- म्याग्दीको बहुप्रतीक्षित जलविद्युत् आयोजना रघुगंगा हाइड्रोपावरको सिभिल ठेकेदार कार्यक्षेत्रमा परिचालन भएको छ ।
    नेपाल विद्युत् प्राधिकरणको सत प्रतिशत लगानी रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको ४० मेगावाट क्षमता आयोजना निर्माणको ठेक्का सम्झौता भएको छ महिनापछि ठेकेदारले काम सुरु गरेको हो ।
    ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको भारतीय कम्पनी जेपी एसोसियट्सले कार्यक्षेत्रमा प्रारम्भिक चरणको नक्सांकनको काम सुरु गरेको कम्पनीका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताए । “ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले ठेक्का सम्झौताको स्वीकृति दिएको जेठ १० गतेको भोलिपल्ट नै हामीले ठेकेदारलाई नोटीस टु प्रोग्रेस लेटर दिएका थियौ,” पाण्डेले भने, “ठेकेदार कम्पनीले डिजाइन र व्यवस्थापनको काम सुरु गरेको छ ।”
    सिभिल ठेकेदारले बाँध, सुरुङ र विद्युत्गृहको काम एकैसाथ अघि बढाउने कार्ययोजना बनाउने जनाएको छ । कम्पनीका अनुसार दोस्रो चरणमा इलेक्ट्रिमेकानिक ठेक्काको प्रक्रियासमेत अघि बढेको छ । आगामी ३९ महिनामा आयोजना सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ ।
    २०७४ मंसिर ५ गते भएको ठेक्का सम्झौताको स्वीकृतिका लागि एक्जिम बैंकले छ महिना लगाउँदा ढिलाइ भएको हो । बैंकको ४४ मिलियन डलर सहुलियत ब्याजदरको ऋण लगानी रहेको आयोजना कम्पनीको अवधारणाअनुसार निर्माण हुन लागेको प्रबन्ध सञ्चालक पाण्डेले बताए । आयोजना निर्माणको चरणमा प्रवेश गरेपछि सर्वसाधारण र स्थानीय बासिन्दाले लगानीको अवसर पाउनेछन् । इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) प्रारुपमा निर्माण आयोजना निर्माण हुन लागेको हो ।
    यसअघि ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको छ । यसअघि छनोट भएको भारतको आईभीआरसीएल प्रोजेक्ट्स लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना बनाउन लागिएको हो । आरभीआरसीएलसँग सम्झौता भएको आयोजना ७ वर्षपछि पुनः ठेक्का लगाई निर्माण सुरु हुन लागेको हो ।
    कार्य तालिका र सम्झौताअनुसार आयोजना सन् २०७० सालमा सकिनुपर्ने थियो । यो आयोजना नदीको बहाबमा आधारित छ । यसको सम्भाव्यता अध्ययन सन् १९९८ मा भई सन् २००८ मा अद्याविधक गरेको थियो । आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
    आयोजना म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले, झी र दग्नाममा पर्छ । झिँ र दग्नामको सीमामा बाँध रहेको आयोजनाको विद्युत्गृह पिप्लेको तिल्केनीचौरमा रहने जनाइएको छ । आईभीआरसीएलले प्रारम्भिक चरणको कामसमेत अघि बढाउन नसकेर अलपत्र पारेको थियो । राहुघाट कालिगण्डकीको सहायक नदी हो ।

    -कारोबार