राष्ट्रिय प्रसारण लाइनबाट कल्पना गर्न नसकिने सुविधा यहाँको मरिणखोला लघुजलविद्युतले दिएको छ । गाँउमा विवाह, ब्रतबन्ध पर्नेबित्तिकै उनीहरुले त्यो बत्ती खोलेर उज्यालो छर्न सक्छन् । गाउँकै मरिणखोेलाबाट २४ किलोवाटको विद्युत झन्डै तीन वर्षदेखि निरन्तर बालिरहेका छन् ।
मासिक ५० रुपैयाँ तिरेपछि २४ घन्टा बिजुली उपलब्ध छ । जिल्ला विकास समितिको १२ लाख र ऊर्जा विकास कम्पनीको ४२ लाख रुपैयाँ लागतमा बनेको यो लघुजलविद्युतले यहाँ बिजुली फालाफाल छ । सदरमुकामबाट विकट क्षेत्रमा रहेको यस गाविसमा बिजुली बाल्ने सपना पूरा गर्न स्थानीयले कम्ती दुःख गरेका होइनन् । ‘निरन्तर ९० दिनसम्म काम गरेका थियौं । तीन महिनासम्म मजदुरी ग¥यौं, केहीले सिपालु काम गरी परिश्रम गरे,’ स्थानीय ढकप्रसाद देवकोटाले भने, ‘हाइड्रोपावरका सामग्री महँगो हुनाले प्रत्येक घरधुरीबाट पैसा समेत उठायौं ।’ बिजुली बाल्न प्रत्येक घरधुरीबाट १३ हजारका दरले रकम संकलन गरेको उनले बताए ।
लघुविद्युत आयोजना निर्माण गर्न निकै परिश्रम गर्नु परे पनि हाल बिजुलीले सबैमा उज्यालो छाएको स्थानीय बताउँछन् । हाइड्रोपावरको रेखदेख गर्न दुईजना कर्मचारी राखिएको छ । विद्युत रोयल्टीबापत मासिक प्रतिघरधुरीले ५० रुपैयाँ जम्मा गर्ने र सोही रकमबाट कर्मचारीको तलब तथा संरक्षण कोषमा जम्मा गर्ने गरिएको छ । वर्षायाममा २४ सै घन्टा बिजुली आउने भए पनि हिउँदयाममा बिहान र बेलुका बत्ती बल्छ भने अरु बेला आवश्यक परेका बेला पनि बाल्न सकिन्छ । गाउँको विवाह, ब्रतबन्ध तथा अन्य धार्मिक कार्य हुँदा पनि बिजुली हुँदा सहज भएको स्थानीय बताउँछन् ।
पछिल्लो समय जिल्लामा राष्ट्रिय प्रसारण लाइन नपुगेका स्थानमा पनि लघुजलविद्युतबाट धमाधम बिजुली बाल्न आत्मानिर्भर बन्नेतर्फ स्थान्ीय लागेका छन् । यहाँको पोखरी गाविसमा जिल्लाकै पहिलो ठूलो लघु जलविद्युत रहेको जिविसको वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखाले जनाएको छ । शाखाका प्रमुख सन्दिप उपाध्यायका अनुसार सो गाविसको बाक्सुखोलाबाट ३६ किलोवाट विद्युत निकालिएको छ ।
बिजुली निकाल्न नेपाल सरकारबाट ४० प्रतिशत अनुदान दिने गरिएको उनले बताए । गत आर्थिक वर्षको तथ्यांकअनुसार जिल्लामा दुई हजार पाँच सय १० घरधुरीले साना तथा लघुजलविद्युतको बिजुली बालिरहेका छन् । जसमध्ये लघु जलविद्युतबाट दुई सय ३४.६ किलोवाट विद्युत उत्पादन भएको छ ।