मलेखु र बैरेनी अन्धकारमय

    42

    नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण धादिङ गल्छी गाउँपालिका–६ बैरेनी महेशदोभान र गजुरी गाउँपालिका–२ मलेखुबजार क्षेत्र दुई सातादेखि अन्धकारमय भएको छ ।
    पृथ्वीराजमार्गको महेशदोभानबाट माझीखेत, माझीलोसे, रैकर, बराडाँडालगायत गाउँतर्फ गएका विद्युत् लाइनमा समस्या आएपछि गत जेठ २२ गते देखि सो क्षेत्र अन्धकारमय भएको हो । राजमार्गबाट २० मिनेटको दूरीमा रहेको बस्ती दुई सातादेखि विद्युत्विहीन हुँदा पनि कुनै पनि निकायले सहयोग नगरेको स्थानीय केशव अधिकारीले बताए ।
    माझीखेतस्थित भर्खरै सञ्चालनमा आएका बालुवा प्रशोधन उद्योगमा जोडेको विद्युत् लाइन हावा चलेको बेला एकापसमा जुध्ने भएपछि प्राधिकरणले बस्तीतर्फको लाइन काटिदिएर उद्योगमा भने नियमित विद्युत् सञ्चालन गरिदिएको छ ।
    उद्योग वरिपरिका घरमा पनि बिजुली बलिरहेको छ । त्यहाँबाट २ सय मिटर टाढाको बस्तीका सर्वसाधारणलाई भने टुकीको भरमा बस्नु परेको छ । गाउँका ३० घर परिवार दुई सातादेखि बिजुली उपभोग गर्नबाट वञ्चित हुनुपरेपछि काटिएको लाइन जोडी दिन आग्रह गर्दै गाउँवासी दर्जनौ पटक विद्युत् प्राधिकरण गजुरी शाखामा पुगिसकेका छन् ।
    गाउँवासीले लाइन जोेडी दिन मौखिक तथा लिखित अनुरोध गरे पनि प्राधिकरणले बेवास्ता गरेको स्थानीय नमराज काराखेती बताउँछन् । विद्युत् प्राधिकरणले गाउँवासीलाई नटेरेपछि उनीहरूले गल्छी गाउँपालिका, धादिङ क्षेत्र नं १ का सांसद भूमिप्रसाद त्रिपाठी, जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण धादिङ शाखामार्फत पनि ध्यानाकर्षण गराएका थिए तरपनि हालसम्म खासै उपलब्धि हुन नसकेको काराखेतीले बताए ।
    राजमार्गबाट गाउँतर्फ लगिएको बिजुलीको लाइन जोडिएको काठको पोल मक्किएर ढल्ने क्रममा छन् । गाउँमा रहेका काठको पोल पनि सामान्य हावाचल्दा भाँचिने डर छ, केही ठाउँमा भाँचिएको पोललाई टेको दिई अड्याएर राखिएको प्रवीन भण्डारीको भनाइ छ ।
    यस सम्बन्धमा वडाध्यक्ष राजन श्रेष्ठ वडाले मात्र समस्या समाधान गर्न नसक्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले नै समस्या समाधान गर्नुपर्ने बताए । नेपाल विद्युत् प्राधिकरण गजुरी शाखाका प्रमुख तोरणकुमार पोखरेलले छिटो टोली पठाएर समस्या समाधानका उपाय खोजिने जानकारी दिए । यसअघि गाउँमा लगिएको स्टिलको पोल समेत कहाँ कसरी गाड्ने भन्ने थाहा नभएर अलपत्र अवस्थामा छ । यसैगरी गजुरी गाउँपालिका–२ मलेखु बजार आसपासको क्षेत्रमा पनि दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा बजारवासी मर्कामा परेका छन् । माछा बजारका रूपमा रहेको मलेखुमा विद्युत् नहुँदा माछा बिग्रने गरेको र पटकपटक विद्युत् लाइन नियमित गर्न बजारवासीले माग गर्दा बेवास्ता गरेको मलेखुका सामाजिक कार्यकर्ता तिर्थ सिलवालले बताए ।
    मलेखु बजार र आसपासका गाउँमा समेत विद्युत सेवा नपुगेको बेला बालुवा प्रशोधन मेशिनमा सञ्चालनका लागि बिजुली जोडिएपछि बजारमा समस्या आएको र ठूलो ट्रान्समिटर राख्न माग गर्दा स्थान उपलब्ध नभएको आरोप लगाउँदै विद्युत् प्राधिकरण गजुरी शाखाले काम नगरेको मलेखु बजारका रामहरि थापाले बताए । मलेखुको समस्या सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण गजुरी शाखाका प्रमुख तोरणकुमार पोखरेलसँग बुझ्दा समस्याको छिटो समाधानका लागि आफूले पहल गरिने प्रतिवद्धता व्यक्त गरे ।

    -कारोबार