प्रदेश नं. ३ : जलविद्युत्, पर्यटन र राजनीतिको केन्द्र

प्रदेश नम्बर ३ भित्रै संघीय राजधानी काठमाडौं पनि छ । यस प्रदेशमा उपत्यकाका काठमाडौ,ललितपुर,भक्तपुर सहित चितवन, मकवानपुर, धादिङ, रापेछाप, सिन्धुली, काभ्रे, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, रसुवागरी १३ जिल्ला पर्छन् । प्रदेशको उपत्यकामा नेवारी समुदायको बाहुल्य छ भने उपत्यकाबाहिरका जिल्लामा तामाङ समुदायको बसोवास धेरै छ । यस प्रदेशमा अल्पसंख्यक जिरेल, थामी, चेपाङ समुदायको पनि बसोवास छ । सात प्रदेशमध्ये प्रदेश नम्बर तीन आर्थिक, सामाजिक र विकास निर्माणका दृष्टिकोणले सबैभन्दा समृद्ध मानिन्छ । यो प्रदेश संघीय राजधानीसँग जोडिएकाले आर्थिकलगायत सामरिक दृष्टिकोणले अघि देखिएको छ ।

कुल ३ सय मेगावट विद्युत् उत्पादन ३७०१ मेगावट निर्माणाधीन
प्रदेश नम्बर तीन जलविद्युत्बाट समृद्ध हुने देखिएको छ । यस प्रदेशका आठओटा जिल्लामा साना–ठूला आयोजना गरी अहिलेसम्म ३ सय २६ दशमलव ४२ मेगावाट उत्पादन भइसकेको छ ।

तर, यस प्रदेशबाट कुल ३ हजार ७ सय १ दशमलव ८ मेगावाट विद्युत् उत्पादनका लागि स्वदेशी तथा विदेशी कम्पनीले काम गरिरहेका छन् । जसमध्ये सबैभन्दा ठूलो आयोजना बुढीगण्डकी जलविद्युत् आयोजना १२ सय मेगावाट (गोरखा र धादिङ) प्रदेश नम्बर तीन र चारमा पर्छ । जलविद्युत्मा सबैभन्दा धेरै सम्भावना भएका जिल्लामा दोलखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, रामेछाप र काभ्रेपलान्चोक देखिएका छन् । अझै कति जलविद्युत् उत्पादन गर्न सकिन्छ भन्ने विषयमा तथ्यमा गई विज्ञहरूले खोज अनुसन्धान गर्न सकेका छैनन् । तर, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र सिन्धुलीमा निर्माणाधीनसँगै निर्माण भएका आयोजना नै छैनन् ।

दोलखा प्रदेशमै जलविद्युत्मा अब्बल
दोलखामा अहिलेसम्म ७७ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन भएको छ । यस जिल्लाको ९ सय ७७ दशमलव २ मेगावाट अल्पकालीन र दीर्घकालीन रूपमा निर्माण कार्य धमाधम भइरहेको छ । तर, ७ सय ९७ दशमलव ९ मेगावाट अध्ययन भए पनि निर्माण कार्य सुरु हुन सकेको छैन ।

तामाकोसीसहित ९ आयोजना निर्माणाधीन 
तामाकोसी नदीमा स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना बन्दै छ । ४ सय ५६ मेगावाटको यो आयोजनालाई विज्ञहरुले नेपालको जलविद्युत् क्षेत्रको विकासमा एउटा कोसेढुङ्गाका रूपमा अर्थाउने गरेका छन् । तामाकोसीसहित दोलखामा अन्य ९ वटा आयोजना निर्माणाधीन छन् ।

निर्माणाधीन अन्य आयोजनामा गौरीशंकर गाउँपालिकाको मार्बुमा निर्माण भइरहेको ४० मेगावाटको खानिखोला १, सोही गाउँपालिकाको खारेमा ११ मेगावाटको तल्लो खारे जलविद्युत् आयोजना, साबिक मार्बु गाविसमै ३० मेगावाटको खानिखोला जलविद्युत् आयोजना तीव्र गतिमा निर्माण भइरहेका छन् । त्यस्तै मार्बुकै घट्टेखोलामा निर्माण भइरहेको ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादनको तयारी नै गरिसकेको आयोजना प्रमुख टेकप्रसाद चौलागाईंले जानकारी दिए ।

निर्माण भइरहेका अन्य आयोजनामा २५ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत् आयोजनाले पनि ५० प्रतिशत काम सम्पन्न गरिसकेको छ । जिरी नगरपालिकाको ठुलोपातल र रामेछापको रस्नालुमा ४८ दशमलव ८ मेगावाटको खिम्ती दोस्रो जलविद्युत् आयोजना पनि निर्माण भइरहेको छ भने सोही करिडोरको दोलखाको श्यामा र रामेछापको चुचुरेमा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती दोस्रो आयोजना निर्माण भइरहेका छन् ।

मकवानपुरमा तीन आयोजना
मकवानपुरमा जम्मा तीनवटा जलविद्युत् आयोजना छन् । कुलेखानी पहिलो ६० मेगावाट, दोस्रो ३२ मेगावाट सम्पन्न भई सञ्चालन भइरहेका छन् । तर, कुलेखानी तेस्रो १४ मेगावाट निर्माणाधीन अवस्थामा छ । यी आयोजनालाई जगेडाका रूपमा आपत्कालीन अवस्थामा प्रयोग गरिँदै आएको छ । यस्तै काभ्रेमा एकदमै थोरै ६ सय ५५ दशमलव ४ किलोवाट मात्र विद्युत् उत्पादन भएको छ । अरू निर्माणाधीन अवस्थाका आयोजना छैनन् ।


नुवाकोटमा ४० मेगावाट विद्युत् उत्पादन
धादिङ र नुवाकोटमा अहिलेसम्म ससाना आयोजना मात्र सञ्चालनमा छन् । धादिङ अहिलेसम्म १४ दशमलव ४ मेगावाट मात्र विद्युत् उत्पादन भएको छ भने नुवाकोटमा ४० मेगावाट विद्युत् उत्पादन भएको छ । नुवाकोटमा २ सय दशमलव ६ मेगावाट साना–ठूला आयोजना निर्माणाधीन अवस्थामा छन् । तर, धादिङमा देशकै सबैभन्दा ठूलो आयोजना मानिने बुढीगण्डकी आयोजना १२ सय मेगावाट निर्माणाधीन अवस्थामा छ । जुन आयोजना प्रदेश नम्बर तीन र चारमा पर्छ । अरू ससाना ७० मेगाावाटका आयोजना निर्माणाधीन अवस्थामा छन् ।

रसुवामा २७ मेगावाट उत्पादन
रसुवामा अहिलेसम्म २७ मेगावाट मात्र विद्युत् उत्पादन भएको छ । अरू सानाठूला गरी ७ सय ४७ मेगावाट विद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । यस्तै सिन्धुपाल्चोक जलविद्युत्को हिसाबले ३ हजार ५ सय मेगावाट उत्पादन गर्न सक्ने अनुमानित क्षमता छ । जसमध्ये अहिलेसम्म ७१ मेगावाट मात्र उत्पादन भएको छ ।

तर, अझै २ सय ५७ मेगावाट आयोजना निर्माणाधीन अवस्थामा छन् । ती अधिकांश आयोजना तीनदेखि चार वर्षमा पूरा हुने लक्ष्यका साथ काम धमाधम भइरहेका छन् । यस्तै रामेछाप जलविद्युत्को हिसाबले ३ हजार मेगावाट क्षमता भएको मानिन्छ । तर, अहिलेसम्म ससाना किलोवाटका करिब एक दर्जन गरी जम्मा पाँच मेगावाट जति मात्र उत्पादन भएका छन् । निर्माणाधीन अवस्थामा २ सय ३६ र सम्भाव्यता अध्ययन गरिएको २ हजार ६ सय ८६ मेगावाट छ ।

विश्व सम्पदामा सूचीकृत  १० मध्ये ८ सम्पदा यही प्रदेशमा 
विश्व सम्पदतामा सूचीकृत विश्वभर ६ सय ३० वटा छन्, जसमध्ये नेपालमा १० वटा सम्पदा छन् । नेपालमा भएका १० सम्पदामध्ये ८ सम्पदा यस प्रदेशमा पर्छन् । जसमध्ये यस प्रदेशमा चाँगुनारायण मन्दिर, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ स्तूपा, पशुपति मन्दिर क्षेत्र, पाटन दरबार क्षेत्र, हनुमान ढोका दरबार, बौद्धनाथ महाचैत्य र चितवन राष्ट्रिय निकुञ्ज छन् । यस प्रदेशमा गौरीशंकर र गणेश हिमाल पनि पर्छन् । गौरीशंकर हिमाललाई नेपालको समय सूचक हिमालका रूपमा लिइन्छ । जुन हिमालबाट नेपालको समय निर्धारण हुन्छ ।

यी सम्पदाबाट स्वदेशी तथा विदेशी पर्यटकले ऐतिहासिक, सांस्कृतिक, धार्मिक मात्र नभई भरपूर मनरोञ्जन पनि लिन्छन् । चितवन निकुञ्जमा विश्वमै दुर्लभ मानिने जनावरको पनि सजिलै अवलोकन गर्न सक्छन् । विश्व सम्पदामा सूचीकृत सम्पदा अवलोकन गर्न स्वदेश तथा विदेशबाट हजारौँको संख्यामा पर्यटक आउने गर्छन् ।

देशका ११ औद्योगिक क्षेत्रमध्ये ४ प्रदेश ३ मा 
नेपालमा ११ औद्योगिक क्षेत्र छन् । जसमध्ये यस प्रदेशमा चारवटा औद्योगिक क्षेत्र पर्छन् । जसमा बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, भक्तपुर औद्योगिक र हेटाैँडा औद्योगिक क्षेत्र छन् । नयाँ हेटौंडाको मयूर धाप र चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको डिपिआर र इआइए हुँदै छ । सरकारले ती दुई औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

जडीबुटीको पनि उत्तिकै सम्भावना
यस प्रदेश हिमालदेखि पहाड तराईसम्म जोडिएको छ । सबैभन्दा धेरै जडीबुटी दोलखा, रसुवा र सिन्धुलीमा हुन्छ । सिन्धुपाल्चोक, धादिङ, रामेछाप र मकवानपुर जिल्लामा पनि राम्रै जडीबुटी पाइने गरेको व्यवसायी बताउँछन् । यी जिल्लामा चतुवा, सुनाखरी, पाँचआैँले, पखण्डे, निर्मुछी, यार्चागुम्बालगायत बहुमूल्य जडीबुटी पाइन्छन् । कतिपय जडीबुटी खोज अनुसन्धान हुन नसक्दा प्रयोगमा आउन सकेका छैनन् ।

चितवन पोल्ट्री फर्मको हब 
यस प्रदेशको चितवन पोल्ट्री फर्मको हबको रूपमा लिइन्छ । कुखुरा, बच्चा दानाका लागि चितवन देशकै पहिलो जिल्लाको रूपमा लिइन्छ । यहाँबाट उत्पादन भएका कुखुरा, लेर्यस, ह्याचरी र दाना देशैभरि पुग्ने गरेको छ । नेपालमा कुखुरा पालन क्षेत्रमा ८० अरब रुपैयाँ लगानी भएको कुखुरा व्यवसायी मञ्चको तथ्यांक छ । पोल्ट्रीजन्य उत्पादन कुखुराको मासु, अन्डा र चल्ला उत्पादनमा देश लगभग आत्मनिर्भर भएको छ । कुखुरालाई खुवाउने दाना पनि देशभित्रै उत्पादन हुन्छ । तर, दाना उद्योगलाई चाहिने कच्चापदार्थ भने देशबाहिरबाटै आयात गर्नुपर्ने बाध्यता छ । नेपाल कुखुरा व्यावसायिक मञ्चका अध्यक्ष डा. होमबहादुर बस्नेतका अनुसार देशभर एक सयको हाराहारीमा दाना उद्योग छन् ।

 नयाँ पत्रिका