घरायसी ग्राहकले स्मार्ट मिटर जडानपछि प्राधिकरणलाई बेच्न थाले सोलार बिजुली, एकै ग्राहकबाट मासिक ५० युनिट बिक्री

1571

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गरेपछि ग्राहकले सोलारबाट उत्पादित विद्युत प्राधिकरणलाई बिक्री गर्न सुरु गरेका छन् ।

प्राधिकरणले गत साउन २८ बाट स्मार्ट मिटर जडान संचालनमा ल्याएपछि ग्राहकले आफ्नो घरमा जडान गरेको सोलारबाट उत्पादित विद्युत प्राधिकरणलाई बिक्री गर्न सक्ने भएका हुन्।

यसअनुसार कुनै पनि सिंगल फेजका ग्राहकले आफ्नो घरमा भएको सोलारबाट आउने ऊर्जा दिउँसोको समयमा प्राधिकरणलाई बेच्न सक्नेछन् भने अन्य समयमा सोलारले नपुग्ने बिद्युत प्राधिकरणबाट खरिद गर्न सक्नेछन्। र, ग्राहकले महिनाको अन्त्यमा आफ्नो घरबाट प्राधिकरणले लिएको विद्युतको मूल्य घटाएर बाँकी विद्युतको मात्रै महसुल तिर्दा हुनेछ।

त्यससँगै अहिले प्राधिकरणलाई उपत्यकाका दुई ग्राहकले सोलारबाट उत्पादित विद्युत बेच्न सुरु गरेको प्राधिकरणले जानकारी दिएको छ ।

पत्रकार दिलभूषण पाठक सोलारबाट उत्पादित विद्युत प्राधिकरणलाई बिक्री गर्ने पहिलो ग्राहक हुन्। सोपछि नेपाल सौर्य ऊर्जा कम्पनीले पनि अहिले प्राधिकरणलाई सोलारको बिजुली बिक्री गर्न सुरु गरेको प्राधिकरणका गरेको स्मार्ट मिटरिङ आयोजनाका आयोजना प्रमुख रोशन न्यौपानेले बताए।

उनका अनुसार अन्य एक दर्जनभन्दा बढी ग्राहकले सोलार ऊर्जा खरिद गरिदिन प्राधिकरणलाई आग्रह गरेका छन् ।

हाल प्राधिकरणले काठमाडौं उपत्यकामा सुरु गरेको स्मार्ट मिटर जडान १३ हजार घरमा सम्पन्न भइसकेको छ।

पाठकले बेचे दुई महिनामा करिब १०० युनिट विद्युत

स्मार्ट मिटर जडान नगरेको भए पाठकले अरु महिना जस्तै कम्तिमा मासिक ५० युनिट विद्युत त्यतिकै खेर फालिरहेका हुन्थे। तर स्मार्ट मिटर जडानपछि भने उनले आफुले उपभोग गरेर बचेको करिब ५० युनिट विद्युत प्राधिकरणलाई बेच्न सकेका छन्।

पाठकले दुई महिनाको अवधिमा उपभोग गरेर बाँकी करीब १०० युनिट सोलार ऊर्जा प्राधिकरणलाई बेचिसकेका छन्। उनको घरमा मासिक करीब ३०० युनिट विद्युत खपत हुने गरेको छ। यसअनुसार उनले प्राधिकरणलाई दिएको सोलार ऊर्जाको मूल्य घटाएर बाँकी रहेको करीब २०० युनिटको मात्रै महशुल तिरिरहेको आयोजना प्रमुख न्यौपानेले बताए।

अब छिट्टै नेट मिटरिङ पनि सुरु गरिने

प्राधिकरणको अहिलेको बिलिङ सिस्टम १७ वर्ष पुरानो सिस्टम हो। यो सिस्टममा नेट मिटरिङ सेवा छैन। अहिले सोलार ऊर्जा बेच्ने ग्राहकको मिटरमा उठेको युनिटबाट ग्राहकले प्राधिकरणलाई बेचेको युनिट प्राधिकरणले घटाएर बिलिङ गर्ने गरेको छ।

नेट मिटरिङ सुरु भयो भने स्वचालित रुपमा मिटरले नै ग्राहकले बेचेको र किनेको दुवै युनिटको एकैसाथ रिडिङ गर्ने न्यौपाने बताउँछन्।

 

: पहिलोपोस्ट