नेपाली विकासको सर्त : जलस्रोतको सदुपयोग

नेपालमा जलविद्युत् विकासको मुख्य समस्या हो– जलस्रोत व्यवस्थापन सम्बन्धी स्पष्ट, समन्वयात्मक र एकीकृत योजनाको अभाव ।

मंसिर ८, २०७४-नेपालका सडकमा शान्त, सफा र प्रभावकारी विद्युतीय सवारी साधनमात्र देखिन्छन् । हावा स्वच्छ छ र हिमालको मनोरम दृश्य छेक्ने कुनै धुवाँ–तुवाँलो छैन । सिंचाइको राम्रो सुविधा भएको हुँदा किसानहरूलाई पानीको दु:ख छैन र उब्जनी बढेको छ । जलाधार व्यवस्थापन प्रणालीका कारण माटोको गुणस्तरमा सुधार भएको छ, अनि बाढी र अनावृष्टिको प्रभाव न्यून भएको छ । संसारभरका पर्यटकहरू पर्वतीय क्षेत्रमा पदयात्रा गर्न आउँछन् र वन्यजन्तुले भरिपूर्ण क्षेत्रका सुन्दर नदीहरूमा डुङ्गा चढ्दै आनन्द लिन्छन् । प्रशस्त र भरपर्दो विद्युतबाट चलेका स्थानीय उद्योग तथा सेवाहरू फस्टाउँदा छन्, रोजगार उच्च छ र आयमा वृद्धि हुँदै छ । यो कुनै अनौठो सपना होइन । यो त समृद्ध नेपालको ध्येय हो, जसले आफ्नो सबैभन्दा महत्त्वपूर्ण प्राकृतिक स्रोत अर्थात् जलस्रोतलाई जिम्मेवारपूर्ण तवरले व्यवस्थापन गर्नेछ ।

नेपाल जलस्रोतको धनी मुलुक भए तापनि धेरै वर्षदेखि यस स्रोतका लाभहरूलाई सन्तुलन र अधिक गर्न नसक्दा मुलुकको विकास पछाडि परेको छ । जलस्रोत व्यवस्थापनको कमजोर योजनाले प्राकृतिक विपद्को असरलाई झन् खराब बनाउँछ भने वातावरणमाथि पनि भार थप्छ, जसले गर्दा बाढी–पहिरोको अवस्था अझै बिग्रन्छ, मत्स्य संख्यामा ह्रास आउँछ र पिउने पानी पाउन गाह्रो हुन्छ । जलवायुमा हुने परिवर्तनका साथै नेपालका माथिल्लो तटीय र तल्लो तटीय छिमेकीका क्रियाकलाप र मुलुकको भूराजनीतिक अवस्थाले समेत नेपालको जलस्रोत विकासको चुनौतीलाई परास्त गर्नै नसकिने समस्याजस्तो देखाउन सक्छ । जलस्रोत व्यवस्थापन जटिल विषय हो र यस सम्बन्धी कठोर निर्णय र सम्झौता गर्नुपर्ने हुन्छ । तर यी सबै चुनौतीलाई सम्बोधन गर्ने रचनात्मक तरिकाहरू छन् । खास कुरा के हो भने नेपालको हितमा जलस्रोतलाई सफल बनाउन सक्ने प्रभावकारी स्रोत व्यवस्थापनका लागि नेपालले उचित र तथ्यमा आधारित ढाँचा निर्माण गर्न सक्ने सुनिश्चितता दिलाउनुपर्छ ।