तामाकोसी तेस्रो जलविद्युत् आयोजना – पीडीएलगत्तै एसएन पावरले निर्माण थाल्ने

काठमाडौं, ७ असोज – नर्वेको एसएन पावरले लगानी बोर्डसँग आयोजना विकास सम्झौता (पीडीए) भएपछि तामाकोसी–३ जलाशययुक्त विद्युत् आयोजना निर्माण थाल्ने भएको छ ।
आयोजना अघि बढाउन पीडीएलाई पर्खेको एसएन पावरका नेपाल निर्देशक डा. सन्दीप साहले बताए । कारोबारसँग कुरा गर्दै उनले पीडीए हुनासाथ कम्पनीले विद्युत् खरिद सम्झौता (पीपीए) का साथै लगानी जुटाई निर्माण सुरु गर्ने बताए । बोर्डले यही महिनादेखि लगानीकर्तासँग पीडीए थाल्ने भएको छ । एसएनले पीडीएका लागि आवेदन दिएको दुई वर्ष भएको छ ।
आयोजनाको विस्तृत अध्ययन पूरा भइसकेको र पीडीएका लागि आवेदन दिएकाले यसबीचमा काम नभएर केही प्राविधिक कर्मचारी कटौती गरेको स्वीकार गर्दै साहले भने, “पीडीए सकिनासाथ हामी फेरि नयाँ भर्ना गर्नेछौं ।” उनले एसएन पावर फिर्ता हुने कुरा अस्वीकार गरे । पीडीए नै प्रमुख विषय भएकाले अहिले यसैको प्रतीक्षामा रहेको साहको तर्क छ । एसएन पावरले विद्युत् उत्पादनको अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिइसकेको छ ।
विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमति पाएको एसएन पावरको लाइसेन्स अवधि समाप्त भएको छ । ऊर्जा मन्त्रालयले एसएनलाई २०६३ फागुन २१ गते तामाकोसी दोस्रो र तेस्रोबाट विद्युत् उत्पादनका लागि अध्ययन गर्न सर्वेक्षण लाइसेन्स दिएको थियो । उसको लाइसेन्स अवधि गत फागुन २० गते सकिएको हो ।
अध्ययनअनुसार एसएनले आयोजना अद्यावधिक गरी क्षमता बढाएर ८ सय ८० मेगावाट पु¥याएकोमा पछि जडित क्षमता घटाएर ६ सय ५० मेगावाटमा झारेको छ । यो क्षमताअनुसार आयोजनाबाट वार्षिक २ अर्ब ४० करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको लागत करिब १ खर्ब २० अर्ब रुपैयाँ (१ अर्ब ४० करोड अमेरिकी डलर) छ ।
एसएन पावरले यो वर्ष निर्माण सुरु गरेर आगामी सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य लिएकामा पीडीएमा भएको ढिलाइले पूरा हुन सकेको छैन् । आयोजना विकास गर्न एसएनले भारतको टाटा पावरसँग सम्झौता (एमओयू) गरिसकेको छ । एमओयूअनुसार आयोजना बनाउन एसएन र टाटाले आधा–आधा लगानी गर्नेछन् । भारत निकासी गर्ने लक्ष्यका साथ एसएनले आयोजनालाई ८ सय ८० मेगावाटमा डिजाइन गरेको थियो । वर्षाको समयमा भारत निकासी गर्दा उचित मूल्य पाउन नसक्ने र ठूलो सुरुङ बनाउँदा जोखिम बढेको भन्दै एसएनले आयोजनाको क्षमता घटाएको हो ।
आयोजनाको सुरुङ १७ किलोमिटर लामो हुनेछ । भीमेश्वर नगरपालिका र नाम्दुमा ९६ मिटर अग्लो बाँध निर्माण हुनेछ । आयोजनाबाट दोलखाको एक नगरपालिकासहित १९ गाविस र रामेछापको फुलासी गाविस प्रभावित हुनेछन् ।
आयोजना कार्यान्वयनका लागि ५ सय २८ हेक्टर जमिन आवश्यक पर्नेछ, जसमा ४ सय ५२ हेक्टर स्थायी र ७६ हेक्टर अस्थायी रूपमा चाहिन्छ । आयोजनाबाट ८७ घरपरिवार प्रत्यक्ष प्रभावित हुने वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माण गर्दा दोलखाको पुरानो व्यापारिक केन्द्र गुमुखोला र नागदह बस्ती पूरै डुबानमा पर्ने आयोजनाले जनाएको छ ।
सीमित जलाशययुक्त आयोजनाका रूपमा निर्माण हुने यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ । आयोजनाको हिउँदको समयमा ४ सय मेगावाट मात्र उत्पादन हुने अनुमान छ ।

प्रस्तुति: कारोबार