माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले यहाँका दुई खोलामा माछाका डेढ लाख भुरा छाडेको छ । आयोजना सञ्चालनका लागि उपयोग गरिएको मस्र्याङ्दी र ङादीमा आयोजनाले भुरा छाडेको हो । ५० मेगावाट क्षमताको आयोजनाले ६ महिनायता नियमित विद्युत् उत्पादन गरिरहेको छ । आयोजना निर्माणका क्रममा माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि भुरा छाडिएको हो ।
जनसम्पर्क प्रमुख कर्ण अधिकारीका अनुसार आयोजनाको बाँधस्थलमाथि मस्र्याङ्दी र ङादीमा असला, राहु, सहर र मोहारीलगायत जातका भुरा छाडिएको छ । भुरा भने चितवनबाट ल्याइएको हो । ‘चिस्यान परीक्षणपछि भुरा छाडेका हौं,’ उनले भने, ‘यहाँ माछा बाँच्न सक्छ ।’ अहिले छाडिएका भुरा अबको २ वर्षमा ठूलो भएर प्रजनन् थाल्नेछन् । स्रोतका अनुसार आयोजनामा फिस ल्याडर (माछाजन्य जलचर ओहरदोहर गर्ने ठाउँ) छैन । माथिल्लो क्षेत्रमा माछा हराउने सम्भावना मध्यनजर गरी माछा वृद्धिका लागि भुरा छाडिएको हो । यो वर्ष अनुसन्धान र प्रयोगका लागि भुरा छाडिएको र आगामी वर्ष पनि थप्दै जाने आयोजनाले जनाएको छ ।
ठूला जलविद्युत् आयोजनाले आयोजना निर्माणसँगै जलचरको पारिस्थितिकीय प्रणाली जोगाउन र माछा लोप हुन नदिन नदी तथा खोलामा माछा छाड्ने गर्छ । माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना सरोकार तथा समन्वय समिति अध्यक्ष जितबहादुर गुरुङले माछा लोप हुन नदिन वातावरणीय प्रभाव न्यूनीकरण कार्यक्रमअन्तर्गत माछाका भुरा छाड्नु राम्रो कार्य भएको बताए ।
–